© २०२३
भैरहवा, ०९ कार्तिक ।
अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर मनाइने छठ पर्वको तयारी भैरहवा तथा यस आसपासमा तीव्र पारिएको छ ।
भैरहवाको श्रीराम जानकी हनुमान मन्दिर, कालीभक्ती गण (इ), गोनहिया, डण्डाखोला, बेथरी, बसन्तपूर, धकधई, मर्चवार लगायतका क्षेत्रमा छठ पर्व धूमधामका साथ मनाइने गरिएको छ ।
यस पटक श्रीराम जानकी हनुमान मन्दिरमा करिब १ हजार बेदी बनाइएको छ भने आर्मी ब्यारेकमा २ हजार बढी बेदी बनेका छन् । श्रीराम जानकी हनुमान मन्दिरमा छठ पर्वको तयारी ९० प्रतिशत भन्दा बढी भएको मन्दिरका अध्यक्ष एवम् छठ पर्व संयोजक नरेन्द्र कुमार रौनियारले जानकारी दिए ।
उनले पूजाको दिन व्रतालु लगायत उनीहरूको परिवार र अन्य श्रद्धालुहरूको घुइँचो लाग्ने हुनाले त्यसलाई मध्यनजर गरी सुरक्षाको व्यवस्था मजबुत बनाइएको बताए ।

“सुरक्षा, प्रसाद वितरण, स्वयम सेवक व्यवस्थापन, सरसफाइ लगायतका कामका लागि उपसमितिहरू बनाएर काम गरिरहेका छौँ ।” रौनियारले भने “यस पटक छठ पर्व अन्य वर्षहरूको तुलनामा भव्य र सभ्य बनाउने गरी काम गरिरहेका छौँ ।”
श्रीराम जानकी हनुमान मन्दिरमा छठ घाटको लागि तीन वटा पोखरी बनाइएको छ । व्रतालु तथा उनीहरूसँगै आउने परिवारका अन्य सदस्य र अन्य श्रद्धालुहरूको लागि पर्याप्त स्थान रहेको छ । सोही अनुपातमा खानेपानी, शौचालय, विद्युत् लगायतका व्यवस्थाहरू पनि मिलाइएको छ ।
यसै गरी भैरहवाको सबैभन्दा पुरानो छठ घाटको रूपमा रहेको कालीभक्ति गण (इ) मा पनि ७५ प्रतिशत बढी तयारी सकिएको यसका संयोजक आनन्द प्रसाद गुप्ताले बताए ।
आर्मी ब्यारेक भएको कारण करिब २ हजार अस्थायी छठको वेदी तयार गरिएको उनले बताए । घाटको सुन्दरीकरणमा नेपाली सेनाले सहयोग गरेका थिए । विभिन्न मनोकामना सहित छठ पर्व मनाउने गरिएको गुप्ताको भनाई छ ।
कालीभक्ति गण भैरहवाको सबैभन्दा पुरानो घाट रहेको तथा यहाँ सुरक्षाको कुनै चिन्ता नभए पनि उनले व्रतालुहरूलाई महँगो गहना लगाएर घाटमा नआउन आग्रह गरे । कार्तिक शुक्ल पक्षमा मनाउने छठ पर्व चार दिन सम्म मनाइन्छ ।
कार्तिक महिनाको चौथी देखी व्रतालु भई यो पर्व मनाउन सुरु गरिन्छ र सप्तमीको बिहान यो पर्वको समापन गरिन्छ । पहिलो दिनलाई अरवा अरवाईन वा नहान खान भन्ने गरिएको छ । यो दिनमा व्रतालुहरू खोला, नदी, पोखरी वा तलाउ लगायतका जलाशयमा गई नुहाई धुवाई गरी शुद्ध भई चोखो खाना खाने गर्दछन् ।
व्रतीले भोजनमा माछा मासु, लसुन, प्याज लगायत परित्याग गरी यसै दिनदेखि व्रत बस्न सुरु गर्दछन् । दोस्रो दिनलाई खरना (संरक्षण अथवा पापको क्षय) भनिन्छ । यस दिन व्रतालुहरू दिनभरि निर्जला व्रत बस्ने गरेका छन ।
साँझ पख नुहाएर चोखो भई आफ्नो कुल देवता स्थापना गरेको पूजा कोठामा नयाँ चुल्हो स्थापना गरी प्रसाद बनाउने चलन रहेको छ ।
तेस्रो दिन गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान पिसान गरी त्यसबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्य सामाग्री बनाइन्छ ।
छठ पूजाका लागी सामग्री तयार गर्दा विशेष चनाखो र शुद्ध हुनु पर्दछ भन्ने मान्यता रही आएको छ । जुठो हुन गएमा अनिष्ठ हुने जनविश्वास छ । सोही दिन अन्न बाहेक फलफूल, ठकुवा, भुसवा, खजुरी, पेरुकिया, मूला तथा गाजर, बेसारको गाठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, सरवा, ढाकन, माटोको हाथी ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशय सम्म पुग्ने गर्छन् ।
निर्धारित जलाशयमा पुगेर परिकारहरू जलाशयको किनारमा राख्नुअघि त्यस ठाउँ र पूजा सामग्रीलाई व्रतीले पाँच पटक साष्टाङ्ग दण्डवत् गर्छन् । पूजा सामग्री राख्ने स्थानलाई पवित्र गर्न सम्बन्धित परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धति अनुसार अरिपन चित्र कोरेको हुन्छन् ।
त्यसपछि व्रतीले सन्ध्याकालीन अर्थात् अस्ताउँदो सूर्यलाई प्रसाद स्वरूप अर्घ दिन पानीमा पसेर सूर्य अस्ताउन्जेल सम्म आराधना गर्ने गर्छन् । यस क्रममा व्रतीले दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता फूल हालेर अन्य अर्घ सामाग्री पालैपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरी डिलमा आउने गर्छन् ।
पर्वको चौथो दिनलाई पारन भनिन्छ । यस दिन बिहान उषाकालमा व्रत लिनेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रमलाई दोहोर्याई प्रातःकालीन सूर्यलाई अर्घ दिई पर्वको समापन गरिन्छ । अर्घ सम्पन्न भई सकेपछि सूर्य पुराण श्रवण गर्ने पनि चलन रहेको छ ।
विशेषतः भारतको विहार र नेपालको पूर्वी जिल्लाबाट सुरु भएको यो पर्व अहिले राष्ट्रिय पर्वको रूपमा विकसित हुँदै गएको छ । पूर्वी जिल्लाहरूमा ४ दिन मनाइए पनि भैरहवा तथा यस आसपासका क्षेत्रमा यो पर्व २ दिन मात्र मनाइने गरिएको छ ।
कारणीमाई व्यवस्थापन समितिका अध्यक्ष प्रेमनारायण गुप्ताले महाभारत कालदेखि नै छठ पर्व मनाइदै आएको बताए । उनले विशेष गरी सन्तान प्राप्ति र सन्तानको दीर्घायुको कामना गर्दै यो व्रत मनाइँदै आएको बताए । भैरहवामा २०२० साल अगावै देखि आफ्नो परिवारले छठ पर्व मनाउँदै आएको उनको भनाइ छ ।