© २०२३
बुटवल, १० असोज ।
मेरा नी दिपासनी दुर्गा भवानी..
दर्शन दिनुस् हामीलाई पिरै नमानी…..
एक जना युवा हातमा लिएको खैँजडी बजाउँदै सुरुवात हुन्छ । छेवैमा बसेका अन्य युवा तथा पाका पुस्ताले भाकामा भाका मिलाउँदै अगाडी बढ्छन् । कसैले खैँजडी, कसैले मजुरा, कसैले मादल त कसैले छिङ्ग छिङ्ग बजाउँछन् ।
माहोल जम्दै जान्छ, अन्य युवा र पौढ, पाका पुस्ता समेत यही समूहमा सहभागी हुन्छन् । छम् छम् नाच्छन्, गाउँछन् । आजभोलि दैनिक ३, ४ घण्टा यो अभ्यास भइरहन्छ ।
यो दृश्य कुनै विशेष पूजा आजा वा समारोहमा देखिएको होइन, बुटवल उपमहानगरपालिका वडा नम्बर १० मिलनचौक ब्याडमिन्टन कर्वड हल नजिकै रहेको दुर्गा मन्दिरमा हरेक सोमबार यसरी नै भजन हुँदै आएको छ, त्यो पनि पूर्ण रूपमा निःशुल्क र सहभागिता मूलक ।
यसरी भजन गाउने आयोजक समूहमा अधिकांश युवा पुस्ताहरू हुन्छन्, पहिला नै सामाजिक सञ्जाल, फेसबुक र टिकट मार्फत स्थान र समय निर्धारण हुन्छ, जहाँ युवाहरू जम्मा भएर निरन्तर भजन गाउँदै आएका हुन ।
लोप हुन लागेको यो भजन संस्कृतिको सुरुवात मेन्स रिड रिलोडेट नामको सामाजिक सञ्जाल समूहले बुटवलमा सुरुवात गरेको हो । सन् २०१२ मा काठमाडौँमा सामाजिक सञ्जालमा जन्मियो एउटा ‘ग्रुप’ एम्.आर.आर. । जसको एक वर्ष पछि बुटवलमा पनि स्थापना भयो ।
सामाजिक सञ्जाल मार्फत सामाजिक क्रियाकलाप गर्दै आएको समूहले ३ महिना देखि बुटवलमा ‘एमआरआर बुटवल भजन’ समूह निर्माण गरी प्रत्येक महिनाको सोमबार भजन गाउँदै आएको छ ।
१८ वर्ष भन्दा माथि उमेर समूहका युवाहरू आबद्ध भएको समूहमा यो महिना दिन मा कहाँ कति बेला भजन सञ्चालन हुने भन्दै सूचना आउँछ । सामाजिक सञ्जाल मार्फत नै मानिसहरू सूचनालाई आधार मानेर जम्मा हुन्छ, युवा पुस्ता देखि पाका सम्मको एउटा बेजोड समूहमा निरन्तर ३ देखि ४ घण्टा भजन गुन्जिन्छ ।
एमआरआर बुटवल प्रतिनिधि युवाराज पाण्डेका अनुसार बुटवलमा यसरी युवा भजन समुह आफ्नो प्रस्तुति दिन लागेको ३ महिना जति भएको छ । भजन समूहका हरेका गतिविधिहरू सामाजिक सञ्जालमा समेत निरन्तर प्रकाशन हुँदै आएका छन् ।
टिकटक मा एमआरआर भजन बुटवल समूहको पेज समेत रहेको छ । जसमा ९५ हजार भन्दा बढी लाईक छ भने ३ हजार बढी फलोअर्स रहेका छन् । समूहका बुटवल संयोजक पाण्डेका अनुसार महिनाको एक दिन शनिवार बुटवलमा सामूहिक छलफल हुन्छ, जसबाट यो महिना कुन स्थानमा कहिले कुन समयमा कहाँ भजन गाउँले भनेर छलफल हुन्छ, सोही अनुसार जम्मा हुन्छ ।
स्थानीय प्रशासनको अनुमति, स्थानीयहरूको सहभागितामा भजन कार्यक्रम गाउने गर्दै आएका छन् । बुटवलमा हरेक सोमबार साँझ ६ बजे देखि युवाहरूले एमआरआर भजन गाउँदै आएका छन् ।
बुटवलको योगी कुटीमा रहेको दुर्गा मन्दिर परिसरमा प्रत्येक सोमबार भजन प्रस्तुत हुँदै आएको थियो । जसमा अहिले दुर्गा मन्दिरमा विशेष पूजा आजा हुने भएको कारण अहिलेको लागि बुटवल माझ गाउँमा रहेको शिव मन्दिर जुन ब्याडमिन्टन क्लबको नजिकै रहेको छ त्यहाँ भजन प्रस्तुत हुँदै आएको छ ।
भजन कृतन कार्यक्रममा स्थानीयहरूको समेत बाक्लो उपस्थित हुन्छ भने वाद्यवादन का सामग्री देखि अन्य सबै बन्दो बस्ता युवाहरूले नै गर्दै आएका छन् । पूर्ण रूपमा निःशुल्क ६० देखि ७० जनाको समूहले बुटवलका विभिन्न स्थानमा पायक पर्ने स्थानमा भजन गाउँदै आएका हुन ।
भजन संयोजक पाण्डेका अनुसार युवा पुस्ताहरूले पनि भजन प्रति देखाएको मोह देखि युवा तथा पाका पुस्ताहरूले समेत यसलाई सकारात्मक रूपमा लिएको पाइएको छ । भजनमा अधिकांश युवाहरूले पहिला पाका पुस्ताहरूले गाउँले भजन का टुक्का केही नयाँ युवा पुस्ताले प्रयोग गर्ने शब्द र भाकाको समायोजन गर्दै प्रस्तुति दिँदै आएको छ ।
युवाहरूले प्रस्तुत गर्दै आएको भजनबाट प्रभावित भएर कतिपय स्थानीयहरूले समेत आफ्नो क्षेत्रमा भजन गाउनको लागि निमन्त्रणा समेत दिँदै आएका छन् । तर युवाहरूले पहिला नै स्थान तोकेर हरेक सोमबार भजन प्रस्तुत दिँदै आएकोमा टोल टोलमा जान नकीएको समूहका अर्का सदस्य कमल सापकोटा बताउँछन् ।
एमआरएआर समूहले पोखरामा विगत लामो समय देखि नै निरन्तर रूपमा भजन प्रस्तुत दिँदै आएका छन् । त्यहाँबाट समेत सिकेर बुटवलका युवाहरूले ३ महिना देखि बुटवलमा भजन सुरुवात गरेका हुन । मेन्स रिड रिलोडेट नामको फेसबुक सामाजिक सञ्जाल समूहमा हाल ५२ हजार भन्दा बढी युवा आबद्ध रहेका छन् ।