© २०२३
गुल्मी, २९ भदौ ।
सदरमुकाम तम्घासको चिदीचौर खेलमैदान व्यवस्थित गर्ने नाममा खाल्टा पारेर छाडिएको छ । चिदीचौरलाई थप व्यवस्थित गर्नका लागि बनाइएको योजनामा खाल्टा बनाएर छाड्ने र निर्माणका सामग्री यसै छाड्दा दुर्घटनाको जोखिम बढ्दै गएको हो ।
यसका साथै चिदीचौरको खाल्टामा पानी जम्मा हुने र बालबालिकाहरू यसैमा खेल्न रमाउने भएकाले थप जोखिम बढेको हो ।
चिदिचौर खेलमैदानमा हुँदै आएका नियमित खेलकुद र अन्य कार्यक्रमहरू पनि हुन सकेका छैनन् ।
जसका कारण हरितालिका तीजमा जिल्ला प्रहरी कार्यालय गुल्मीको गेट अगाडि र अस्पताल जाने सडकमा कार्यक्रम भएको थियो । नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले उक्त स्थानमा के हुँदै छ भनेर आम नागरिकलाई जानकारी दिनका लागि सूचना पाटी पनि नराखिनु र दुर्घटना निम्त्याउने गरी खाडल खनेर छाड्नु दुःखद पक्ष भएको टिप्पणी गरे ।
समयमै काम नगर्नु र सरोकारवालाहरूको उदासीनताले थप दुर्घटना निम्त्याउन सक्ने भएकाले समयमै व्यवस्थापन गर्न लाग्नुपर्नेमा उनले जोड दिए ।

रेसुङ्गा नगरपालिकाका योजना अधिकृत विनोद मरासिनीका अनुसार यस चौरको एक भागमा पानी उम्रिने भएकाले यसलाई अन्डरग्राउन्ड गरि व्यवस्थापन गर्ने कार्य अगाडि बढाइएको बताए ।
जमिनमुनिबाट पाइप लगाएर व्यवस्थापन गर्ने र बाहिरबाट मलिलो माटो ल्याई दुवो लगाउने कार्य हुने भएकाले नगरपालिकाको समन्वय मात्रै रहने उनको भनाइ छ । सबै कार्य सामाजिक विकास डिभिजन कार्यालय पाल्पाबाट हुने भएकाले आफूहरूले सहजीकरण मात्रै गर्दै आएको उनले बताए ।
सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका इन्जिनियर अञ्जली थापाका अनुसार बहु वर्षे ठेक्का अन्तर्गत एक करोडको लगानीमा रामेछाप कन्स्ट्रक्सन काठमाडौँले काम गरिरहेको बताइन् । अहिले उक्त स्थानमा निर्माण व्यवसायीले निर्माण सामग्रीहरू ल्याइसकेको र वर्षा रोकिएपछि कामले गति लिने उनको भनाइ छ ।
यता निर्माण व्यवसायी लीलाबहादुर बस्नेतले वर्षाका कारण नदीजन्य पदार्थको ठेक्का नलागेका कारण कामले गति लिन नसकेको बताए । खाल्टा पारेर छाड्दा दुर्घटनाको जोखिम बढाउनु भो नि भन्ने जिज्ञासामा उनले आफूहरूको नियत त्यस्तो नभएको बताउँदै सकारात्मक रूपमा लिन आग्रह गरे ।
नदीजन्य पदार्थको ठेक्का लागे लगत्तै कामले गति लिने उनको दाबी छ । २०८२ वैशाख अन्तिम हप्ता सामाजिक विकास डिभिजन कार्यालय पाल्पा र निर्माण व्यवसायीबिचको सम्झौता अनुसार २०८३ जेठ मसान्तसम्म कार्य सम्पन्न गर्नुपर्ने उल्लेख गरिएको छ ।