Butwal Today

३ दिन हुँदा पनि छैन क्षतिको यकिन जानकारी

२६ भाद्र २०८२, बिहीबार
अ+
अ-

भैरहवा, २६ भदौ ।

जेनजी आन्दोलनको क्रममा रुपन्देही जिल्लामा भएको क्षतिबारे अझै सम्म यकिन विवरण आएको छैन । आन्दोलनको क्रममा जिल्लामा सरकारी कार्यालय, जनप्रतिनिधिका घर, व्यापारिक प्रतिष्ठा, बैङ्क तथा वित्तीय संस्थामा क्षतिको साथै लुटपाट समेत भए पनि अहिले सम्म क्षति सङ्कलनको कार्य नै सुरु गर्न सकिएको छैन ।

आन्दोलनको क्रममा भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, नेपाली काँग्रेसका पार्टी कार्यालय, रुपन्देही जिल्ला अदालत, जिल्ला सरकारी वकिलको कार्यालय, रुपन्देही जिल्ला अदालत, जिल्ला ट्राफिक कार्यालय, भैरहवा भन्सार कार्यालय, आन्तरिक राजस्व कार्यालय, नेपाल विद्युत् प्राधिकरण, सिद्धार्थनगर नगर पालिकाका प्रमुख ईस्तियाक अहमद खाँन, उप प्रमुख उमा अधिकारी, प्रदेशका खेलकुद मन्त्री सन्तोष पाण्डे, सांसद सर्वेन्द्रनाथ शुक्ल लगायतको घरमा आगजनी गरि ध्वस्त बनाई दिएका छन् ।

यसै गरि भाटभटेनीको भैरहवा शाखा, होटल मौर्या, रेडसन होटल लगायतमा ढुङ्गा मुढा गरि लुटपाट गरिएको छ ।  भैरहवा मात्र हैन रुपन्देही जिल्लाकै बुटवलमा रहेका सरकारी कार्यालय र व्यपारीक प्रतिष्ठानहरू आगजनीको साथै लुटपाट गरिएको छ ।

तर आन्दोलनको क्रममा जिल्लाभरि लुटपाट, आगजनी, तोडफोड भएको कार्यालय एवम् अन्य भौतिक संरचनाहरूको न विवरण सङ्कलन गरिएको छ न त उनीहरूको के कति रकम बराबरको क्षति भयो भन्ने अनुमान नै लगाउन सकिएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले हाल तत्काल विवरण सङ्कलन गर्ने वातावरण नभएको बताए । “अहिले बाहिर सुरक्षा नै हाम्रो मुख्य प्राथमिकतामा रहेको छ, यस बाहेक जनजीवनलाई कसरी सामान्य बनाउने कुरा नै मुख्य हो ।” पाण्डेले भने “रुपन्देही जिल्लामा धेरै क्षति भएको छैन, केही समयमा नै हामी यसको सङ्कलन र रिपोर्टिङमा लाग्ने छौँ ।”

आगजनीबाट सरकारी कार्यालयका फर्निचर, विद्युतीय उपकरण मात्र नभई महत्त्वपूर्ण तथ्याङ्कहरू पनि पूर्ण रूपमा जलेर नष्ट भएका छन् । भौतिक संरचनामा दीर्घकालीन असर पर्ने गरि क्षति भएको छ ।

आन्दोलनको क्रममा रुपन्देही जिल्लामा कुनै पनि मानवीय क्षति भने नभएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए ।

भन्सार आंशिक रूपमा खुल्ला 
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले भैरहवा भन्सार कार्यालयलाई आंशिक रूपमा सञ्चालन गरिएको जनाउनुभएको छ । उहाँले भैरहवा भन्सार कार्यालय पनि आगजनीको चपेटामा परि ध्वस्त भएको

र विद्युत् सेवा अवरुद्ध भएको बताउँदै यसको लागि नेपाल विद्युत् प्राधिकरणको सहयोगमा यसलाई सुचारु गरिएको जानकारी दिए । हाललाई सामान्य काउन्टर बनाई अत्यावश्यक वस्तुहरू ग्यास, डिजेल, पेट्रोल, औषधी, हरियो तरकारी लगायतका वस्तुहरूको जाँच पास सुरु गरिएको उनले बताए ।

कर्फ्यु निरन्तर, सेना सडकमा 
जेनजी आन्दोलनको चौथो दिन पनि रुपन्देही जिल्ला भरि कर्फ्यु निरन्तर रहेको छ । भैरहवा लगायत आसपासका क्षेत्रमा सेनाले गस्ती गरिरहेको छ । भैरहवाको बुद्ध चोक, देवकोटा चोक, मिलनचोक, बेलहिया लगायतका क्षेत्रमा सेनाले अनावश्यक रूपमा हिड्डुल गर्नेलाई फिर्ता पठाइरहेको थियो ।

जिल्ला सुरक्षा समितिका संयोजक समेत रहेका रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले अहिलेलाई साँझ ७ बजे सम्म मात्र कर्फ्यु लगाएको र त्यसपछि अवस्था हेरेर त्यसलाई हटाउने वा स्वरूप परिवर्तन गरिने निर्णय हुने जानकारी दिए ।
आन्दोलनको चौथो दिन भैरहवा दिनभरि शान्त र स्थिर रह्यो । दिनभरि जिल्लाभरि कुनै प्रकारको अप्रिय घटना नभएको पाण्डेले जानकारी दिए ।