© २०२३
काठमान्डौ, १८ कार्तिक ।
नेकपा माओवादी केन्द्रका असन्तुष्ट नेता जनार्दन शर्माले आज दिउँसो पत्रकार सम्मेलनमार्फत ‘वाम प्रगतिशील ध्रुवीकरण’ घोषणा गर्न लागेका छन् । शर्माले माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको पार्टी एकता प्रक्रियामा असहमति जनाउँदै आएका थिए ।
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित आठ घटकबीच कात्तिक १६ गते पार्टी एकता घोषणा भएको थियो । उक्त सहमति पत्रमा प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपा महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र नेकपा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका थिए ।
त्यसको भोलिपल्ट गोपाल किराँतीले पनि माओवादी केन्द्रसँग एकता गर्ने सहमति दिएका थिए । आगामी कात्तिक १९ गते काठमाडौंको भृकुटीमण्डपमा एकता घोषणा सभा आयोजना हुने तय छ ।
तर, यस एकता प्रक्रियामा नरहेका माओवादीका असन्तुष्ट नेताहरू—जनार्दन शर्मा, राम कार्की, एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल, नेत्रविक्रम चन्द विप्लव लगायत—बीच अर्को नयाँ ध्रुवीकरणको तयारी भइरहेको छ ।
शर्माले भनेका छन्, “अहिलेको माग अनुसार हाम्रो स्पिरिट मिलेन । पार्टी बनाउने भनेको झन् भद्रगोल हुने भयो । यसरी पार्टी आन्दोलन अघि बढ्दैन । अब तपाईं एकातिर लागेपछि म तपाईंको पछिपछि लाग्दिनँ ।”
अन्तिम प्रयासस्वरूप, माओवादी अध्यक्ष प्रचण्डले पनि जनार्दन शर्मालाई भेटेर पार्टीमा रहन आग्रह गरेका थिए । तर शर्मा प्रचण्डको प्रस्ताव स्वीकार नगरी आफू अलग बाटोमा अघि बढ्ने निर्णयमा दृढ रहे । शर्माले प्रचण्डसँगको भेटमा शुभकामना आदान–प्रदान गरेपछि अलग्गिएको जानकारी दिएका छन् ।
शर्माले अब माओवादी पार्टीको विरासत कायम राख्दै नयाँ वाम–प्रगतिशील ध्रुवीकरण अभियान सुरु गर्ने बताएका छन्।