Butwal Today

महसुल विवादमा रुपन्देहीका १३ उद्योगको आन्दोलन घोषणा

१२ कार्तिक २०८२, बुधबार
अ+
अ-

भैरहवा, १२ कार्तिक । 

ट्रङ्कलाई र डेडिकेटेड लाइनको महसुल बुझाउन बाँकी रहेका रुपन्देहीका १३ वटा उद्योगले बक्यौता रकम नतिर्ने अडान कायम राख्दै आन्दोलन घोषणा गरेका छन् ।

बुधबार सिद्धार्थ उद्योग वाणिज्य सङ्घ भैरहवामा बसेको उद्योगी व्यवसायीहरूको बैठकले बिहीबार ११ बजे देखि एक घण्टा नेपाल विद्युत् प्राधिकरण अगाडी शान्तिपूर्ण धर्ना कार्यक्रमबाट आन्दोलन घोषणा गरेका छन् ।

उद्योग वाणिज्य सङ्घ, रुपन्देही उद्योग सङ्घ, जिफन्ट नेपाल, जिल्लाका अन्य वाणिज्य सङ्घ सहितको टोलीले आन्दोलनमा समर्थन जनाउने बताए ।  बैठकको निर्णयबारे जानकारी गराउँदै सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्र प्रसाद आचार्यले भोली साङ्केतिक रूपमा एक घण्टा मात्र धर्ना कार्यक्रम रहे पनि त्यसपछि अझ सशक्त रूपले आन्दोलनमा जाने र यसबारे भोली जानकारी गराउने बताए ।

बिहीबार हुने धर्ना कार्यक्रममा बन्द रहेका उद्योगका मजदुरहरूले पनि साथ दिने भएका छन् ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमले उद्योगहरूमा एकलौटी तरिकाले लाई काटिएको र यसले हजारौँ मजदुरहरू विस्थापित हुने जोखिम रहेको हुँदा आन्दोलनमा मजदुर र यस सम्बद्ध संस्थाहरूको समर्थन र सहकार्य हुने जनाए ।