© २०२३
भैरहवा, ०१ कात्तिक ।
दीपावलीमा माटोको बाट बनेको पाला (दियो) को ग्राहक बढेपछि यस्तो पाला बनाउने कोहार समुदाय उत्साहित भएका छन् । विशेष गरी तिहारलाई नै लक्षित गरी बनाएको माटोको सामग्रीले राम्रो बजार लिएको भनी उनीहरू हर्षित भएका हुन् ।
रोहिणी गाउँपालिका वडा नम्बर ३ धकधईका ६५ वर्ष पुगी सकेका कोईल कोहारले यस वर्षको दीपावलीमा ४० हजार गोटा बिक्री गर्ने गरी माटाका पाला तयार गरेका थिए । दीपावलीको अघिल्लो दिनसम्म अधिकांश पालाहरू बिक्री गरी सकेको उनले सुनाए ।
दीपावलीबाट नै वर्षभरि पुग्ने खर्चको जोहो गर्नुपर्ने उनलाई बाध्यता छ । उनले पाला बिक्री गरेर नै ४ गोन जति धान र २० हजार जति पैसा कमाएको बताए । उनले अब उमेर गई सकेको कारण पहिलाको तुलनामा धेरै कम पाला बनाउने गरेको बताए ।
“१४–१५ वर्षको उमेर देखि नै माटोको भाँडा बनाउन सुरु गरेको हु ।” कोहारले भने “यसको बजार पहिले भन्दा अहिले राम्रो छ ।” रोहिणी गाउँपालिका वडा नम्बर ३ मा रहेका ३२ कोहार परिवारलाई अहिले माटोका सामग्री पाला, घण्टी, कोसा, भुड्की लगायतका सामग्री बिक्री गर्न भ्याई नभ्याई छ ।
उनीहरू स्थानीय बजार मात्र नभई नारायणगढ, स्याङ्जा पोखरा सम्म माटोको सामग्री बिक्री गर्ने गरेको बताउँछन् । कोईल जस्तै अर्को पुस्ता ३७ वर्षीय साधे कोहारले अहिले त ग्राहकहरू घरमै समान किन्न आउने गरेका बताउँछन् । “बनाउन मात्र धौ–धौ हो, बजारलाई समस्या छैन” साधेले भने ।
बजार राम्रो रहे पनि अबका पुस्ताले आफ्नो परम्परागत पेसामा रम्न नसकेको अगुवा कोहारहरूको गुनासो छ । माटोको काममा लगानी बढी र आम्दानी कम भएपछि नयाँ पुस्ता यो कलामा रुचि नदेखाएको कोईल बताउँछन् ।
“भाँडा बनाउन माटो नै पाइन, जर्ना दाउराको पनि उस्तै समस्या छ । लगानी नै बढी आउँछ त्यसैले म नै शायद यसको अन्तिम कलाकार हो,” कोईलले गुनासो गरे । माटोलाई सुन्दर आकृति दिन खप्पिस मानिने कोहार समुदाय विभिन्न समस्याहरूले गर्दा उत्तराधिकारी कै कारण यो कला गुमाउने अवस्थामा पुगेका छन् ।
माटोबाट विभिन्न भगवान्, जनावरको आकृति, भुड्की, पाला लगायतको सामग्री बनाउने यो समुदायका अधिकांश युवा पाला बाहेक अरू केही बनाउनै सक्दैनन् । आम्दानी नै कम भएको हुँदा वैकल्पिक पेसातिर लागेको उनीहरूको भनाई छ ।
कोहार समुदायलाई सबैभन्दा बढी समस्या माटो र जर्ना दाउराको रहेको अगुवा कोईल कोहार बताउँछन् । यो सिजनमा ४० हजार पाला बिक्री गर्ने लक्ष्य राखेका उनले जर्ना दाउराले लागत बढाएको सुनाए । “बनाउन सके त जति पनि बिक्छ, बजारको कमी छैन तर भाँडा पकाउन दाउरा नै पाइन्न ।” कोहारले आफ्नो समस्या सुनाए ।
१५ वर्षको उमेर देखि माटोसँग खेल्दै आएका उनले स्थानीय तहको सहयोगको आस समेत गरे । “अहिले प्रधानहरू आएका छन्, हाम्रो लागि जर्नाको व्यवस्था गरी दिए केही हुन्थ्यो कि” वृद्ध कोईलले भने ।
लगानी बढी भए पनि यसैलाई आफ्नो पेसा नै बनाएका पनि केही कोहार समुदाय छन् । कोही दीपावलीमा मात्र त कोही बाह्रै महिना यही कामबाट आम्दानी गरी आफ्नो परिवार पालेका छन् । ५८ वर्षीय रामदेव कोहार सिजनको रूपमा व्यापार गर्छन् ।
