© २०२३
भैरहवा, ७ असोज ।
दसैँको अवसरमा भैरहवामा डाण्डिया साँझ तथा रात्रि भगवती जागरण हुने भएको छ । श्री श्री सार्वजनिक दुर्गा पूजा समिति, अखाडा नम्बर २, मैत्रीपथको आयोजनामा असोज १४ गते डाण्डिया साँझ र असोज १५ गते भगवती जागरण हुने भएको हो ।
मङ्गलवार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष रवि कुमार जयसवालले अखाडा नम्बर २ बाट निरन्तर जागरण कार्यक्रम हुँदै गएको र गत वर्ष देखि डाण्डियाको पनि आयोजना गर्न लागेको बताए । उनले १४ गते हुने डाण्डियामा १ हजार बढिले सहभागिता जनाउने अपेक्षा रहेको बताए । १५ गते हुने रात्रि जागरणमा भारतका प्रसिद्ध कलाकार प्रमोद चल्चलको समूह लगायत दिल्लीको झाकी समूहले प्रस्तुति गर्ने उनले जानकारी दिए । यस बाहेक स्थानीय कलाकारहरूको पनि सहभागिता रहने जयसवालले बताएका छन् ।
डाण्डिया कार्यक्रममा सुरक्षाको सम्पूर्ण व्यवस्था मिलाइएको कार्यक्रम संयोजक तथा समितिका उपाध्यक्ष दिपेश गुप्ताले जानकारी दिए । उनले जिल्ला प्रशासन कार्यालयको समन्वयमा सुरक्षा व्यवस्था मिलाउनुको साथै सम्पूर्ण कार्यक्रम स्थलमा स्वयंसेवक र सिसिटिभीको व्यवस्था गरिएको गुप्ताले स्पष्ट पारे । उनले डाण्डिया कार्यक्रममा सभ्य पोसाक लाएर आउनेलाई मात्र सहभागी गराउने उल्लेख गरे ।
१४ गते र १५ गते हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको समितिको सचिव विशाल श्रीवास्तवले बताए । उनका अनुसार नवमीको दिनमा बिहान ३ बजे सम्म हुने जागरण कार्यक्रममा उपस्थित हुने सबै श्रद्दालुहरुको लागि प्रसादको व्यवस्था गरिएको छ । उनले कार्यक्रम गर्न करिब ७ लाख खर्च हुने र उक्त रकम स्थानीय दाता तथा प्रायोजकहरूबाट प्राप्त हुने जानकारी दिए ।
कार्यक्रममा बोल्दै समितिका सल्लाहकार दिपक कौशल, किरन देवी सुनारले यस्ता कार्यक्रमले परम्पराको रक्षा मात्र नभई स्थानीय व्यवसाय उकास्न सहयोग पुर्याइरहेको स्पष्ट पारेका छन् । अखाडा नम्बर २ ले विगत २३ वर्ष देखि यो कार्यक्रमलाई निरन्तरता दिएर स्थानीय बजार चलायमान बनाउने हुँदा भैरहवा र यस आसपास रहेका श्रद्धालुहरुलाइ कार्यक्रममा भाग लिन आग्रह समेत गरे ।