© २०२३
भैरहवा, ८ असोज ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको आयोजनामा ‘दसैँ सस्तो बजार-२०८२’ सुरु भएको छ । असोज ८ गतेदेखि १२ गते सम्म सङ्घको परिसरमा सुरु चल्ने यो पाँच दिने बजारले उपभोक्ताहरूलाई सस्तो, सुलभ र गुणस्तरीय सामानहरू एकै ठाउँमा उपलब्ध गराउने लक्ष्य राखेको छ।
बुधबार भैरहवामा एक कार्यक्रमका बिच नेपाल उद्योग वाणिज्य महासङ्घ नेपाल, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले उद्घाटन गरेका छन् । उद्घाटन गर्दै शर्माले आम उपभोक्तालाई सस्तो र गुणस्तरीय सामान उपलब्ध गराउन सस्तो बजार महत्त्वपूर्ण हुने बताए ।

उनले भारतमा मात्रै सस्तो र राम्रो समान पाइन्छ भन्ने भ्रम यो सस्तो बजारले तोड्ने अपेक्षा रहेको बताए । नेपालीहरू चाडपर्वको अवसरमा नेपालमै उत्पादित समान प्रयोग गर्न शर्माले आग्रह गरे । यसले स्थानीय बजारको प्रवर्द्धन गर्नुको साथै आर्थिक अवस्था समेत चलायमान गराउने उनको भनाइ थियो ।
नेपाली उत्पादनहरू कुनै पनि मामिलामा अन्य उत्पादन भन्दा कम नभएकोले यहिकै उत्पादन बढाउनुपर्नेमा जोड दिँदै उनले यस्तो सस्तो बजारले त्यसमा सहयोग गर्ने बताए । सस्तो बजार प्रदेशका हरेक जिल्लामा सञ्चालन भइरहेको जनाउँदै उनले महासङ्घले पनि यसमा सहकार्य गरेको बताए ।
बजारमा दैनिक उपभोग्य खाद्यान्न, लत्ताकपडा, जुत्ता-चप्पल, घरेलु उत्पादन लगायतका १८ वटा स्टल रहेका छन् । यो बजारले स्वदेशी तथा स्थानीय उत्पादनको प्रयोगलाई पनि बढवा दिने अपेक्षा गरिएको सङ्घका अध्यक्ष नेत्र प्रसाद आचार्यले बताए । बजारमा पाइने मूल्यमा भन्दा अहिले सञ्चालन भइरहेको सस्तो बजारमा विशेष छुट सहित सस्तो मूल्यमा समान उपलब्ध भइरहेको अध्यक्ष आचार्यले बताए ।

यो बजारलाई सफल बनाउन उद्योगी, व्यवसायी, उपभोक्ता, सरोकारवाला निकाय र सञ्चारकर्मी सबैको सहयोग र सहभागिताका लागि सङ्घले अनुरोध गरेको छ । २०११ सालमा स्थापना भएको सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीले स्थापना काल देखि नै यस क्षेत्रको आर्थिक विकास तथा व्यावसायिक प्रवर्द्धनमा निरन्तर क्रियाशील रहँदै आएको छ ।
सङ्घले भैरहवामा पहिलो पटक वि.सं. २०५८ सालमा दसैँ र तिहार बजार, दोस्रो पटक २०५९ सालमा दसैँ बजार, तेस्रो पटक २०७९ सालमा दसैँ बजार र चौथो पटक २०८० सालमा दसैँ बजार सफलतापूर्वक सम्पन्न गरिसकेको छ यस परम्परालाई निरन्तरता दिँदै, यस वर्ष पनि सङ्घ परिसरमा दसैँ बजार-२०८२ आयोजना गरेको हो ।