यो दीपावलीमा उनको करिब ३० हजार पाला बेचेर ४ गोन जति धान र २० देखी २५ हजार नगद कमाउने लक्ष्य छ । यसबाट र अन्य खेतीको उत्पादनबाट उनी आफ्नो परिवारको खर्च धान्ने मनस्थितिमा छन् । उनी भन्दा अलि ठुलो कारोबारी राम किसुन कोहार हुन् ।
उनले माटोको भुड्की बनाएर पोखरा सम्म बजार फैलाएका छन् । विशेष गरी माटोको भुड्की र अन्य भाँडा बनाउन खप्पिस उनी यसैबाट आफ्नो परिवार चलेको सुनाउँछन् । स्थानीय तहहरूले यस्ता परम्परागत सीपलाई संरक्षण गर्न आवश्यक रहेको कोेहारहरूको भनाई छ ।
स्थानीय सरकारले यस्ता सीप मूलक व्यवसायमा लगानी गरे नयाँ पुस्ता यसमा आकर्षण हुने सम्भावना पर्याप्त रहेको स्थानीय महेश कोहारले बताए । “यस्ता मौलिक पेसालाई व्यवस्थित र सीपमूलक बनाउन तर्फ राज्यको ध्यान गए आफ्नो पेसा पनि संरक्षित हुने र जीवन निर्वाहको लागी बिदेसिनु पर्ने समस्या हट्ने छ,” महेशले भने ।
पेसा बचाउन र निरन्तरताको लागि सरकारबाट अहिले सम्म कुनै सहयोग नभएको दुखेसो कोहारहरूको छ । “कम्तीमा विद्युत् मोटरबाट चल्ने एउटा चक्की सहयोग भए पनि राम्रो हुने थियो,” स्थानीय महेश कोहार भन्छन् ।
सोही गाउँका मनोहर प्रसाद कोहारले पाला बनाई बिक्री गर्न लागेको २५ वर्ष भयो । उनलाई सानो पाला सयकडा ५ रुपैयाँ र ठुलो पाला २५ पैसा प्रति गोटामा बिक्री गरेको स्मरण छ । अहिले सानो पाला ३० रुपैयाँ दर्जन र ठुलो पालाको मूल्य १० रुपैयाँ गोटा पुगेको छ ।
अहिले उनलाई पनि तिहारका लागि पाला बनाउन भ्याइ नभ्याई छ । बनाएका पाला लगायतका सामान खरिद गर्न घरमै व्यवसायी आउँछन्, भैरहवा, बुटवल सहित पोखरा, पाल्पा सम्म आफूले बनाएको माटोको पाला लगायतका सामान पुग्ने उनको भनाइ छ ।
तिहारको समयमा पहिला जस्तै बिक्री हुने गरेको उनी बताउँछन् । पालामा बत्ती बाल्ने प्रचलन अझै कायमै छ, उनले भने । यो पेसाबाट ५ जनाको परिवारको गुजारा चलेको छ ।” यस पटकको तिहारमा ८० हजार रुपैयाँ भन्दा बढीको पाला बिक्री गर्ने लक्ष्य उनको छ ।
उनले यो पेसा अघि बढाउन स्थानीय तहबाट कुनै किसिमको सहयोग, तालिम प्राप्त नहुँदा नयाँ पुस्तामा पेसा हस्तान्तरणमा समस्या रहेको बताए । परम्परागत पेसा लाई संरक्षण गर्ने स्थानीय सरकारको भने कुनै योजना देखिएन ।
पाला लगायतका माटाका अन्य सामान बनाउन प्रयोग हुने माटो एक ट्रलीकै ३ हजार रुपैयाँसम्म पर्दछ भने दाउरा पनि अभाव छ ।
रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले अबको वार्षिक कार्य योजनामा यो विषयमा ध्यान दिई पेसा संरक्षण गर्न मद्दत गर्ने बताए ।
उनले यस्ता परम्परागत पेसालाई जोगाउन गाउँपालिकाले कार्य योजना बनाई आवश्यक बजेट विनियोजन गर्ने बताएका छन् ।
माटोका पाला लगायतका अन्य सामान बनाउने पेसामा आश्रित कोहार समुदायले आफूहरूलाई बजार भन्दा पनि माटोको बस्तु बनाउने परम्परागत चक्की को साटो विद्युतीय मोटर र माटोमा अनुदान र तालिम प्रदान गरे यो पेसा सुरक्षित हुने र पुस्तामा हस्तान्तरण गर्न सकिने बताउँछन् ।