© 2026
काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेलबाट रिहा भएसँगै देशका प्रमुख राजनीतिक दलका नेताहरूलाई “लुटेरा” को संज्ञा दिँदै तिनको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने माग गरेका छन् ।
आन्दोलनमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले भने, “यस देशका लुटेराहरूले सजाय पाउने क्रम सुरु भइसकेको छ । उनीहरूले तीन पुस्तासम्म लुटेर जोडेको सम्पत्ति व्यक्तिगत होइन, देशकै हो । बाँकी सम्पत्ति पनि पूर्ण रूपमा राष्ट्रियकरण गरिनुपर्छ र तिनीहरूलाई कानुनी दायरामा ल्याइनुपर्छ ।”
लामिछानेले संयमताका साथ राष्ट्रका सम्पत्ति जोगाउन जरुरी रहेको उल्लेख गर्दै सुरक्षा निकाय, प्रहरी, न्यायालय तथा अन्य दस्तावेजहरूको संरक्षणमा विशेष ध्यान दिन आग्रह गरे । “यी संरचनाहरू राष्ट्रका संवेदनशील सम्पत्ति हुन् । यिनको नाश मुलुकका लागि गम्भीर क्षति हुन सक्छ,” उनले भने ।
उनले हाल भइरहेको जनआन्दोलनलाई “जेनजीको आन्दोलन” भन्दै अबको नेतृत्व जेनजीका माग र परिकल्पनाअनुसार अघि बढ्नुपर्ने धारणा राखेका छन् । “म स्पष्ट रूपमा नागरिक सर्वोच्चताको पक्षमा उभिएको छु,” लामिछानेले जनाए ।
आफ्नो रिहाइ कानुनी प्रक्रिया पूरा गरेर मात्रै भएको भन्दै उनले भने, “सर्वसाधारणको दबाबपछि सरकारले कानुनी प्रक्रिया पुरा गरी पत्र थमाएपछि मात्रै म रिहा भएको हुँ । यद्यपि, म कानुनप्रति बफादार रही भविष्यमा आवश्यक सम्पूर्ण कानुनी प्रक्रियाका लागि तयार छु ।”
लामिछानेले सबै नागरिकलाई संयमताका साथ अघि बढ्न अपिल गर्दै भने, “अब अत्यन्त संयमित भई राष्ट्रका सम्पत्ति जोगाउनु आवश्यक छ । सरकारी सम्पत्तिको क्षति भनेको राष्ट्रकै क्षति हो। यसको संरक्षण गर्नु हामी सबैको जिम्मेवारी हो ।”
उनको यो अपिल उनकी पत्नी निकिता पौडेलको फेसबुकमार्फत सार्वजनिक गरिएको हो ।