© २०२३
भैरहवा, २७ भदौ ।
भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट भए पनि नेपालका लागि अत्यावश्यक सामाग्रीहरू भित्र्याउन सुरु गरेको छ । जिल्ला सुरक्षा समितिले बिहीबार निर्णय गरेर अत्यावश्यक सामाग्री भित्र्याउने भनेकोले भन्सारबाट ग्यास, डिजेल, पेट्रोल, औषधी, हरियो तरकारी लगायतका समान भित्रिएका छन् ।
भैरहवा भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेले भैरहवा भन्सार कार्यालयलाई आंशिक रूपमा सञ्चालन गरिएको जनाएका छन् । उनले भैरहवा भन्सार कार्यालय पनि आगजनीको चपेटामा परि ध्वस्त भएको र विद्युत् सेवा अवरुद्ध भएको बताउँदै यसको लागि नेपाल विद्युत् प्राधिकरणको सहयोगमा यसलाई सुचारु गरिएको जानकारी दिए । हाललाई सामान्य काउन्टर बनाई अत्यावश्यक वस्तुहरू ग्यास, डिजेल, पेट्रोल, औषधी, हरियो तरकारी लगायतका वस्तुहरूको जाँचपास सुरु गरिएको उनले बताए ।
उनले भैरहवाको भन्सार कार्यालयको यात्रु शाखा, राष्ट्रिय बाणिज्य बैङ्क लगायत ध्वस्त भए पनि काम सुरु गरिएको बताए । बिहीबार ४ वटा ग्यास बोकेका बुलेट र २१ वटा फलफूल, तरकारी, खाद्यान्न बोकेका २१ वटा गाडी छोडिएको बताए ।
यसै गरि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले ढुक्क भएर व्यापार व्यवसाय सञ्चालन गर्न आव्हान गरेका छन् । शुक्रवार बिहान भैरहवामा निकालिएको शान्ति सद्भाव ¥यालीमा बोल्दै उनले मर्यादित र सुरक्षित ढङ्गले अगाडी बढाउन आग्रह गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले आगजनी, लुटपाट र तोडफोडको घटनामा संलग्न भएकालाई कारबाही अगाडी बढाइएको बताए । यस्ता व्यक्तिहरूको भिडियो फुटेज, फोटो लिएको र अब क्रमशः यस्तालाई कारबाही गरिने उनको भनाई छ ।
यस्तै अब सडकमा आई अराजक गतिविधि निम्त्याउनेलाई बल प्रयोग गरिने बताउँदै यस्ताको तत्काल भिडियो लगायतका प्रमाण लिई क्रमशः कारबाही गर्दै लैजाने जिकिर गरे ।