© २०२३
भैरहवा, ३० भदौ ।
भैरहवा र आसपासका क्षेत्रमा गएरातिदेखि परेको अविरल वर्षाले जनजीवन प्रभावित भएको छ । लगातारको झरीका कारण सहरका विभिन्न स्थान डुबानमा परेपछि स्थानीय बासिन्दाले आवतजावतमा कठिनाइ भोगिरहेका छन् ।
वडा नम्बर ३ को खजहना, वडा नम्बर ६ को भैया टोल तथा बैंकरोड क्षेत्रमा सडकमा पानी जम्दा पैदल यात्रु र सवारीसाधन दुवैलाई असुविधा भएको छ । स्थानीय बासिन्दाका घर र पसलभित्र समेत पानी पस्दा दैनिकी थप जटिल बनेको छ ।
सहरकै महत्वपूर्ण भीम अस्पताल परिसर पनि डुबानमा परेको छ । यसले गर्दा बिरामी र उनीहरूका आफन्तलाई अस्पतालसम्म पुग्न र भित्र आवतजावत गर्न कठिनाइ भएको छ । यस्तै, हालै सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार र पार्किङ क्षेत्र समेत पानीले भरिँदा यात्रुहरू प्रभावित भएका छन् ।
भारी वर्षासँगै सडक यातायात पनि प्रभावित भएको छ । कुलोहरू नयाँ बनाउनुपर्ने नाममा साँघुरो पारिनु र समयमा सरसफाइ नगर्नु यस समस्याको मुख्य कारण रहेको डुबानपीडित स्थानीय अजय गुप्ताले बताए । उनका अनुसार, यो समस्या वर्षेनी दोहोरिने भएकाले वर्षा सकिएलगत्तै कुलोहरूको सफाइ र व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएको छ ।