© २०२३
समाचार सारांश
अर्घाखाँचीको छत्रदेव गाउँपालिकास्थित चौवाटार फाँटमा सिँचाइको सुविधा नहुँदा लामो समयसम्म खेतीयोग्य जमिन बाझिएको थियो ।
२०४३ सालदेखि योजना बनाएर प्रयास सुरु गरिएको चौवाटार सिँचाइ योजना ३६ वर्षपछि २०८१/८२ मा सम्पन्न भयो ।
२२० घरधुरीका १४५० जना किसानहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
अर्घाखाँची, २७ साउन ।
कतै मोटर बाटो विस्तार गर्दा खेत बाझिए, कमै काम गर्ने जनशक्ति नहुँदा खेत बाझिए । यो समस्या छत्रदेव गाउँपालिकाको खेतीयोग्य जमिन चौवाटार फाँटको हो ।
२०४३ साल देखिनै योजना पारेर कुलो निर्माण गर्न स्थानीयहरू अग्रसर भए पनि त्यो सपना अहिले ३६ वर्षपछि पूरा भएको छ । सिँचाइ योजना सुरु भएपछि बाझिएको फाँटमा ठूला पोखराका धनिश्वर पाण्डेले हिउँदे र वर्षे धान गरी ५५ मुरी धान उत्पादन गर्न लागे ।
सिँचाइ नहुँदा खेत, बारी ‘बाझिँदै गएको थियो, सिँचाइ भएपछि जग्गामा पुनः खेती सुरु गरियो, पानी अहिले छ, निकै सहज भएको छ ।’ वर्षे धान मात्र होइन, हिउँदे धानपनी उत्पादन हुन्छ, पाण्डेले भने ‘बारीलाई खेत बनाएर धान रोपिएको छ ।’ यो उदाहरण पात्र मात्र हो ।
ठूलापोखरामा चौवाटार सिँचाई योजनाबाट २ सय २० घरधुरीका १४ सय ५० जना प्रत्यक्ष लाभान्वित भएको उपभोक्ता समितिका अध्यक्ष धनिश्वर पाण्डेले भने ‘जरेखोला मिलमिलेबाट सेरीखोलासम्म ८ हजार २ सय मिटर लम्बाई रहेको यस सिँचाइ योजना ८ करोड ३९ लाखको लागतमा सम्पन्न भएको हो ।’
सिँचाइ आयोजनामा अझै शाखा कुलाहरू बनाउन बाँकी छ, डिपीआर अनुसारको काम भएको छ, पखेराको बाटो कुलो फाँटमा ल्याउँदा स्थानीय कृषकहरूलाई सहज भयो ।’
चौवाटार सिँचाइ आयोजना जस्तै अर्घाखाँचीमा ३ हजार १ सय १८ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । जिल्लामा ८ हजार ५ सय ४४ हेक्टर सिँचाइ योग्य जमिन रहेकोमा ३६.४९ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुगेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीका डिभिजन प्रमुख भेषराज भुसालले बताए ।
जिल्लामा २१ हजार २ सय ४७ हेक्टर जमिनमा खेती गरिँदै आएको छ । जसमध्ये ८ हजार ५ सय ४४ हेक्टर सिँचाइ योग्य जमिन रहेकोमा ३ हजार १ सय १८ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको डिभिजन प्रमुख भुसालको भनाइ छ ।
एक वर्षको अवधिमा १ सय २३ वटा सिँचाइका योजना सम्पन्न भएका हुन्, प्रमुख भुसालले भने ‘आर्थिक वर्ष २०८१/८२ मा जिल्ला भरमा रहेका १ सय ३३ मध्ये १ सय २३ वटा योजना सम्पन्न गरेको, २ वटा कार्यान्वयनको चरणमा रहेको र ८ वटा योजना मापदण्ड अनुसार नभएकाले ती योजनामा काम गरिएको छैन ।’
जिल्लाको सरकारी कार्यालय अन्तर्गत सिँचाइ कार्यालयले जेठ मसान्तसम्ममा कार्यालयमा काम सम्पन्न भई पेस भएका योजनाको भुक्तानी गरेको हो, गत आर्थिक वर्षमा कार्यालयको कुल बजेट १६ करोड ७५ लाख मध्ये १४ करोड ४९ लाख ४५ हजार खर्च गरी भौतिक प्रगति ९७.९९ प्रतिशत र वित्तीय प्रगति ८६.५३ प्रतिशत रहेको कार्यालयका लेखापाल शिवहरि खनालले जानकारी दिएका छन् ।
कार्यालय समयमै उत्कृष्ट कार्यसम्पादन गर्ने अर्घा कन्स्ट्रक्सन, समयभन्दा अगावै उत्कृष्ट कार्य सम्पादन गर्ने लुम्बिनी निर्माण सेवा, उत्कृष्ट रूपमा योजना कार्यान्वयनमा ल्याउने चौबाटार जलस्रोत उपभोक्ता समितिलाई सम्मान गरेको छ ।
लुम्बिनी प्रदेश सरकार मार्फत विनियोजन भएको रकमको भरमा जिल्लामा सिँचाइ योजनाका कामहरू अगाडी बढेका छन् । चालु आर्थिक वर्ष अर्घाखाँचीमा शितगंगा नगरपालिकामा सिँचाइ तथा तट बन्धन योजनामा ७ करोड ६२ लाख, सन्धिखर्क नगरपालिकामा ३ करोड ७२ लाख, भूमिकास्थान नगरपालिकामा १ करोड ६० लाख, मालारानी गाउँपालिकामा ३० लाख, पाणिनी गाउँपालिकामा ७० लाख र छत्रदेव गाउँपालिकामा १ करोड ६३ लाख गरी जम्मा १५ करोड ६७ लाख बजेट विनियोजन भएको छ ।
सिँचाइ कार्यालयका प्राविधिक अधिकृत रामजी भट्टराईले भने ‘चालु आर्थिक वर्षमा १०० योजना प्रदेश सरकारबाट विनियोजन बजेटमा छन्, सबैभन्दा ठुलो आयोजना विशेष अनुदान अन्तर्गतको शितगंगाको पावरटार सिचाई आयोजना हो, ३ करोडमा काम हुदैँ छ ।’
९ करोड ५० लाख लागत स्टीमेट रहेको पावर सिँचाइ योजना बहु वर्षे हो, आगामी वर्ष पनि निरन्तर हुन्छ, जिल्लाका अन्य सबै योजनाहरू जेठ मसान्तअगाडि नै सम्पन्न गर्ने गरी काम सुरु गर्छौँ, भट्टराईले भने ‘अब कार्यान्वयन चरणमा लाग्छौँ ।’
सबैभन्दा बढी शितगंगा नगरपालिकामा ३१ योजना र सबैभन्दा कम मालारानी गाउँपालिकामा ३ वटा सिचाई तथा तट बन्धन योजनाहरू रहेका छन् । सन्धिखर्कमा ३०, भूमिकास्थानमा १६, पाणिनीमा ६ र छत्रदेवमा १४ योजना रहेका छन् ।