© २०२३
भैरहवा, ३१ भदौ ।
स्थापनाको करिब ५० वर्षपछि भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले आन्तरिकतर्फको आगमन कक्षलाई फरक भवनमा स्थानान्तरण गरी सेवा सुरु गरेको छ ।
यसअघि आगमन र प्रस्थान दुवै सेवा एउटै भवनबाट सञ्चालन हुँदै आएकोमा अब यात्रुको सुविधालाई ध्यानमा राख्दै यो परिवर्तन गरिएको हो ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार, पुरानो व्यवस्थामा यात्रुहरूलाई लिन आउने आफन्तहरूलाई घाम, हावाहुरी र वर्षाबाट जोगिने ठाउँ थिएन ।
तर, अब नयाँ आगमन कक्षमा आगन्तुकका लागि वातानुकूलित (एसी) प्रतीक्षालयको व्यवस्था गरिएको छ, जसले उनीहरूलाई सहजता प्रदान गर्नेछ ।
नयाँ आगमन कक्ष पुरानो भवनको पश्चिमपट्टि रहेको साबिकको कार्गो भवनलाई पुनर्निर्माण गरी तयार पारिएको हो । यससँगै आन्तरिक कार्गो सेवा काउन्टर पनि यही कक्षमा राखिएको छ । यसले गर्दा कार्गो लिन आउने सेवाग्राहीले सुरक्षा जाँचको झन्झटबाट मुक्ति पाएका छन् ।
अहिलेको आगमन कक्ष पर्याप्त यात्रु अट्ने क्षमताको रहेको हुनाले यसले यात्रुलाई थप सहजता दिने विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए ।
विमानस्थल प्रशासनले यात्रु सुविधाका लागि अन्य सुधारका कामहरू पनि अघि बढाएको छ । महाप्रबन्धक तिवारीका अनुसार, ब्यागेज ह्यान्डलिङ सिस्टमको लागि पनि टेन्डर गरिसकिएको छ र करिब छ महिनाभित्र यो प्रणाली पनि आगमन कक्षबाटै सञ्चालनमा आउनेछ ।
आगमन कक्षको सुधारपछि अबको ध्यान प्रस्थान कक्षको स्तरोन्नतिमा केन्द्रित रहेको उनले बताए । हाल १५० जनाको क्षमता रहेको प्रस्थान कक्षलाई स्तरोन्नति गरी ३०० जनाको क्षमताको बनाउने योजना रहेको छ ।
दैनिक औसत २० वटा उडान हुँदै आएको यस विमानस्थलबाट हाल पोखरा र काठमाडौँका लागि मात्र उडान भइरहेका छन् । विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतका अनुसार, गत वर्ष (२०२४) मा करिब ८ लाख आन्तरिक यात्रुहरूले यस विमानस्थलको सेवा लिएका थिए ।
भैरहवा विमानस्थलको इतिहास २०२१ सालमा घाँसे हवाई मैदानबाट सुरु भएको थियो । २०२३ सालमा यसले आन्तरिक विमानस्थलको रूपमा हालको स्थानबाट सेवा दिन थाल्यो ।
२०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गरेका थिए भने करिब ३५ अर्बको लागतमा निर्माण सम्पन्न भएको यस विमानस्थलको २०७९ जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।