© २०२३
गुल्मी ६ असोज ।
१२ वर्षमा बगेको खोला पनि फर्किन्छ भन्ने नेपाली उखान कायमै छ । तर गुल्मीमा भने तीन वर्षमा बन्नुपर्ने पुल १३ वर्ष बित्दासमेत बन्न सकेको छैन ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका १ को पुल क्याम्प र स्याङ्जाको काली गण्डकी गाउँपालिका १ चण्डी भन्ज्याङ जोडने गरी काली गण्डकी नदीमा तीन वर्षमा बन्नुपर्ने पुल १३ वर्ष बित्दासमेत अझै बन्न सकेको छैन ।
२०६९ साल असार २५ गते सडक डिभिजन कार्यालय पाल्पा र स्वच्छन्द निर्माण सेवा प्रा ली काठमाडौँबिच २० करोड ५३ लाख ८६ हजार ५५३ रुपियाँको लागतमा २०७२ साल असार २४ गते सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।
उक्त मोटरेवल पुल ६ मिटर चौडाइ र १५० मिटर लम्बाइको रहने र स्टिल ट्रसको निर्माण हुने सम्झौतामा उल्लेख गरिएको छ ।
सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी इन्जिनियर दुर्गा गौतमका अनुसार उक्त स्थानमा बन्ने पुलको फाउन्डेसनमा ठुलो चट्टान भएकाले निर्माणमा समय लागेको बताए ।
पछि वेयल फाउन्डेसनको डिजाइनलाई परिवर्तन गरी पायल फाउन्डेसन बनाइएको र अहिले उक्त पुलको ५० प्रतिशत भौतिक प्रगति भएको छ भने ४६ दशमलव ७० प्रतिशत वित्तीय प्रगति भएको गौतमले बताएका छन् ।
विभिन्न समयमा पाँच पटकसम्म म्याद थप गरिएको र पछिल्लो समय थपिएको म्याद २०८३ जेठ २५ गते सम्म सम्पन्न गर्नुपर्नेछ । गौतमका अनुसार यस आर्थिक वर्षमा निर्माणको काम सम्पन्न हुनेमा कार्यालय ढुक्क भएको गौतमले बताए ।
यता निर्माण व्यवसायीका इन्जिनियर अजय लामिछानेका अनुसार २०७२ सालमै डिजाइन परिवर्तन गर्नका लागि कार्यालयलाई आग्रह गर्दा पनि कार्यालयले ढिला गरिदिएका कारण समस्या भएको बताएका छन् ।
२०७२ सालमा आग्रह गरेको भए पनि २०८० सालमा डिजाइन (वलयेबाट पायल फाउन्डेसन) परिवर्तन भएर आएको उनले बताए । अहिले ट्रस निर्माणको काम भइरहेकाले तोकिएको समय अवधिमै काम सम्पन्न गरी हस्तान्तरण गर्ने उनको भनाइ छ ।