© २०२३
समाचार सारांशमा
प्रहरीले शंका लागेर जाँच गरेको मिनी ट्रकबाट १२५ बोरा (करिब ५० क्विन्टल) खरबुजाको बिउ बरामद गरेको छ ।
चालकसहित ट्रक र बिउ नियन्त्रणमा ।
सोमबार बरामद, मंगलबार राजस्व अनुसन्धान कार्यालय, बुटवल पठाइयो ।
भैरहवा, २२ असोज ।
प्रहरीले तस्करहरूको मनोबल खस्काउन एउटा रणनीति तयार पार्छ । अनि सोही अनुसार कार्यान्वयन गर्दै लैजान्छ ।
यता तस्करहरू प्रहरी भन्दा एक कदम अगाडि रहँदै तस्करीका नयाँ नयाँ तरिकाहरू निकालिरहेका हुन्छन् । यसरी प्रहरी र तस्करहरूबिचको पौंठेजोरी चलिरहन्छ ।
रुपन्देही प्रहरीले रुपन्देहीको सीमा नाकाबाट प्रायः अवैध कारोबार हुने लत्ताकपडा, खाद्यान्न, हार्डवेयर लगायत दैनिक उपभोग्यको सामग्रीमा ध्यान दिइरहेको अवस्थामा तस्करहरूले अहिले तस्करीको ट्याक परिवर्तन गरेका छन् ।
अहिले रुपन्देहीबाट मकै, ओखर, मटर मात्रै हैन खरबुजाको बिया पनि तस्करी हुन थालेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सोमबार ठुलो परिमाणको शङ्कास्पद खरबुजाको बिया बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिका वडा नम्बर ४, डन्डा बाट बा.प्र.०३–००१ ख १६८४ नम्बरको मिनी ट्रकलाई शङ्का लागेर जाँच गरेको थियो ।
जाँचका क्रममा मिनी ट्रकमा १२५ बोरा (५० क्विन्टल) खरबुजाको बीउ फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गणेश कार्कीले जानकारी दिए । बरामद सामानको अनुमानित १० लाख रुपैयाँ र मिनी ट्रकको अनुमानित मूल्य १० लाख रुपैयाँ रहेको उनले बताए ।
प्रहरीले सोमबार नै मिनी ट्रकका चालक रुपन्देही, मायादेवी गाउँपालिका वडा नम्बर ६ बस्ने वर्ष २२ का राजकुमार मल्लाह लाई समेत नियन्त्रणमा लिएको थियो ।
प्रहरीले नियन्त्रणमा लिएको मिनी ट्रक, खरबुजाको बीउ र चालकलाई थप अनुसन्धान तथा कारबाहीका लागि मंगलबार राजस्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको सापकोटाले जनाए ।
नियन्त्रणमा लिइएको खरबुजाको बीउ राजस्व छली वा अन्य कुनै शङ्कास्पद गतिविधिमा संलग्नता भए/नभएको विषयमा राजस्व कार्यालयले थप छानबिन गर्ने उनले बताए ।
नेपालमा निर्यातका लागि उत्पादन नहुने मकै, मटर, ओखर, खरबुजाको बिया लगायतका बस्तुहरू तस्करहरूले तेस्रो मुलुकबाट आयात गरि अवैध बाटो हुँदै भारत पठाउने गरेका छन् ।
यसका लागि नेपाल भारतको सीमा नजिकैको ठेगाना राखी त्यहाँसम्म निर्बाध रूपमा ढुवानी गर्ने गरेको छन् । सीमामा पुगेका यस्ता बस्तुहरू रातीको समयमा भरियाहरूको प्रयोग गरि सीमा कटाउने गरिएको छ ।