© २०२३
भैरहवा, ०७ असोज ।
शनिबारको दिन हो पङ्क्तिकारलाई घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख लोक कुमार कार्कीको फोन आयो “मनोरञ्जनलाई के भएको हो र ?” कार्कीको फोनसँगै मन आत्तियो, एकै छिन पछि लुम्बिनी प्रेस क्लबका महासचिव प्रकाश न्यौपानेले पनि मनोरञ्जन दाइ “हामीलाई छोडेर जानुभएको” पुष्टि भयो ।
यस सँगै भैरहवामा रहेर सकारात्मक बिटमा कलम चलाएर पनि पत्रकारिता गर्न सकिन्छ भन्ने एक योद्धाको अवसान भयो । यो कथा एक यस्तो मानिसको हो, जसका लागि कलम केवल जीविकोपार्जनको माध्यम थिएन, बरु त्यो जीवनको सार थियो ।
करिब तीन दशकसम्म पत्रकारिताको यात्रामा हिँडेका मनोरञ्जन शर्माको जीवन आफैँमा एक प्रेरणादायी कथा हो । उनले जीवनको अन्तिम साससम्म पनि आफ्नो कलमलाई विश्राम दिएनन्, चाहे त्यो कलम क्यान्सरको पीडाले थकित हातमा किन नहोस् ।
मनोरञ्जन शर्मालाई धेरैले एक बहु आयामिक पत्रकारको रूपमा चिन्छन् । उनी केवल एक विधामा सीमित थिएनन् । खेलकुदको मैदानमा खेलाडीको जोससँगै दगुर्थे, आर्थिक बजारको उतारचढावलाई गहिराइबाट बुझ्थे र पर्यटनका नयाँ गन्तव्यहरूको कथा लेख्थे ।
उनको पत्रकारिताको अर्को विशेषता थियो– सकारात्मक सोचबाट प्रेरित पत्रकारिता । समाजमा निराशा होइन, आशाको किरण छर्नु उनको लेखनको मूल उद्देश्य थियो ।
उनले पत्रकारिताको औपचारिक मान्यतालाई पनि चुनौती दिए । नेपाल पत्रकार महासङ्घ मात्र हैन, उनी राजनैतिक निकट मानिने कुनै पनि सङ्गठन थिएनन् । सदस्य नभए पनि उनको कामको गुणस्तर यति अब्बल थियो कि उनले महासङ्घका सदस्य बराबरको मान्यता पाएका थिए ।
यो सम्मानले देखाउँछ, सदस्यताको प्रमाणपत्र भन्दा पनि ठुलो कुरा कामप्रतिको निष्ठा र समर्पण हुँदो रहेछ । जीवनको अन्तिम दुई वर्ष, जब कलेजोको क्यान्सरले उनको शरीरलाई कमजोर बनाउँदै लग्यो, तब पनि उनको मनोबल टुट्न सकेन ।
क्यान्सरजस्तो प्राणघातक रोगको पीडामा पनि उनी पत्रकारिताबाट कत्ति पनि विचलित भएनन् । क्यान्सर देखिएपछि उनी किमो थेरापी गराइरहेका थिए । यस्तो अवस्थामा शरीरलाई पर्याप्त आराम चाहिन्छ, बाहिरको वातावरणबाट सङ्क्रमण झनै फैलिने डर हुन्छ ।
तर उनलाई कुनै यस्तो कुनै डर कहिल्यै पनि सताएन । उनी भन्थे, “यस्तो अवस्थामा मनोबल उच्च बनाउनुपर्छ, फिल्डमा आउनु हुँदैन भनेर मेरो मनोबल न खस्काइदिनु हो ।”
