© २०२३
काठमान्डौ, १८ कार्तिक ।
व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईंको राजनीतिक अभियानबाट भारत सरकारले स्पष्ट रूपमा दूरी कायम गरेको छ ।
क्यान्सर उपचारसम्बन्धी मेडिकल फलोअपका लागि यसै हप्ता नयाँ दिल्ली पुगेका प्रसाईंले आफ्नो भ्रमणलाई नेपालमा राजसंस्था पुनर्स्थापना र हिन्दू राष्ट्र घोषणाको अभियानका लागि ‘नैतिक समर्थन जुटाउने प्रयास’ को रूपमा सार्वजनिक रूपमा व्याख्या गरेका थिए ।
तर, भारतीय अधिकारीहरूले प्रसाईंको दिल्लीस्थित गतिविधिमा कुनै चासो वा संलग्नता नरहेको स्पष्ट पारेका छन् । भारतले नेपालको निर्वाचित सरकारसँगको स्थिर सम्बन्धलाई प्राथमिकता दिँदै, आन्तरिक राजनीतिक मामिलामा हस्तक्षेप नगर्ने नीति अपनाइरहेको कूटनीतिक तथा सुरक्षा स्रोतहरूले बताएका छन् ।
भारतीय समाचार माध्यम एनडीटीभी ले उद्धृत गरेको एक अधिकारीका अनुसार, प्रसाईंलाई भारतमा रहँदा कुनै पनि राजनीतिक गतिविधि नगर्न र भारतीय समर्थनको झूटो दाबीबाट टाढा रहन चेतावनी दिइएको छ । स्रोतका अनुसार, प्रसाईं वा उनका छोराले हालको भ्रमणका क्रममा कुनै पनि भारतीय सरकारी अधिकारी वा राजनीतिक दलका प्रतिनिधिसँग भेटवार्ता गर्न सकेका छैनन् ।
प्रसाईंले भारतको सहानुभूति प्राप्त गरेको दाबीपछि दिल्लीका अधिकारीहरू असन्तुष्ट भएको बताइएको छ । एक वरिष्ठ भारतीय अधिकारीले भने, “दुर्गा प्रसाईंको राजनीतिक गतिविधिसँग भारतको प्रत्यक्ष वा अप्रत्यक्ष कुनै सम्बन्ध छैन । उनी पूर्ण रूपमा नेपालको आन्तरिक पात्र हुन्, र उनको अभियानलाई भारतको समर्थन छैन ।”
भारतको नेपाल नीति हस्तक्षेप नगर्ने सिद्धान्तमा आधारित रहेको र नेपालका लोकतान्त्रिक संस्थाहरूसँगको सम्बन्धलाई नै प्राथमिकता दिने कुरा अधिकारीहरूले पुनः स्पष्ट पारेका छन् ।
यसैबीच, प्रसाईंले मंसिर महिनामा काठमाडौँमा ठूलो राजावादी शक्ति प्रदर्शन गर्ने घोषणा गरेका छन् । उनका यसअघि आयोजित र्यालीहरू हिंसात्मक घटना र प्रहरीले गरेको गिरफ्तारीका कारण विवादित बनेका थिए ।