Butwal Today

उपप्रधानमन्त्री पौडेलद्वारा सिद्धार्थ क्रिकेट रंगशालाको अवलोकन

१५ भाद्र २०८२, आइतबार
अ+
अ-

भैरहवा, भदौ १५ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले शनिबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालाको अवलोकन गरेका छन् ।। रङ्गशाला अवलोकनको क्रममा सञ्चारकर्मीहरुसंग संक्षिप्त कुराकानी गर्दै उनले सरकारले क्रिकेटलाई प्राथमिकतामा राखेकाले रंगशालाको विकासका लागि बजेट अभाव हुन नदिने स्पष्ट पारे ।

मन्त्री पौडेलले भने, “यस आर्थिक वर्षमा सिद्धार्थ क्रिकेट रंगशालाका लागि ३ करोड रुपैयाँ छुट्याइएको छ । आगामी वर्षहरूमा पनि बजेट सुनिश्चित गरिनेछ । तपाईंहरू उत्साहका साथ खेलकुद विकासमा लाग्नुहोस् ।”

उक्त रंगशालालाई लुम्बिनी प्रदेशकै महत्वपूर्ण खेल पूर्वाधारको रूपमा चिनिँदै आएको छ । अवलोकनको क्रममा मन्त्री पौडेलले अझै अधुरा रहेका निर्माण कार्यहरू यथाशीघ्र सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले सिद्धार्थ रंगशालालाई बहुवर्षीय योजनामा राख्न आग्रह गरे । उनले भने, “यो रंगशालामा खेल पर्यटनको अपार सम्भावना छ । काठमाडौँ बाहिरको स्तरीय रंगशाला भए पनि लगानी अभावका कारण निर्माण कार्य अत्यन्त सुस्त गतिमा अघि बढिरहेको छ ।”

पूर्व अध्यक्ष प्रशान्त विक्रम मल्लका अनुसार, रंगशालाको निर्माण कार्य सुरु भएको करिब डेढ दशक बितिसक्दा पनि हालसम्म जम्मा १६ प्रतिशत काम मात्र सम्पन्न भएको छ । न्यून बजेट र अव्यवस्थित योजना निर्माण ढिलाइको प्रमुख कारण बनेको उनले बताए ।

२०६८ सालमा भैरहवा र मूलपानीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्ने लक्ष्यका साथ काम थालिएको थियो । मूलपानी रंगशालाको निर्माणले केही गति लिँदा भैरहवाको रंगशालामा भने काम कछुवा गतिमा अघि बढेको छ ।

राष्ट्रिय खेलकुद परिषद् ९राखेप० द्वारा तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० अनुसार, रंगशालामा करिब ७ हजार दर्शक अट्ने प्याराफिटसहित अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्ने योजना थियो । त्यसबेला अनुमानित लागत ३८ करोड रुपैयाँ थियो । तर, पछिल्ला वर्षहरूमा बजेट विनियोजन ठप्प भएको कारण हाल उक्त योजना कार्यान्वयन गर्न कम्तीमा ७० करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ ।

हालसम्म रंगशालाको निर्माणमा करिब १२ करोड रुपैयाँ खर्च भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?