Butwal Today

भैरहवामा शान्ति र सद्भाव र्‍याली सम्पन्न

२७ भाद्र २०८२, शुक्रबार
अ+
अ-

भैरहवा, २७ भदौ ।

देशमा शान्ति र सद्भाव कायम गर्ने उद्देश्यका साथ भैरहवामा एक शान्ति र सद्भाव र्‍याली सम्पन्न भएको छ । लुम्बिनी प्रेस क्लबको संयोजनमा र भैरहवाका विभिन्न संघसंस्थाहरूको आयोजनामा सम्पन्न भएको यस र्‍यालीले देशमा भइरहेको जेनजी आन्दोलनपछि शान्ति कायम गर्न भैरहवाबाट आह्वान गरेको छ ।

बेलहियास्थित नेपाल–भारत सिमानाबाट सुरु भएको र्‍याली बुद्धचोकमा पुगेर समापन भएको थियो । यस कार्यक्रममा विभिन्न वक्ताहरूले शान्तिको महत्त्व र सद्भाव कायम राख्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

कार्यक्रममा जेनजी पुस्ताका सागर ज्ञवालीले बोल्दै देश नयाँ पुस्ता र व्यवस्थामा गई सकेकोले आन्दोलन र तोडफोडको स्थानमा नयाँ नेपाल बनाउन तर्फ लाग्नुपर्ने बताए । उनले अहिले बजार चलायमान बनाउन शान्ति अपरिहार्य रहेकोले शान्तिपूर्वक बजार सञ्चालन बनाउनुपर्ने बताए । उनले जेनजीले भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्नको लागि आन्दोलन गरिएको र आन्दोलनमा घुसपैठ भएको कारण नराम्रो अवस्था आएको जिकिर गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले युवा पुस्ताले गरेको आन्दोलन जायज रहेको बताउँदै आन्दोलनले नराम्रो परिघटनाहरू सिर्जना गरेको कारण देशै नरहने स्थिति सम्म ल्याएको जिकिर गरे । यस्तो अवस्थामा युवाहरूको जायज मागलाई पुरा गर्दै देशमा शान्ति सद्भाव कायम होस भन्ने उद्देश्यले र्‍यालीको आयोजना गरिएको उनले बताए । देशैभरि सद्भाव कायम गर्न भैरहवाबाट सन्देश दिने उद्देश्य रहेको बताउँदै उनले र्‍यालीलाई जेनजीहरुले नै यसको अगुवाइ गर्न लगाइएको जानकारी दिए ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमला रायमाझीले देशको विकास र समृद्धिका लागि शान्ति अपरिहार्य रहेको र सबैले मिलेर सद्भावको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले जेनजी आन्दोलनले उठाएका मुद्दाहरूलाई शान्तिपूर्ण तरिकाले सम्बोधन गर्नुपर्नेमा पनि जोड दिँदै शान्तिको कामनासँगै र्‍यालीको आयोजना गरिएको बताए ।

र्‍यालीमा लुम्बिनी प्रेस क्लब, उद्योग बाणिज्य महासङ्घ लुम्बिनी प्रदेश, सिद्धार्थ उद्योग बाणिज्य सङ्घ, रुपन्देही, चेम्बर अफ कमर्श रुपन्देही, सिद्धार्थ सञ्जाल रुपन्देही, सिद्धार्थ सार्वजनिक यातायात प्राली, नेपाल भन्सार एजेण्ट सङ्घ, रुपन्देही, सिद्धार्थ होटेल सङ्घ, भैरहवा मर्निङ्ग वाक ग्रुप, होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ, रुपन्देही, पश्चिमाञ्चल यातायात प्राली लगायतका संस्थाहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?