पत्रकारिता प्रति यत्तिको चिन्तन गर्ने मान्छे पाउन गाह्रो छ । उनको यो भनाइले उनको पेसाप्रतिको गहिरो प्रेम र लगावलाई झल्काउँछ । यी दुई वर्षमा उनले विशेष गरी आर्थिक क्षेत्रमा उत्कृष्ट फिचरहरू लेखे । कारोबार दैनिकका लुम्बिनी प्रदेश प्रमुख उनले २ महिनाअघि सम्म समाचारहरूमै दैनिकी बिताए ।
अस्पतालको बेडमा रहेर पनि उनले समाचारको लागि सामग्री खोजे, लेखे र अरूलाई पनि प्रेरित गरे । उनी केवल एक पत्रकार मात्र थिएनन्, अरूका लागि पनि ऊर्जाको स्रोत थिए । उनको जीवनले हामीलाई सिकाउँछ, जस्तोसुकै कठिन परिस्थितिमा पनि आफ्नो लक्ष्यबाट विचलित हुनु हुँदैन ।
उनी एक यस्तो योद्धा थिए जसले क्यान्सरसँग लड्दै पत्रकारिताको ज्योतिलाई कहिल्यै निभाउन दिएनन् । मनोरञ्जन शर्माको निधनसँगै पत्रकारिता क्षेत्रले एक सच्चा साधक गुमाएको छ, तर उनको साहस र सकारात्मकताको कथा सधैँ हामी माझ जीवित रहनेछ । उनी एक यस्तो तारा थिए, जसले आफ्नो जीवनको अँध्यारो क्षणमा पनि पत्रकारिताको उज्यालो छर्दै गए ।
सकारात्मकताका प्रतीक
दिनेश पाण्डे
अध्यक्ष, नेपाल पत्रकार महासङ्घ, रुपन्देही
पत्रकार मनोरञ्जन शर्माको जीवन र कर्मले हामीलाई सकारात्मक सोच र उच्च मनोबल को महŒव सिकाउँछ । उनको पत्रकारिता केवल सूचना प्रवाहमा मात्र सीमित थिएन, बरु त्यो सकारात्मक सोचबाट प्रेरित थियो ।
जीवनको अन्तिम क्षणसम्म पनि कामप्रतिको उनको समर्पण र निरन्तरताले यो कुरा पुष्टि गर्छ । शर्मा एकैसाथ आर्थिक, खेलकुद र पर्यटन पत्रकारितामा उत्तिकै दक्खल राख्थे ।
शर्मा नेपाल पत्रकार महासङ्घको सदस्य नभए पनि उनले रुपन्देहीमा सदस्य बराबरको मान्यता पाएका थिए । एउटा साधारण सदस्यले पाउने सेवा र सुविधा उनले पाएका थिए । विगत दुई वर्षदेखि रोगले च्यापेको भए पनि उनको काम गर्ने ऊर्जामा कुनै कमी आएन । यो कुराले उनको अदम्य साहस र जिजीविषा लाई उजागर गर्छ ।
उनी केवल पत्रकारितामा मात्र सीमित नभएर अरूका लागि पनि ऊर्जाको स्रोत बने । जीवनको कठिन परिस्थितिमा पनि पत्रकारिताकै चिन्तन गर्नुले उनको पेसाप्रतिको गहिरो लगाव र समर्पणलाई झल्काउँछ । अन्तिम घडीसम्म पनि उच्च मनोबलका साथ काम गर्ने पत्रकार मनोरञ्जन शर्मा साँच्चै नै एक प्रेरणाका स्रोत हुन् ।
एक स्वतन्त्र पत्रकार:
कमल रायमाझी
अध्यक्ष, लुम्बिनी प्रेस क्लब, भैरहवा
पत्रकारिताको क्षेत्रमा ३ दशक लामो यात्रा तय गरेका मनोरञ्जन शर्माको निधनले भैरहवाको पत्रकारिता जगतमा एक शून्यता छाएको छ । उनी केवल एक समाचार सङ्कलक मात्र नभएर एक सकारात्मकताका प्रतीक थिए ।
