© २०२३
भैरहवा, २५ असोज ।
दसैँ मान्न आफ्नो घर गएका रुपन्देहीको कोटहीमाई गाउँपालिकाको अधिकांश कर्मचारीहरूको दसैँ अझै सकिएको छन् । यसले स्थानीय सरकार मानिएको र स्थानीय सरकारको सिंहदरबार मानिने पालिकाको कार्यालय सुनसान देखिन्छ ।
बिहीबार करिब साढे ११ बजे गाउँपालिकाको कार्यालय पुग्दा पुरै कार्यालय नै सुनसान देखिन्थ्यो । प्रशासन शाखामा मात्रै सबै कुर्चीमा कर्मचारीहरू बसेका थिए । त्यस बाहेक कुनै कुनै फाँट खाली देखिन्थ्यो भने कुनैमा एक दुई कर्मचारीहरू बसेका देखिन्थे ।
प्रमुख प्रशासकीय अधिकृत अजय मिश्र, लेखा अधिकृत निरञ्जन ज्ञवाली लगायत अधिकांश उच्च तहका कर्मचारीहरूका कुर्ची खाली भेटिए । सेवाग्राहीहरू पनि धेरै थिएनन् तर भएका एक दुई जना पनि जिम्मेवार कर्मचारी नहुँदा निराश हुँदै फर्किरहेका थिए ।
कर्मचारी मात्रै हैन पालिकाका अभिभावक गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठी, उपाध्यक्ष सुशीला कुमारी यादव पनि कार्यालयमा भेटिएनन् ।
एउटा अचम्मको दृश्य के देखियो भने फाँटमा कर्मचारी नहुँदा पनि रित्तो कुर्सीको लागि पनि पङ्खा र एसीहरू चलिरहेका थिए । कार्यालयमा प्रायः सबैको लागि पङ्खाको व्यवस्था रहेको छ । केही कोठामा एसीको व्यवस्था पनि गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत भैरहवा स्थित जिल्ला समन्वय समितिको बैठकमा सहभागी हुन गएको प्रशासन शाखाका कर्मचारीले जानकारी दिए । हामीले यसको पुष्टि पनि ग¥यौं ।
बिहीबार जिल्ला समन्वय समितिमा नदीजन्य पदार्थ लगायत अन्य विषयमा छलफल गर्न बैठक बोलाएको र त्यसमा कोटहीमाई गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत गएको पुष्टि भयो ।
हामीले कार्यालयको हाजिर रजिष्टर हेर्नलाई गरेको आग्रह बडो अप्ठ्यारो मान्दै सम्बन्धित कर्मचारीले हाजिर रजिष्टर देखाउन माने ।
कोटहीमाई गाउँपालिकाकाको हाजिर रजिष्टर अनुसार असोज २३ गते बिहीबार लेखा अधिकृत निरञ्जन ज्ञवाली, शिक्षा अधिकृत अमृता बुढाथोकी, सब इन्जिनियर शुभनारायण यादव, सूचना तथा प्रविधि अधिकृत राजन चौरसिया, वास संयोजक अजय सिंह क्षेत्री, लेखापाल सङ्गीता भट्टराई, असिस्टेन्ट सब इन्जिनियर गजेन्द्र यादव, अमिन रघुनन्दन यादव, पशु स्वास्थ्य प्राविधिक जय प्रकाश यादव, असिस्टेन्ट सब इन्जिनियर रवीन्द्र यादव, नायब पशु स्वास्थ्य प्राविधिक अजय कुमार राम उद्यम विकास सहजकर्ता मञ्जु कुवर लगायतका कर्मचारीहरू गयल रहको देखियो ।
कार्यालयमा उपस्थित कर्मचारीले यी गयल रहेका मध्ये अधिकांश फिल्डमा रहेको र केहीले बिदा लिएको दावी गरे । तर सब इन्जिनियर शारदा रौनियार र उद्यम विकास सहजकर्ता मञ्जु कुर बाहेक अन्यको कुनै प्रकारको लिखित निवेदन वा हाजिर पुस्तिकामा विदा जनिएको देखिएन ।
गयल मध्ये गजेन्द्र यादव, रघुनन्दन यादव, अजय कुमार राम कार्यालयमै भए पनि हाजिर गरेका थिएनन् । राजन चौरसियाको छोरा बिरामी परेर टेलिफोनबाट विदा लिएका थिए ।
जनताको अति आवश्यक कार्यालय मध्ये एक मानिएको गाउँपालिकाको कार्यालयमा नै अधिकांश कर्मचारी गयल हुँदा यसले सेवा प्रवाहमा असर परेका छ । दसैँ मान्न कर्मचारीहरू अझै फर्किएका छैनन् र कार्यालयमा कुनै प्रकारको लिखित निवेदन पनि पेस गरेका छैनन् । त्यहिपनि हाजिर पुस्तिकामा गयल जनिएको छैन ।
“कार्यालयहरूमा कति सम्म हुने गरेको छ भने लामो समय नआउने कर्मचारीहरू पनि लिखित बिदा नलिने र कार्यालयमा उपस्थित हुँदा सबै हाजिर एकै पटक गर्ने गरेको छन् ।” नाम उल्लेख नगर्ने सर्तमा एक कर्मचारीले भने “फिल्डको बहाना, माथिल्लो निकायका कार्यालयहरूमा गएको बहानामा प्राय माथिल्ला तहका कर्मचारीहरू पटक–पटक गयल हुने गरेका छन् ।”
कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय कुमार मिश्रले पटक–पटक कार्यालयको बैठकमा यो कुरा उठाएको दाबी गरे । उनले भने “म आए देखि नै यो विषयमा सुधार गर्ने प्रयास गरिरहेको छु, पालिकामै कर्मचारीहरू नआउँदा यसले समग्र सेवा प्रवाहमै असर पारेको छ ।”
मिश्रले अति आवश्यक समयमा मात्र फोनबाट जानकारी गराएर वार्षिक १२ वटा “क्याजुवल लिभ” लिन सकिने व्यवस्था रहेको बताए । कार्यालयमा रहेका कर्मचारीहरू कार्यालयमा उपस्थित हुने विषयमा गम्भिर हुनुपर्ने र यसको लागि जिल्ला प्रशासन कार्यालयबाट पनि निर्देशन भएको हुँदा अबको दिनमा कारबाहीकै पक्रियामा जाने मिश्रले बताए ।
“पटक पटक गल्ती दोहोराउने कर्मचारीहरूको हकमा स्पष्टीकरण सोधेर थप कारबाहीको लागि अगाडि बढ्छौँ ।” उनले भने “बिदा स्वीकृत नगराई बस्नेको हकमा गयलपट्टि हुनेछ, अस्थायी कर्मचारी भए ऊसँग सम्झौता पनि तोड्न सक्ने गरी कारबाही गर्छौ ।”