© २०२३
भैरहवा, ६ असोज ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीले यस वर्ष पनि ‘दसैँ सस्तो बजार-२०८२’ आयोजना गर्ने भएको छ। असोज ८ गतेदेखि १२ गते सम्म सङ्घको परिसरमा सुरु हुने यो पाँच दिने बजारले उपभोक्ताहरूलाई सस्तो, सुलभ र गुणस्तरीय सामानहरू एकै ठाउँमा उपलब्ध गराउने लक्ष्य राखेको छ ।
सोमबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी सङ्घले आम उपभोक्तालाई सस्तो सामान उपलब्ध गराउनका लागि निःशुल्क स्टल उपलब्ध गराउने बताएको छ । बजारमा दैनिक उपभोग्य खाद्यान्न, लत्ताकपडा, जुत्ता-चप्पल, घरेलु उत्पादन लगायतका १४ वटा स्टल रहनेछन् ।
यो बजारले स्वदेशी तथा स्थानीय उत्पादनको प्रयोगलाई पनि बढवा दिने अपेक्षा गरिएको सङ्घका अध्यक्ष नेत्र प्रसाद शर्माले बताए ।
आचार्यका अनुसार, यस बजारको मुख्य उद्देश्य उपभोक्तालाई उचित मूल्यबारे सचेत गराउनु र चाडपर्वको समयमा स्थानीय बजारलाई सक्रिय बनाउनु हो । आयोजकले करिब रु. ५० देखि ६० लाखसम्मको कारोबार हुने अनुमान गरेको छ ।
बजारमा आउने उपभोक्ताको सहजता र सुरक्षाका लागि सिसिटिभी क्यामेरा र खानेपानीको व्यवस्था गरिनेछ ।
यो बजारलाई सफल बनाउन उद्योगी, व्यवसायी, उपभोक्ता, सरोकारवाला निकाय र सञ्चारकर्मी सबैको सहयोग र सहभागिताका लागि सङ्घले अनुरोध गरेको छ ।
२०११ सालमा स्थापना भएको सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीले स्थापना काल देखि नै यस क्षेत्रको आर्थिक विकास तथा व्यावसायिक प्रवर्द्धनमा निरन्तर क्रियाशील रहँदै आएको सङ्घका पूर्व अध्यक्ष कुल प्रसाद न्यौपानेले बताए ।
सङ्घले भैरहवामा पहिलो पटक वि.सं. २०५८ सालमा दसैँ र तिहार बजार, दोस्रो पटक २०५९ सालमा दसैँ बजार, तेस्रो पटक २०७९ सालमा दसैँ बजार र चौथो पटक २०८० सालमा दसैँ बजार सफलतापूर्वक सम्पन्न गरिसकेको छ यस परम्परालाई निरन्तरता दिँदै, यस वर्ष पनि सङ्घ परिसरमा दसैँ बजार-२०८२ आयोजना गर्न लागिएको सङ्घका महासचिव कृष्ण प्रसाद घिमिरे महासचिवले बताए ।