© २०२३
भैरहवा, २१ असोज ।
अविरल वर्षाको कारण भैरहवामा अलपत्र यात्रुहरूको उद्धारको लागि नेपाल एयरलाइन्सले सोमबार एक दिनका लागि उद्धार उडान गरेको छ ।
नेपाल वायुसेवा निगमको ए ३२० विमान ७६ जना यात्रु सहित दिउसो ३ः४३ बजे भैरहवा अवतरण भएको थियो । भैरहवाबाट भने विमानले ५ः४० बजे १५७ जना यात्रु बोकेर काठमाण्डौं फर्केको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोद सिंह राउतले जानकारी दिए ।
उद्धार उडानमा अशक्त, वृद्ध वृद्धा, बिरामी तथा अत्यावश्यक यात्रुलाई प्राथमिकता दिइएको राउतले बताए । नेपाल वायुसेवा निगमले उद्धार उडान गर्ने जानकारी पाएका यात्रुहरूको निगमको भैरहवा देवकोटा चोकमा रहेको टिकट काउन्टरमा भिड लागेको थियो ।
निगमले आइतबार नै उद्धार उडान गर्ने जनाए पनि प्राविधिक कारण जनाउँदै अन्तिम समयमा उडान रद्द गरेको थियो । आइतबार रद्द भएको उडान सोमबार गरिएको हो ।