उनको सबैभन्दा ठुलो विशेषता नै सकारात्मक सोचबाट प्रेरित पत्रकारिता थियो । उनले कहिल्यै नकारात्मकता र निराशा फैलाएनन् । बरु, समाजमा भएका राम्रा काम र सकारात्मक पक्षहरूलाई उजागर गरेर मानिसहरूलाई प्रोत्साहित गर्ने काम गरे ।
उनको मान्यता थियो कि समाजलाई रूपान्तरण गर्न कसैको कमजोरी औँल्याउनुभन्दा पनि सकारात्मकतालाई बढवा दिनु बढी प्रभावकारी हुन्छ ।
शर्माको अर्को उल्लेखनीय पक्ष भनेको उनको स्वतन्त्रता थियो । कुनै पनि पार्टी वा त्यससँग सम्बन्धित सङ्घसंस्थाको सदस्य नबनी उनले स्वतन्त्र रूपमा कलम चलाए । यसले उनको निष्पक्षता र पेसाप्रतिको इमानदारीलाई प्रमाणित गर्छ । उनले पत्रकारितालाई कसैको स्वार्थमा प्रयोग गरेनन्, बरु यसलाई समाजको विकासको माध्यम बनाए ।
उनले खेलकुद, आर्थिक र सामाजिक विकासका क्षेत्रमा पु¥याएको योगदान अतुलनीय छ । उनले यी विषयहरूलाई प्राथमिकता दिएर समाजको चौतर्फी विकासमा महत्त्वपुर्ण भूमिका खेले । उनले लेखेका लेखहरूले समाजलाई सही दिशामा डो¥याउन मद्दत गरेको छ ।
१९ वर्षको मित्रता
शारदा मल्ल
पत्रकार, भैरहवा
आजभन्दा करिब दुई दशकअघि पाल्पाबाट नेपाल वानको लुम्बिनी ब्युरो इन्चार्ज भएर भैरहवा आएका पत्रकार मनोरञ्जन शर्माको जीवन एउटा अविस्मरणीय यात्रा थियो । त्यो समय अहिलेको जस्तो प्रविधिको सुविधा थिएन ।
पत्रकारिताको काम “फोटो फेमस” जस्तो साझा स्थलमा बसेर गरिन्थ्यो, जहाँ मोबाइल फोनको सट्टा चिठी पत्र र प्रत्यक्ष भेटघाट नै सूचनाको मुख्य स्रोत थियो । यस्तो समयमा उनले गरेको पत्रकारिताले उनको समर्पण र धैर्यलाई दर्साउँछ ।
मनोरञ्जन शर्माको सबैभन्दा ठुलो विशेषता उनको सकारात्मक सोच नै थियो । उनमा समाजमा सधैँ केही नयाँ र रचनात्मक काम गर्ने साेंच थियो । उनी आफैँ फिल्ड रिपोर्टिङमा जान रुचाउँथे र अरू सहकर्मीहरूलाई पनि त्यसका लागि प्रेरित गर्थे ।
यसले उनको कामप्रतिको गहिरो लगाव र जीवनलाई नजिकबाट बुझ्ने चाहनालाई प्रस्ट पार्छ । उनलाई कुनै पनि काम गर्दा त्यसको सकारात्मक पक्ष हेर्ने बानी थियो, जुन आजको पत्रकारितामा दुर्लभ छ ।
विगत दुई वर्षदेखि क्यान्सरजस्तो प्राणघातक रोगसँग लड्दा पनि उनको कामप्रतिको जोस र ऊर्जामा कुनै कमी आएन । शारीरिक रूपमा कमजोर हुँदा पनि उनी फिल्डमा जाने र काम गरिरहने हिम्मत राख्थे । उनको यो निडरता र उच्च मनोबलले हामीलाई जीवनमा जस्तोसुकै चुनौती आए पनि हार मान्नु हुँदैन भन्ने प्रेरणा दिन्छ ।