Butwal Today

अर्घाखाँचीको ऐतिहासिक भैरव नाच सुरु

१६ भाद्र २०८२, सोमबार
अ+
अ-

अर्घाखाँची, १६ भदौ ।

अर्घाखाँचीका नेवार समुदायको पहिचानका रूपमा नाचिने भैरव नाच नाच्न सुरु भएको छ । भैरव नाच अर्घाखाँचीका नेवार समुदायको मौलिक नाचका रूपमा रहेको छ ।

भैरव नाच श्रीकृष्ण जन्माष्टमीको दिन सुरु गरी कार्तिक औँसीसम्म नाचिन्छ ९देउसी, भैलीको मादल बज्नु अगाडि यस नाचलाई विसर्जन गर्नुपर्छ भन्ने स्थानीय मान्यता छ । त्रान्त्रिक विधिबाट सुरु गरिने यो नाच रातको समयमा विशेष गरी सूर्य अस्ताएपछि सूर्योदय अघिसम्म स्थानीय चलनअनुसार बिहान भाले बास्नु अघिसम्म नाच्ने गरिन्छ ।

कथंमकदाचित नाच्दै गर्दा उज्यालो भयो, खोला तरेर अन्यत्र गाउँमा गई नाच्नुप¥यो भने बोकाको बली दिनुपर्छ भन्ने मान्यता रहेको छ । यो नाच अर्घाखाँचीका नेवार समुदायको मौलिक नाचका रूपमा प्रचलित छ ।

यसमा काल भैरव मुख्य मानिन्छन् भने श्वेत भैरव र रातो भैरव सहायक हुन्छ। साथमा डङ्किनी पनि हुन्छ । भैरवको स्वरूपमा हुने यस नाचका नर्तकलाई भगवान्को प्रतीकका रूपमा पूजा गरिन्छ । डङ्किनीलाई नारी स्वरूपको रूपमा पूजा गरिन्छ ।

तीन वटै भैरव आफ्नो भूमिका अनुसारका रङमा खप्पर, कपडा, चौँरी गाईको पुच्छर, मालासहित शृङ्गार गरी भगवान्को आकृतिमा सजिएका हुन्छन् । पुरुष नर्तक महिलाको भेषमा शृङ्गार गरेको हुन्छ, जसलाई डङ्किनी भनिन्छ । डङ्किनीको भूमिका नखुले पनि भैरव नाचको अभिन्न अङ्गका रूपमा रहँदै आएको छ ।

भैरव नाच सात तालसम्म नाचिन्छ। सामान्यतया एउटा ताल २० मिनेटको हुन्छ । सात वटै ताल ९पटक० को लय फरक फरक हुन्छ । नाचलाई थप रोचक बनाउन लाठी नाच, घोडा नाच, चरा नाच, लाहुरे लाहुरेनी नाच, भालु नाच, भुच्याङलगायत हास्यव्यङय विधा मिसाएर नाचलाई थप रोचक र रमाइलो बनाइने अभियन्ता राजकुमार श्रेष्ठले बताए ।

यस वर्षको भैरव नाच सन्धिखर्क नगरपालिका वडा नं. १२ डिर्भना झेडीमा भैरव नाचँ संरक्षण समितिले झेडी बजारबाट शुभारम्भ गरिएको बसन्त श्रेष्ठले बताए ।  ‘श्रीकृष्ण जन्माष्टमीको दिनदेखि सुरु हुन्छ,’ उनले भने, ‘तिहारको मादल बज्नुअघि यसलाई विसर्जन गर्नुपर्छ ।’

रातमा मात्र नाचिने यो नाच हेर्न हजारौँ दर्शकको उपस्थिति रहेको थियो । भैरव नाच नेवार समुदायमा मात्र नभई अन्य समुदायमा पनि लोकप्रिय छ । अर्घाखाँचीको भैरव नाच छिमेकी जिल्ला गुल्मी, प्युठान, पाल्पा, कपिलवस्तु, रुपन्देहीलगायत काठमाडौँमा समेत लोकप्रिय छ ।

विभिन्न सम्पर्क समाजको आयोजनामा बाहिरी जिल्लामा पनि भैरव नाच देखाउने गरिएको छ । भारतको नयाँ दिल्लीमा पनि यो नाच पुगेको छ ।
अर्घाखाँचीको डिभर्ना, पटुवाथुम, लात्तेबाज र नुवाकोटबाट यो नाच निकालिँदै आएको छ ।

पछिल्लो समय युवा पुस्तामा पनि यो नाच विस्तार हुँदै गएको छ। ‘तान्त्रिक विधिसहित नाचिने यस नाच नेवार बाहुल्य समाजमा प्रचलित रहँदै आएको छ । भिन्न परिवेश र भिन्न रहन सहनमा हुर्किएका नेवार समुदायबिच नाचको शैली पनि भिन्न प्रकारको देखिने गरेको छ । तर, पछिल्लो समयमा बढ्दो बसाइसराइ र आफ्नो थातथलो छोड्ने प्रवृत्तिका कारण यो नाच लोप हुने स्थितिमा रहेको छ ।’

नेवार समुदायको मौलिक नाचका रूपमा रहेको यो नाच अर्घाखाँचीमा कहिलेदेखि सुरु भयो त्यसको एकिन तथ्य नभए पनि पुस्तौँदेखि यो नाच नाच्ने क्रम रहेको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए ।

नेवार समुदायको नाच भए पनि यस नाचमा विभिन्न जातिका मानिसको सहभागिता रहने भएकाले यसले एक किसिमको जातीय सद्भावसमेत कायम गर्दै आएको श्रेष्ठले बताए ।

धार्मिक आस्था एवम् रोचक भए पनि नयाँ पुस्ताको चासो घट्दै जाँदा यो नाच लोप हुने स्थितिमा रहेको छ । अघिल्लो पुस्ताको तुलनामा अहिलेको पुस्तासम्म आइपुग्दा यसको सौन्दर्य एवम् तालको मिठासमा कमी आइरहेको सन्दर्भमा यसको संरक्षण र प्रवर्द्धन नभए आउँदो पुस्ताका निम्ति यो नाच कथाजस्तै हुने अभियन्ता समेत रहेका नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

नेवार समुदायका विभिन्न प्रचलित एवम् ऐतिहासिक नाचहरू मध्येको एक भैरव ( भैरम ) नाच यस समुदायभित्र मात्रै होइन अन्य समुदायका बिचमा पनि लोकप्रिय छ । तान्त्रिक विधिसहित नाचिने यस नाच नेवार बाहुल्य समाजमा प्रचलित रहँदै आएको छ ।

रहन सहन, जीवनशैली, तान्त्रिक ज्ञानको कमी वा अन्य समुदायको प्रभावले पनि हुनसक्छ यस नाचको शैली स्थान विशेष फरक पाइन्छ । नाचको शैली र बाजाको ताल भिन्न भए पनि यसप्रतिको जनआस्था, धार्मिक मान्यता र जनविश्वास भने उत्तिकै रहेको डिर्भना झेडी भैरम नाच संरक्षण समितिका अध्यक्ष चन्दलाल श्रेष्ठले बताए ।

यसको विशिष्ट प्रकारको बाजाको ताल, नर्तकहरूमा उजागर हुने एक किसिमको ऊर्जाले (अलौकिक शक्तिको आभास) समेत प्रदान गर्छ । जसका कारण यस समुदायका व्यक्तिको धार्मिक आस्था त छँदै छ अन्य समुदायका व्यक्तिलाई पनि मोहित भैरव नाचले पार्ने गरेको छ ।