© २०२३
अर्घाखाँची, ३० भदौ ।
अर्घाखाँचीकी दीपा आचार्य अहिले खरानीको थुप्रोमा उभिएकी छिन् । सन्धिखर्क नगरपालिका वडा नं. १ हटारीनेटामा रहेको उनको घर अहिले खरानी भएको छ । यति बेला उनको मन भतभती पोलिरहेको छ । आँखा ओभाएका छैनन् ।
उनी भन्छिन् भदौ २३ र २४ गते पछि राम्रोसँग निद्रा पनि परेको छैन । अरूका अगाडि हाँस्न खोज्छु, सबै ठिक छ भनेर बताउन कोसिस गर्छु तर, मनलाई भने सम्हाल्न सक्दिनँ, उनले भनिन् ।
यो मेरो घरले कसको के नै बिगारेको थियो र ? हामीले के नै गरेका थियौँ र यो निर्जीव घर माथि रिस साध्नुपर्ने । यस्तै प्रश्नहरू मनमा खेल्छन् । घर जलेका तस्बिर देखेँ । भिडियो हेरेँ ।
आफैले कखरा चिनाएका विद्यार्थी देख्छु, चिनेकै अनुहार भेट्छु । अनि ती कुराले झनैं पिरोल्छ । हामीले कस्तो समाज बनाउन खोज्यौँ, अहिले कस्तो हुन पुग्यो ?
सामान्य परिवार हो हाम्रो । २०४८ सालमा यहाँ जग्गा किन्यौँ । एउटा पुरानो घर थियो । त्यसलाई बेचेँ र खाइ नखाई २८ वर्ष जागिर गरेर खाजा–नास्ताको पैसा बचाएर बनाएको घर हो । बैङ्कको ऋण र सहकारीबाट पनि कर्जा लिएर घर बास बनायौँ । आज यो घर यस्तो भएको छ ।
हाम्रो रगत–पसिनाले बनाएको बास थियो । उनी हुन् लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यकी श्रीमती ।
उनी भन्छिन् श्रीमान् राजनीतिक काममा पूर्णकालीन रूपमा लाग्नुहुन्थ्यो ।
जहिले पनि पार्टीले अप्ठ्यारो ठाउँमा खटाउँथ्यो । त्यति बेला प्रदीप ज्ञवाली हुनुहुन्थ्यो, उहाँले कठिन ठाउँमा काम गर्नेमा विश्वास राख्नुहुन्थ्यो । मेरो विवाह २०४७ सालमा भयो । विवाहपछि पनि उहाँ पार्टीको काममा खटिनुहुन्थ्यो ।
समाज परिवर्तनका लागि हामीले अहोरात्र खट्यौँ । म पनि सङ्गठित भएँ र २०४७ सालदेखि सक्रिय रहेँ । मेरो श्रीमान् क्यान्सरबाट पीडित हुनुभयो । मृत्युको मुखमा पुगेका उहाँ उपचारपछि निको भएको हो । तर पनि राजनीति गर्न छोड्नु भएन । हामीले सधैँ समाजका लागि असल काम गरेका छौँ ।
श्रीमानले २१ वर्षदेखि राजनीति गरेर समाज सुधारमा ध्यान दिनुभयो । अहिले मुख्यमन्त्री भएपछि पनि धेरै सामाजिक काम गर्नुभएको छ । यस सरकारमा हुँदा पूर्व भिआइपी सुविधा कटौती गर्ने काम उहाँले नै थाल्नुभयो ।
साथै, होटेलमा कार्यक्रम नगर्ने र सार्वजनिक स्थल वा कार्यालयको हलमा कार्यक्रम गर्ने नियम लागू गर्नुभएको थियो । त्यसैको फल अहिले घर खरानी भएको छ । यो जस्तो तितो अरू के हुन सक्छ आचार्यकी श्रीमती दिपाको प्रश्न छ ।
उनी भन्छिन् श्रीमानले मुख्यमन्त्री भएदेखि हामीले कतै होटेलमा एक छाक पनि खाएका छैनौँ र नयाँ लुगा पनि फेरेका छैनौँ । अहिले पनि मैले आफैले तरकारी उत्पादन गर्ने काम गर्दै आइरहेकी छु । कसैलाई लगाएको छैन ।
दाङमा बाँझो परेको जमिन जोतेर आफैँ तरकारी उत्पादन गरी मेहनत गरेर बनाएको हो । हामीले कहिकतै एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित गर्नुस्, हामी फाँसी चढ्न तयार छौँ । यो प्रमाणित गर्न नसके आगो लगाउनेहरू तयार हुने की नहुने ?
मैले प्रण गरेका छु– मुख्यमन्त्री पद रहुन्जेल नयाँ साडी किन्दिन । हामीले त्याग गर्ने मान्यता राखेका छौँ र छोराछोरीलाई पनि त्यही संस्कार सिकाएका छौँ । अहिले यो समाज कता जाँदै छ भन्नेमा मलाई दुःख लागेको छ ।
हामीले कस्तो बच्चा उत्पादन गरिरहेका छौँ भन्ने कुरा समाजको लागि ठुलो चिन्ताको विषय हो । अहिले उक्साउने र विभिन्न स्ट्याटसहरू देखिरहेका छौँ । उफार्नलाई मजा आउँछ, तर पछि त्यसलाई नियन्त्रण गर्न गाह्रो हुन्छ ।
हाम्रो समाज आफैँ लागेन भने समृद्ध समाज सम्भव छैन । रगत–पसिनाले बनाएका यी भवनहरू पुनर्निर्माण गर्नुपर्नेछ । यो घर आज नयाँ बनेको होइन । तर आज यो घर ध्वस्त पारिएको र खरानी बनाइएको छ । यो खरानी बनाउने र उक्साउने महानुभावहरूको गति भविष्यमा हाम्रो जस्तो नहोस् । आज म सडकमा छु ।
अरूको आश्रयमा बस्नुपरेको छ । त्यो स्थिति उहाँहरूलाई नआओस् । आफ्नो बच्चालाई गलत काममा लगायौँ भने त्यो बच्चापछि आफैँका लागि अभिशाप बन्न सक्छ । देशभरि यस्तो दुर्घटना भयो ।
जेन्जीको नाममा घुसपैठ र षडयन्त्रकारी काम भएको छ । घुसपैठको सिकार हामी बन्न पुगेका छौँ । म दाबीका साथ भन्छु– जेन्जीको नाममा गरिएको कलङ्क हो ।