© २०२३
भैरहवा, २८ असोज ।
नजिकिदै गरेको तिहार र छठ पर्वलाई लक्षित गरी रुपन्देहीको लुम्बिनीमा सोमबार जिल्ला अनुगमन समितिले संयुक्त अनुगमन गरेको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाको खुनगाई, महिलवार र पर्सा केन्द्रित अनुगमन गरेको संयुक्त अनुगमन समितिले कैफियत देखिएका सबै फर्महरुलाई नसिहत दिएर छोडेको छ । पहिलो पटक सो क्षेत्रमा अनुगमन भएको र ग्रामीण क्षेत्र केन्द्रित रहेको व्यसवसायहरुमा देखिएका साना त्रुटिहरुलाई सच्चाएर जान अनुगमन समितिले नसिहत दिएको अनुगमन समिति संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए ।
उनले अनुगमनको क्रममा किराना पसल, होटल तथा रेष्टुरेण्ट र मिठाई तथा खाजा पसलहरु गरि १९ वटा व्यवसायहरुको अनुगमन गरिएको बताए । सो क्रममा दर्ता लगायतका प्रक्रिया पुरा गरेको तथा सामन्य त्रुटि मात्र भेटिएको बताए । “भान्छा सफा गर्न, एक्सापायरी जोन छुट्टै बनाउन खानेकुराहरु ढाकेर राख्न, तेल एक दिन भन्दा बढी प्रयोग नगर्न लगायतका निर्देशन दिएर आएका छौं ।” पाध्याले भने “चाँडपर्व लक्षित अनुगमन भएकोले कारवाहीमै नगई सचेत मात्र गराएका हौं, फेरि पनि त्यहा अनुगमन गर्नेछौं, कैफियत भेटिए अब कारवाही गर्छौ ।”
पाध्याले व्यवसाय सञ्चालक मात्र नभई भेटिएका उपभोक्तालाई पनि खुला, कुहिएका, फोहोर रहेका पसलमा जान नहुने भन्दै सचेतना समेत दिईएको बताए । उनले ग्रामीण क्षेत्रमा व्यवसायहरु दर्ता गर्ने परिपाटीको भने विकास भएको बताए । “अनुगमनको क्रममा कतै व्यवसाय नविकरण नगरि सञ्चालन गरेको पायौ, त्यस्तालाई पहिलो पटक चेतावनी दिदै सम्बन्धित कार्यालयमा अविलम्ब दर्ता गर्न निर्देशन दिएका छौं ।” पाध्याले “चाडपर्व लक्षित बजार अनुगमनको क्रममा धेरै कैफियत पाएका छौं यसलाई पछि पनि निरन्तरता दिदै जानेछौं ।”
अनुगमन समिति पुगेपछि लुम्बिनी सांस्कृतिक नगरपालिकाको खुनगाईका धेरै व्यवसायीहरु सटर बन्द गरेर भागेका थिए ।
अनुगमन समितिमा उद्योग बाणिज्य तथा उपभोक्त हित संरक्षण निर्देशनालयका निर्देशक शारदा बस्याल, अधिकृत अष्टराज गौतम, नर बहादुर अर्याल घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका प्रमुख उद्योग अधिकृत शारदा भट्टराई, अनन्त पन्थी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीकी सोनिला गौतम, ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख प्रहरी निरिक्षक दिपक मगराठी लगायत उपभोक्ता हित संरक्षणकर्मी, व्यवसायी प्रतिनिधि, नगरपालिकाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।