Butwal Today

गुल्मीको दुर्गम बस्तीमै पुगेर परिचयपत्र वितरण र आवेदन सङ्कलन

७ आश्विन २०८२, मंगलवार
अ+
अ-

गुल्मी,७ असोज ।

गुल्मीको सदरमुकामदेखि भौगोलिक रुपमा विकट रहेका दुई गाउँपालिकामा गएर परिचयपत्र वितरण र आवेदन सङ्कलन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार भौगोलिक रुपमा विकट भएका पालिकाहरुलाई पहिलो प्राथमिकता दिएर पालिकासँगको समन्वयमा गाउँमै गएर सेवा प्रवाह गरिएको बताए ।

जिल्लाको सबैभन्दा विकट मदाने गाउँपालिकामा भदौ १८ गतेदेखि २७ गतेसम्म २८४ जनाको परिचयपत्र वितरण र १८९ जनाको आवेदन संकलन गरिएको गैरेले बताए । यसका साथै भदौ ३० गते देखी असोज ४ गतेसम्म कालीगण्डकी गाउँपालिकामा २७४ जनाको परिचयपत्र वितरण र १४५ जनाको आवेदन संकलन गरिएको छ । पालिकाको समन्वयमा सवै वडाहरुमा गएर परिचयपत्र वितरण गर्ने र आवेदन संकलन गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

भौगोलिक रुपमा विकट रहेका गाउँपालिकाहरुबाट जिल्ला प्रशासनमा आउँदा यातायातलगायतका धेरै समस्याहरु हुने र ज्येष्ठ नागरिकहरुलाई झनै समस्या हुने भएकाले विकटलाई प्राथमिकता दिएको गैरेको भनाइ छ । यसका साथै जिल्लाका अन्य पालिकाहरुलाई पनि प्राथमिकता दिदैँ वडा स्तरमै गएर सेवा प्रवाह गर्ने योजना रहेको उनले बताए ।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले पालिका स्तरमै आएर सेवा प्रवाह गर्दा ज्येष्ठ नागरिकहरुहरुसहित अन्य नागरिकहरुलाई सहज हुनुका साथै समय र पैसा दुवैको बचत भएको बताएका छन् ।