© २०२३
बुटवल, २१ भदौ ।
रूपन्देहीको कञ्चन गाउँपालिका वडा नं. ५ का तारा बहादुर हिस्कीलाई आजभोलि फुर्सद छैन । खेतमा धान लहलह झुल्दै छन् । खेत गोडी वरी घरका अन्य सदस्य फुर्सदमा छन् तर तारा बहादुर र उनकी श्रीमती भने सिमेन्टका बोरा छुट्टाउने र बुन्नमा व्यस्त छन् ।
दसैँ भन्दा अगाडी नै बोराबाट बुनेका नाम्ला बिक्री गर्ने तरखरमा लागेका छन् उनीहरू । छेवैमा बसेकी श्रीमतीले बोराबाट तान छुट्टाएर श्रीमानलाई दिने श्रीमानले तानबाट नाम्लाको पाता र डोरी बनाउने उनीहरूको दैनिकी हो ।
नाम्लो डोको प्रायः पहाडी जिल्लामा प्रयोग हुन्छ, उत्पादन पनि पहाडमै गरिन्छ । पछिल्लो समयमा मेसिनबाट उत्पादन भएका नाम्लाले बजार लिइरहेको अवस्थामा तारा बहादुरले आफै हातले बुनेर नाम्लो र डोरी बनाउँदै आएका छन् ।
रोचक कुरा त के छ भने उनले उत्पादन गरेका नाम्लो तराईमा प्रयोग हुँदैन, उनै तारा बहादुरले सिजनमा एक भारी जति नाम्लो र डोरी बनाएर आफै पहाडी जिल्लामा लगेर बिक्री गर्दै आएका छन् ।
तराईमा उत्पादन गर्ने र पहाडी जिल्ला पाल्पाका विभिन्न स्थानमा लगेर बिक्री गर्दै आएको उनले बताए । पाल्पाको रामपुरमा जन्मिएका तारा बहादुरले बसाइसराइ गरी तराईको कञ्चन अस्नैया आएर स्थायी रूपमा बसोबास गरे पनि उत्पादित नाम्लो रामपुरमा लगेर बिक्री गर्दै आएका छन् ।
रामपुरका पनि गाउँ गाउँमा लगेर अलि पाका मान्छेलाई बिक्री गर्दै आएका उनी खेर जाने प्लास्टिकको बोरा प्रयोग गरी उपयोगी नाम्लो र डोरी बनाउँदै बिक्री गर्दै आएका हुन् ।
“प्रति नाम्लोलाई ५०० मा बिक्री गर्दै आएको छु जसले मलाई नुन तेल खान पुगेको छ”–तारा बहादुर भन्छन् ।
प्लाष्टिकजन्य बोराले वातावरणमा समेत प्रत्यक्ष असर पर्ने भएकोले नाम्लो डोको बनाउँदा वातावरण संरक्षण समेत हुने उनको भनाइ छ ।
एक सिजनमा १० देखि १५ वटा भन्दा बढी नाम्लो बिक्री गर्दै आएका उनले यहीँबाट राम्रो आम्दानी गर्दै आएका छन् । फुर्सदको समयमा खेर गएका विभिन्न बस्तुको प्रयोग गरी यी र यस्ता उपयोगी सामग्री बनाएर मनग्ये आम्दानी समेत गर्न सकिन्छ, स्थानीय तहले समेत यसको लागि उचित व्यावसायिक वातावरण निर्माण गर्न जरुरी छ ।
तारा बहादुरले आफूले निर्माण गरेका सामग्रीको उचित बजार प्रबन्ध स्थानीय स्तरमा हुन सके आफैले बोकेर पहाडी जिल्लामा जान नपर्ने बताउँछन् । स्थानीय पालिका र वडा कार्यालयले यसको उचित प्रबन्ध गर्नुपर्ने उनको माग छ ।
घर तथा भवन निर्माण गर्दा ठुलो परिमाणमा सिमेन्ट जन्य बस्तुको प्रयोग हुन्छ जुन प्लास्टिकको बोरामा प्याकिड्ड गरिएको हुन्छ । कतिपयले काम सकिएपछि उक्त बोरा जलाउने गरेको पाइन्छ, जसले पर्यावरणमा प्रत्यक्ष असर गर्छ ।
यसरी प्लास्टिकका बोरा जलाउनु भन्दा यसबाट विभिन्न उपयोगी सामग्री बनाउन सकिन्छ । झोला बनाउने, डोरी बनाउने, बाख्रालाई घाँस दिने जाली बनाउने, तानबाट डोरी बनाई कपडा सुकाउने, तरबार गर्ने जस्ता काममा प्रयोग गर्न सकिने वातावरणका जानकार युवराज कँडेल बताउँछन् ।
स्थानीय पालिकाहरूले गोष्ठी तथा सेमीनारमा वातावरणको नाममा लाखौँ खर्च गर्न भन्दा पुनः प्रयोगमा आउने खेर गएका, वातावरणमा प्रतिकूल असर पर्ने वस्तुलाई प्रयोग गरी नयाँ र उपयोगी वस्तु निर्माणको तालिम र बजारीकरणमा विशेष जोड दिनुपर्ने वातावरणका जानकारको भनाइ छ ।