Butwal Today

गुल्मीमा यात्रु सहायता कक्ष स्थापना

६ आश्विन २०८२, सोमबार
अ+
अ-

गुल्मी, ६ असोज ।

गुल्मीमा दसैँ तिहार जस्ता चाडपर्वलाई लक्षित गर्दै यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार सदरमुकामा तम्घासको बसपार्क,उदिनढुङगा र देउरालीमा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । यसका साथै रुरुक्षेत्रको रिडी, मदाने गाउँपालिकाको पुर्कोटदह, मालिका गाउँपालिकाको सिमलटारी, धुर्कोट गाउँपालिकाको बरबोट, चन्द्रकोट गाउँपालिकाको शान्तीपुर, सत्यवती गाउँपालिकको जोहाङ र मुसिकोट नगरपालिकको वामीमा नागरिक तथा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

सोमबार दिउँसो तम्घासको बसपार्कमा एक कार्यक्रमकाबिच यात्रु सहायता कक्षको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले उद्घाटन गरेका हुन ।

चाड पर्वका बेला हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण, लागुऔषध नियन्त्रण तथा सवारी साधनको अस्वस्थ प्रतिस्प्रर्धालाई रोक्नुका साथै सरल र सहज यात्राका लागि पनि नागरिक सहायता कक्षवाट काम हुने जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यस अवधिमा बढी दुर्घटना हुन सक्ने भएका कारण सवारी चेक जाँच, ओभर लोड र मापासेलाई कडाइका साथ लैजाने जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।