© २०२३
भैरहवा, ७ भदौ ।
रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका १०० जना एसईई उत्तीर्ण छात्रालाई साइकल वितरण गरिएको छ । नेपाल भारत मैत्री केन्द्र, रूपन्देहीले भारतको ७९ औं स्वतन्त्रता दिवसको अवसर पारेर शनिबार साईकल वितरण गरेको हो । यसले उनीहरूलाई माध्यमिक र उच्च शिक्षा अध्ययनका लागि थप सहजता प्रदान गर्ने अपेक्षा राखिएको छ ।
दुर्गम ग्रामीण क्षेत्रमा विद्यालयसम्म पुग्न विद्यार्थीले दैनिक रूपमा घण्टौँ हिँड्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै साइकल वितरण गरिएको नेपाल भारत मैत्री केन्द्र, रूपन्देहीका अध्यक्ष सिद्धार्थ अग्रवालले जानकारी दिए । “साइकल प्राप्त गरेपछि छात्रालाई अब विद्यालय जान आउन समय बचत हुनेछ, जसले गर्दा उनीहरूले पढाइमा थप ध्यान दिन सक्नेछन् ।” अग्रवालले भने “यसले उनीहरूको शैक्षिक यात्रामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेको छु ।”
साइकल प्राप्त गरेपछि छात्राहरू पनि निकै उत्साहित देखिएका छन् । उमर बिन खिताब मदरसाबाट एसइइ दिएकी शबनम खातुनले भनिन्, “हाम्रो गाउँबाट विद्यालय पुग्न करिब घण्टा हिँड्नुपथ्र्यो । यसले घरको काम र पढाई दुबैमा असर गरेको थियो । अब साइकल पाएपछि आधा घण्टामै पुग्न सकिन्छ । यसले गर्दा खेर जाने समय अब पढाइमा लगाउन सकिन्छ, घरको काम गर्दा पनि हतारिनु पर्दैन ।” राम्ररी पढाई गरेकोेले साईकल पुरस्कार पाएको र यसले आफूहरूलाई थप हौसला प्रदान गर्ने शबनमले बताइन ।
साईकल वितरण गर्दै संसदिय लेखा समितिका पूर्व संयोजक भरत कुमार शाहले शिक्षा नै जीवनमा महŒवपूर्ण रहेको बताउँदै यसैमा मेहनतका साथ अगाडि बढ्न विद्यार्थीहरूलाई हौसला प्रदान गरे । उनले जातपात, धर्म लगायतका आधारमा कोही अगाडी नबढ्ने भई क्षमता र उत्कृष्टताको आधारमा मात्र अगाडि बढन् सक्ने जिकिर गरे ।
सैनामैना नगरपालिकाको प्रमुख फणेन्द्र शर्माले साइकलले छात्रालाई समयको बचत, शारीरिक सहजता र सुरक्षाका साथै विद्यालयको नियमित उपस्थिति सुनिश्चित गर्न मद्दत गर्ने बताए । साइकलले छात्राहरूको अध्ययनलाई थप प्रभावकारी र सहज बनाउनुका साथै शैक्षिक उपलब्धिमा पनि वृद्धि ल्याउने उनले जिकिर गरे ।