© २०२३
गुल्मी,१८ कात्तिक ।
गुल्मीका दुई स्थानीय तहले मेला हेर्नका लागि बुधबार स्थानीय बिदा दिएका छन् ।
जिल्लाको सत्यवती र काली गण्डकी गाउँपालिकाले सत्यवतीमा कात्तिक १९ गते बुधबार भिकुम पूर्णिमाका दिन मेला लाग्ने भएकाले स्थानीय बिदा दिएका हुन । दुई स्थानीय तहले सूचना जारी गर्दै स्थानीय बिदा दिने जानकारी गराएका हुन ।
विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि अध्यक्ष स्तरीय निर्णय अनुसार बिदा दिने निर्णय गरिएको काली गण्डकी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रबहादुर थापाले जानकारी दिए ।
बुधबार पालिका मातहतका सम्पूर्ण कार्यालयहरू, सङ्घ संस्था, विद्यालय ,बैङ्क तथा वित्तीय संस्थाहरू बन्द रहने गाउँपालिकाले जनाएका छन् ।
काली गण्डकी र सत्यवतीको सङ्गम स्थल सत्यवती मन्दिरमा विशेष मेला लाग्ने गर्दछ ।
यस मन्दिरमा आएर सत्यवती बज्यै भन्दै चिच्याएर बर मागेमा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । यसका साथै यस क्षेत्रमा धार्मिक मेला, विभिन्न खेलकुद तथा स्थानीय झाँकीहरू प्रस्तुत गरिने गर्दछ ।