© २०२३
भैरहवा, १९ असोज ।
भारत तीर्थयात्राबाट फर्केका ५ सय बढी तीर्थयात्रीहरु बाटो बन्द हुँदा भैरहवामै रोकिएका छन् । ईस्कान नेपाल वृन्दावन यात्राबाट फर्किएका २ हजार बढी तीर्थयात्रीहरु मध्ये करिब ५ सय जना भैरहवामै रोकिएका हुन् ।
नेपालको पूर्वी क्षेत्र र काठमाडौँ आसपासका जिल्लाहरूमा भइरहेको वर्षा सँगै सरकारले पूर्व सावधानी अपनाउँदै यातायातका साधन रोपछि यी तीर्थयात्रीहरु भैरहवामै रोकिएका छन् ।

शनिबार भारतको वृन्दावन यात्रा गरि बेलहिया नाका हुँदै करिब २ हजार तीर्थयात्रीहरु भैरहवा प्रवेश गरेका थिए । शनिबार भैरहवाको विभिन्न धर्मशाला, मन्दिर र होटेलमा तीर्थयात्रीहरुका लागि बासको व्यवस्था मिलाइएको थियो ।
आइतबार बिहान दाउन्नेको बाटो केही सहज भएको कारण करिब १ हजार ५ सय विशेष गरि पूर्वी तराई क्षेत्रमा तिर्थालुहरु गन्तव्य तर्फ लागेका छन् । काठमाडौँ , ललितपुर, भक्तपुर, पनौती, काभ्रे, धादिङ लगायतका जिल्लाहरूका तिर्थयात्रीहरु अझै यातायात खुल्ने प्रतीक्षामा रहेका छन् ।

असोजको १० गते नेपालका विभिन्न जिल्लाबाट करिब २ हजार जना वृन्दावन, गोवर्धन लगायतको यात्रामा निस्किएको ईस्कान नेपाल, बुटवलका करण धर दासले जानकारी दिए । नेपालका विभिन्न भागबाट रहेका तीर्थयात्रीहरु अहिले भैरहवामै अलपत्र परेको उनले बताए ।
भैरहवामै रोकिएका तीर्थयात्रीहरु गल्लामण्डीमा रहेको राम जानकी हनुमान मन्दिरमा आश्रय लिएका छन् । मन्दिरमा पनि ईस्कान नेपालको कार्यक्रमहरू भई राख्ने हुनाले स्थिति धेरै सहज भएको दासले बताए ।
तीर्थयात्रीहरु तिर्थयात्रामा जाने समय पनि वर्षा भइरहेको कारण बसहरू काठमाण्डौं जान सकेका थिएनन् । अहिले फर्किदा पनि गन्तव्य सम्म पु¥याउने गरि नै बसहरू व्यवस्थापन भएका थिए ।
तर यातायातका साधन रोकिदा ती भारतीय बसहरू यात्रुलाई भैरहवा छोडेर फर्र्किएका छन् । अब काठमाण्डौं लगायतका आसपासका जिल्लामा जाने यात्रुहरू भैरहवामै प्रतीक्षा गर्नुको विकल्प नरहेको तीर्थयात्री हरिराम पौडेको भनाई छ ।
उनले यात्राको सबै प्रबन्ध ईस्कान नेपाल नै गरेको हुँदा यातायात खुले पछि गन्तव्य सम्म ईस्कानले नै पु¥याउने जानकारी दिए । भैरहवामा एकै पटक करिब २ हजार तिर्थयात्रुहरु आउँदा यहाँका मारवाडी सेवा समिति, कान्दु धर्मशाला, जयसवाल धर्मशाला लगायत साना होटलहरु भरिभराउ रहेका छन् ।
तिर्थालुहरुलाई श्रीराम जानकी हनुमान मन्दिरमा खाना, पूजापाठ, चिया नास्ता लगायतका व्यवस्था गरिएको छ । यस बाहेक तिर्थयात्रीहरुको सुरक्षाको लागि प्रमुख जिल्ला अधिकारीको समन्वयमा व्यवस्थापन गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र प्रसाद रौनियारले जानकारी दिए ।
“उहाँहरूको बाँसको साथै, शौचालय, प्रसाद ग्रहण लगायत सम्पूर्ण व्यवस्थापनमा हामी सबै जुटेका छौँ ।” रौनियारले भने “यो हाम्रो लागि उहाँहरूको सेवा गर्ने अवसर पनि हो, कुनै कमी हुन दिने छैनौँ ।”
काठमाण्डौं लगायत देशका पूर्वी क्षेत्रमा अविरल वर्षा भए पनि रुपन्देही तथा यस आसपासका जिल्ला नवलपरासी, कपिलवस्तु, पाल्पा लगायतका अहिले छिटफुट बाहेक वर्षा भएको छैन ।