© २०२३
काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित गरिएको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्व प्रकाश शर्माबीच महाधिवेशनको कार्यतालिका तय गर्ने विषयमा सहमति नजुट्दा बैठक स्थगन गरिएको हो ।
‘कार्यतालिकामा कुरा नमिलेकाले आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको हो,’ एक केन्द्रीय नेताले जानकारी दिए ।
कांग्रेसमा संस्थापन पक्ष आगामी निर्वाचनपछि १५औँ महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउने पक्षमा छ । तर, महामन्त्रीद्वयसहितको समूह भने मंसिरमै नियमित महाधिवेशन गर्नुपर्ने अडानमा रहेको छ । यस विषयमा कांग्रेस दुई धारमा बाँडिएको देखिन्छ ।
महामन्त्रीद्वयले आज बिहान नेता शेखर कोइरालासँग पनि छलफल गरेका थिए । उक्त छलफलमा १६ पुसमा केन्द्रीय महाधिवेशन नियमित गर्नेगरी कार्यतालिका ल्याउन सकिने र त्यसका लागि दबाब दिने निर्णय भएको थियो ।
तर, त्यसपछिको छलफलमा कार्यवाहक सभापति खड्का र महामन्त्रीद्वयबीच सहमति जुट्न नसक्दा बैठक स्थगित गरिएको हो ।