© २०२३
भैरहवा, २२ भदौं ।
भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले लुम्बिनी भ्रमण गरेका छन् । आफ्नो पहिलो नेपाल भ्रमणका क्रममा उनले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको आध्यात्मिक भ्रमण गरेका हुन् ।
न्यायपालिकाको सर्वोच्च जिम्मेवारी सम्हालेपछि यो उनको पहिलो नेपाल यात्रा हो । शनिबार गवईले मायादेवी मन्दिर दर्शन गरेका छन् ।
भ्रमणका क्रममा उनले मन्दिर परिसरको अवलोकन गरी बुद्ध जन्मस्थलको महत्त्वबारे जानकारी लिए ।
उनले विश्व शान्ति, मानव कल्याण, नेपालको प्रगति र भारत–नेपालबिचको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ होस् भन्दै दियो प्रज्वलन गर्नुका साथै शुत्रपाठ पनि गरेका थिए । बिहान लुम्बिनी पुगेका गवईलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ), सदस्य–सचिव सानुराजा शाक्य, कार्यकारी सदस्य श्याम रोक्का र वरिष्ठ प्रशासन प्रमुख ज्ञानिन राईसहित अन्य अधिकारी तथा कर्मचारीले स्वागत गरेका थिए ।
भ्रमणपश्चात् गवईले लुम्बिनी विकास कोषका पदाधिकारीहरूसँग लुम्बिनीको गुरुयोजना र हाल सञ्चालनमा रहेका विकास–निर्माणका गतिविधिबारे चासो देखाए । उनले लुम्बिनीलाई अन्तर्राष्ट्रियस्तरमा थप प्रचार–प्रसार गर्न नेपालले गरेको प्रयासको प्रशंसा गर्दै यस क्षेत्रमा भारतको सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरे ।
भ्रमणको सम्झना स्वरूप उपाध्यक्ष डा. लामाले उनलाई बुद्धको मूर्ति उपहार प्रदान गरे । प्रधानन्यायाधीश गवई नेपाल र भारतका न्यायाधीश तथा विधिवेत्ताबीच आपसी अनुभव आदान–प्रदान गर्न आयोजित ‘नेपाल–इन्डिया जुडिसियल डाइलग’ कार्यक्रममा सहभागी हुन नेपाल आएका हुन् ।