© २०२३
अर्घाखाँची, ३० भदाै ।
जेनिज युवाहरूको पर्दशनमा भदाै २४ गते सिंहदरबारमा दनदनी आगलागी भएपछि चिन्तित बनेका अर्घाखाँचीका एक कृषकले हामी बनाउँछौँ, हाम्रो नेपाल भन्दै सहयोग गरेका छन् ।
जिल्लाको सितगंगा नगरपालिका–२ का किसान तुलसीराम अधिकारीले “फेरि यस्तो नहोस्, म बनाउँछु मेरो सिंहदरबार, म बनाउँछु मेरो देश, हामी बनाउँछौँ हाम्रो नेपाल” भन्ने भावनासहित प्रधानमन्त्री दैवी प्रकोप सहयोग कोषमा रु. १ लाख १ सय जम्मा गरेका छन् ।
कृषि कर्मबाट कमाएको आम्दानी यसै कोषमा अर्पण गर्दै अधिकारीले भने, “सिंहदरबार जल्दा मेरो आस्था पनि जलेको जस्तो लाग्यो, अब सबै मिलेर जुरुक्क उठाउनुपर्छ । सबैले सकेको सहयोग गर्नुपर्छ ।”
प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले यस्तो सहयोगप्रति धन्यवाद व्यक्त गर्दै भने – “कृषि आम्दानीबाट आएको यो रकम पुनर्निर्माणमा ठुलो टेवा पुग्नेछ।”रकम जम्मा पश्चात् अधिकारीले भौचर प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका थिए ।
आगलागीका कारण सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन लगाएतका संरचना जलेपछि नेपालीहरू चिन्तित छन् । आन्दोलनका कारण विद्यार्थीहरूका मृत्यु भएसँगै अपराधीलाई कारबाहीकाे माग पनि जिल्ला जिल्लामा उठेको छ ।