© २०२३
भैरहवा, १५ भदौ ।
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न नेपाली कांग्रेसबाहेक अरू कुनै दल सक्षम नहुने दाबी गरेका छन् । उनले कांग्रेसबाहेक अरूले विमानस्थल चलाए मेरो कान काटिदिनु भन्दै चुनौतीसमेत दिए ।
शनिबार नेपाली कांग्रेस, रुपन्देही क्षेत्र नं. ३ ले भैरहवामा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले आगामी उपनिर्वाचनलाई लक्षित गर्दै कार्यकर्तालाई एकजुट हुन आह्वान गरे । उनले भने, “भैरहवाको नेता भन्नाले विमानस्थल सञ्चालन गर्न सक्ने हुनुपर्छ। दिनको १०–२० वटा अन्तर्राष्ट्रिय उडान भर्न सक्ने हैसियतको नेतृत्व आवश्यक छ ।”
मन्त्री अधिकारीले नेपालमै रासायनिक मल उद्योग स्थापना गर्न करिब २ खर्ब रुपैयाँ आवश्यक रहेको जानकारी गराए । उनका अनुसार हाल लगानी बोर्डसँग प्रारम्भिक चरणको छलफल भइरहेको र आगामी दुई महिनाभित्र स्पष्ट निर्णय आउने अपेक्षा गरिएको छ ।
मल मूल्यवृद्धिको विषयमा उनले स्पष्ट रूपमा भने, “म मन्त्री रहुन्जेल मलको मूल्य बढ्दिन । बरु मन्त्री पद छाड्छु तर मूल्य बढाएको आरोप सहन्न ।”
उनका अनुसार हाल मुलुकमा वार्षिक करिब ८ लाख मेट्रिक टन मल आपूर्ति गर्ने लक्ष्यसहित मन्त्रालय अगाडि बढिरहेको छ ।
मन्त्री अधिकारीले मल वितरणमा सरकारले कुनै पक्षपात नगरेको र मल वितरणको जिम्मा प्रदेश सरकार र स्थानिय सरकारको रहेको बताए । सबै भन्द बढी करिब ३० प्रतिशत मल मधेश प्रदेश, त्यसपछि कोशी, बाग्मती हुदै गण्डकी र लुम्बिनी तेश्रो सबै भन्दा बढी मल पाउने प्रदेशको रुपमा रहेको उनले बताए ।
उनले मल अनुदान कटौती गर्न पटक–पटक प्रस्ताव आए पनि आफूले अस्वीकार गरेको बताए । उनले भने, “बल्ल बल्ल मन्त्री भएको छु, अब मल महँगो भयो भन्ने आरोप खेप्न सक्दिन,” ।