© २०२३
अर्घाखाँची, ०४ भदौ ।
उमेरले ८९ वर्ष । भदौ मसान्तसम्म सामाजिक सुरक्षा भत्ता अनिवार्य नवीकरण गर्नुपर्ने । सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न वडा कार्यालयमा जान निकै कठिनाइ । बर्खाको समय सहज रूपमा यातायात पनि नपाइने, हिँडेर जान पनि कठिनाइ ।
भत्ता नवीकरण कसरी गर्ने भन्ने चिन्तामा परेकी पाणिनि गाउँपालिका वडा नं. ६ धातिवाङ्गकी कुन्तीदेवी राष्कोटीको मुहारमा तब खुसी झल्कियो, जब घरदैलोमै घुम्ती सेवा शिविर पुग्यो ।
१ घण्टासम्म हिँडेर वडा कार्यालयमा पुग्न नसक्ने राष्कोटीले साबिक वडाको टोलमा रहेको अमर आधारभूत विद्यालयमा पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गराइन् ।
सामाजिक सुरक्षा नवीकरण गर्न बायोमेट्रिक यन्त्र, ल्यापटप सहित वडा अध्यक्ष कृष्णप्रसाद पौडेल, वडा सदस्य खगेश्वर पौडेल, वडा सचिव मोहन महतरा सहित वडा कार्यालय टोलमा पुग्यो । वडाका प्रतिनिधि टोलमा आउने भनेपछि स्थानीय बासिन्दा बिहानै देखि नागरिकता, राष्ट्रिय परिचय पत्र, फोटा, जन्म दर्ता, विवाह दर्ता सहित स्थानीय विद्यालयमा उपस्थिति भए ।
गाउँभरिका वृद्धवृद्वाहरू, दलित बालबालिका, एकल महिला गरी साबिकको टोलमा १५ जनाको सुरक्षा भत्ता २ घण्टामै नवीकरण भयो । नवीकरण भएपछि सबै खुसी भए, नवीकरण भएकाहरूको भत्ता बैंकिङ्ग प्रणालीमार्फत वितरण हुन्छ ।
धातिवाङ्ग बाढुंगाका पदमलाल सुनार बिरामी छन् । उनलाई सामाजिक सुरक्षा भत्ताबाट आउने पैसा औषधी उपचारमा खर्चिन्छन् ।
१ घण्टा लागेर वडा कार्यालयमा पुग्न समय लाग्ने सुनारलाई घरमै जनप्रतिनिधि, कर्मचारी पुगेर भत्ता नवीकरण गर्नमा सहजीकरण गरिदिए ।
वडामा जान निकै कठिनाइ थियो, वडाबाट सरहरू आएर नवीकरण गरिदिनुभयो, सुनारले भने’ निकै खुसी छु, स्थानीय सरकारले घरदैलोमा सेवा पुर्याएको छ, हामीहरू निकै खुसी छौँ ।
सुनार, रास्कोटी जस्तै वडाका बासीन्दाहरूलाई सेवा दिन सामाजिक सुरक्षा भत्ता नवीकरण गराउन धातिवाङ्ग वडाले अमर आधारभूत विद्यालय, सीता आधारभूत विद्यालय, सूर्योदय आधारभूत विद्यालयमा पुगेर सेवा दिएको हो ।
हिँड्न नै नसक्ने अपाङ्ग, अशक्त, वृद्धवृद्वाहरूलाई घरमै पुगेर पनि सेवा दिएका छौँ, वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले भने ’हिँड्न सक्नेहरू वडामा आएर नवीकरण गराउनुहुन्छ, नसक्नेहरूको घरमा अन्तिमसम्ममा पुग्छौँ ।
६ स्थानीय तह रहेको अर्घाखाँचीमा भदौ मसान्तसम्म अनिवार्य रूपमा सामाजिक सुरक्षा भत्ता, अपाङ्ग, बालबालिका, एकल महिला भत्ताको नवीकरण गर्नुपर्छ, वडामा सचिवको जिम्मेवारी बढी हुने भएकाले पनि नवीकरणलाई तीव्रता दिएका छन् ।
बजारमा बसेपनी गाउँको सुविधा बजारमै:
जिल्लाको मालारानी गाउँपालिका वडा नं.५ बाँगीबाट सन्धिखर्कमा बसेका बासिन्दाहरू वडामै सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नु पर्नेहरूको लागि सन्धिखर्कमा शिविर गर्ने तयारी छ ।
वडामा पुग्न कठिनाइ हुने भएपछि सामाजिक सुरक्षा भत्ता लिनुहुने सम्पूर्णलाई नवीकरण गर्नको लागि वडा कार्यालयको सहजीकरणमा सन्धिखर्क हललाइन स्थित महालक्ष्मी छापाखानामा भदौ ४ गते नवीकरण गराउने तयारी गरेको वडा सचिव दिलिप आचार्यले बताए ।
नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग अनुसार देशभरका ६ हजार ७ सय २३ वडा वडाबाट अनलाइन मार्फत नवीकरणको काम भएको छ, देशका ७५३ वटै स्थानीय तहमा बैङ्किङ प्रणालीमार्फत भत्ता वितरण हुन्छ ।
चालू आर्थिक वर्ष सम्ममा सक्रिय लाभग्राही सङ्ख्या २३ लाख ४४ हजार ८ सय ३२ रहेको विभागको वेभसाईडमा उल्लेख छ ।