© २०२३
भैरहवा, २३ भदौ ।
रुपन्देहीको भैरहवा स्थित नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालयमा अज्ञात समूहले आक्रमण गरेको छ । सोमबार भएको आक्रमणबाट पार्टी कार्यालयको भवन र परिसरमा रहेका सवारीसाधनमा व्यापक क्षति पुगेको छ ।
आक्रमणकारीले कार्यालयको भवनमा ढुंगामुढा गर्नुका साथै सिसा फोरेका छन् । यसैगरी, कार्यालय परिसरमा पार्किङ गरिएका गाडीहरूमा समेत तोडफोड गरिएको छ । घटनामा पार्टीका नेता तथा कार्यकर्ताहरू चढ्ने गाडीहरूमा क्षति पुगेको छ ।
नेपाली काँग्रेस रुपन्देहीका कोषाध्यक्ष हरि प्रसाद अर्यालका अनुसार २४ गते परेको विपी जयन्तीका अवसरमा भैरहवामा हुने म्याराथन कार्यक्रम बारे छलफल चलिरहेको थियो । सुरुमा एक गाडी प्रहरी आएको र लगत्तै करिब १ सय देखि १ सय ५० जना युवाहरूको समूह आएर एक्कासि कार्यालय र कार्यालय परिसरमा राखिएका गाडीहरूमा ढुङ्गा प्रहार गरेका थिए । ढुङ्गा प्रहारबाट क्षेत्र नम्बर ३ का सभापति शुसिल गुरुङ्ग चढ्ने बा २० च ७९५२, जिल्ला कोषाध्यक्ष हरि हर्याल चढ्ने बा १७ च २२२७, जिल्ला सहसचिव विष्णु थापाको लुम्बिनी प्रदेश ००१ च ०८७२ र ठाकुर प्रसाद गुरौको लु २ च ५४१८ को कारमा क्षति पुगेको छ । यसै गरि लु ३३ प १७०७ को स्कुटर र लु २२ प ५१६२ नम्बरको मोटरसाइकलमा पनि क्षति पुगेको जिल्ला कोषाध्यक्ष हरि अर्यालले बताए ।
नेपाली काँग्रेस रुपन्देहीले यस घटनाको कडा शब्दमा निन्दा गरेको छ । यसलाई लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रहार भएको बताएको छ । पार्टीले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।