© २०२३
भैरहवा, १० असोज ।
मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सक्रिय रहेको शुभ अवसर ग्राम नेपाल परियोजनाले आर्थिक वर्ष २०८१÷०८२ मा उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ । परियोजनाले सीमावर्ती क्षेत्रहरूमा निगरानी, उद्धार, पुनःस्थापना, परामर्श, सीप विकास, कानुनी सहायता लगायतका गतिविधि सञ्चालन गरी सयौं पीडितहरूलाई सेवा पु¥याएको छ ।
बिहिबार भैरहवामा पत्रकारहरुसंग आयोजित कार्यक्रममा परियोजनाले आर्थिक वर्षभरि परियोजनाले ३४२ जना महिला, बालबालिका र युवायुवतीहरूलाई नेपाल र भारतका विभिन्न स्थानबाट उद्धार गरेको जनाएको छ । उद्धार गरिएका मध्ये १३९ जनालाई आश्रय र सुरक्षा सेवा, २१८ जनालाई परिवारसँग पुनर्मिलन, र ११८ जनालाई सम्बन्धित संस्थामा रिफर गरिएको परियोजना प्रमुख सत्य नारायण यादवले बताए ।
यादवका अनुसार अधिकांश किशोरी र महिलाहरू भारतका बिहार, काश्मीर र उत्तराखण्डबाट उद्धार गरिएका हुन् । त्यस्तै, भारतको कर्नाटक लगायत स्थानमा अध्ययनको बहानामा बालकहरूलाई अवैध रूपमा ओसारपसार गर्ने प्रचलन पाइएको छ ।
परियोजनाले ८ हजार ४ सय ९५ जनालाई चेतनामूलक जानकारी र परामर्श सेवा, ५६ जनालाई जोखिम पहिचान गरी सीमाबाट फिर्ता, २७६ जनालाई मनोविमर्श, ३२ जनालाई स्वास्थ्य उपचार, ९ जनालाई सीप तालिम र २९ जनालाई व्यवसाय सञ्चालनको लागि बीउ–पूँजी उपलब्ध गराएको छ ।
नेपालस्थित सरकारी र गैरसरकारी निकाय तथा भारतस्थित नेपाली दूतावासको समन्वयमा १७५ जनालाई भारतबाट उद्धार गरी स्वदेश फिर्ता गराइएको छ । साथै, मानव बेचबिखनसम्बन्धी ४ वटा मुद्दा दर्ता गरिएको छ ।
परियोजना प्रमुख सत्य नारायण यादवले समुदायमा काम गर्दा केही चुनौती बढेको र कानूनी प्रक्रियाको ढिलोपनले पुर्नस्थापनामा कठिनाइ उत्पन्न भएको बताए ।
शुभ अवसर ग्राम नेपालले परियोजना कार्यान्वयनको क्रममा सरोकारवाला संस्थासँग समन्वय र नेटवर्क विस्तारलाई प्राथमिकता दिँदै मानव बेचबिखन विरुद्धको अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेको शुभ अवसर ग्रामका निजामुद्दिन पठानेले जानकारी दिए ।