© २०२३
भैरहवा, २७ भदौ ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीले बन्द गरिएका उद्योग व्यवसाय सञ्चालन गर्न अपिल गरेको छ । शुक्रबार सङ्घका अध्यक्ष नेत्र प्रसाद आचार्यले एक विज्ञप्ति जारी गर्दै उद्योगी तथा व्यवसायीलाई आ–आफ्नो उद्योग व्यवसाय सञ्चालन गर्न आग्रह गरेका छन् ।
नेपालकै ठुला चाँडपर्वहरु नजिकिँदै गएको अवस्थामा बजार चलायमान नभए उपभोक्ता मारमा पर्ने र आर्थिक सङ्कट पनि निम्तिन सक्ने भएकोले बजार खोल्नुको विकल्प नभएको व्यवसायीको भनाई छ ।
विज्ञप्तिमा देशमा पछिल्लो समय जेन–जी पुस्ताले चलाएको आन्दोलनका क्रममा भएको तोडफोड तथा लुटपाटको घटनाप्रति गहिरो दुःख व्यक्त गरिएको छ ।
सङ्घले हार्दिक अपिल जारी गर्दै आन्दोलनलाई शान्तिपूर्ण बनाउन र निजी तथा सार्वजनिक सम्पत्तिको रक्षा गर्न सबैलाई आग्रह गरेको छ । विज्ञप्तिमा देशमा लामो समयदेखि थुप्रिएका कुरीति, विसङ्गति र भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले गरेको अहिंसात्मक प्रदर्शनको प्रशंसा गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “तपाईँहरूको पवित्र आन्दोलनले सकारात्मक बाटो लिएको बेला केही अवाञ्छित तत्त्वहरूले आफ्ना स्वार्थ पूरा गर्न आन्दोलनलाई बदनाम गरिरहेका छन् ।” सङ्घले आन्दोलनको नाममा भएका तोडफोड, लुटपाट र हिंसात्मक गतिविधि तत्काल रोक्न पनि जोडदार माग गरेको छ ।
यस विषम परिस्थितिमा कसैले पनि व्यक्तिगत, सार्वजनिक सम्पत्ति, भौतिक संरचना वा व्यक्तिमाथि आक्रमण नगर्न र त्यस्ता गतिविधि तत्काल बन्द गर्न सङ्घले सबैलाई अपिल गरेको छ ।
साथै, नेपाली सेनाको नेतृत्वमा खटिएको सुरक्षा फौजलाई पनि यस्ता घटनाको सूक्ष्म निगरानी गरी थप कुनै पनि अप्रिय घटना हुन नदिन अनुरोध गरेको छ ।
शुक्रबार बिहान मात्रै लुम्बिनी प्रेस क्लबको संयोजनमा भैरहवामा क्रियाशील विभिन्न व्यपारीक सङ्घ संस्थाहरूले शान्ति सद्भाव ¥यालीको आयोजना गरेका थिए । यसले पनि रुपन्देहीमा शान्ति सुव्यवस्था कायम रहेको सन्देश दिएको व्यवसायीहरूको ठम्याई रहेको छ ।
अहिले दिउसोमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कर्फ्यु पनि हटाएको छ । राती १० बजे सम्म निषेधाज्ञा र राती १० पछि बिहान ६ बजे सम्म कर्फ्यु जारी रहेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले विज्ञप्ति जारी गरि जनाएको छ ।