© 2026
बुटवल, २६ साउन ।
हरि अधिकारी । सानैदेखि सूचना तथा सञ्चार प्रविधिमा रुचि राख्थे । रुपन्देहीको सैन मैना नगरपालिका–८ का एक स्थायी बासिन्दा हरि अधिकारी अपाङ्गताको बाबजुद पनि चुनौतीहरूलाई पार गर्दै सूचना प्रविधि क्षेत्रमा सफलता थापेका छन् ।
अपाङ्गता हुँदा सबै सम्भावना सकिएको सोच्दै घरमा बस्नेहरूका लागि हरिले आशाको बाटो देखाएका छन् । आत्मबल, लगनशीलता र निरन्तर अभ्यासले मलाई दक्ष प्रविधिकर्मीको रूपमा स्थापित गराएको छ ।
शारीरिक र भाषागत कठिनाइको कारण उनले साङ्केतिक भाषा पनि प्रयोग गर्दछन् । २०७५ सालदेखि कम्प्युटर, सीसीटीभी, ल्यापटप मर्मत, नेटवर्किङजस्ता कामहरू सिक्दै आएका उनले सुरुवाती दिनमा साना उपकरणहरू जडान गर्ने, बिग्रेका कम्प्युटरहरू मर्मत गर्ने, नयाँ सिस्टमहरू एसेम्बल गर्ने जस्ता कामहरू आफ्नै मेहनत र अभ्यासबाट सुरु गरेका थिए ।
उनी भन्छन्–‘ सानैदेखि अपाङ्गता रहेकोले मेरो जीवन सहज थिएन । विद्यालयमा पहुँचको अभाव, शारीरिक कठिनाइ र समाजको व्यवहारमा रहेको भेदभाव—यी सबैलाई चिर्दै म अघि बढेँ । मैले हार्डवेयर, नेटवर्किङ र सूचना प्रविधिको क्षेत्रमा आफ्नो भविष्य खोज्ने अठोट लिएँ ।’
कम्प्युटर हार्डवेयर, सीसिटीभी सेट अप, ल्यापटप मर्मत, नेटवर्किङजस्ता सीपहरू आफ्नै लगानी र मेहनतबाट सिकेका हुन । उनले उक्त सीपलाई सीप सिक्दै जाँदा प्रफेक्ट आइटी सोलुसन समेत चलाएका छन् । जहाँ दाजुको सहयोगमा उनले अन्य व्यक्तिलाई समेत रोजगारी दिएका छन् ।
गाउँ गाउँमा उनले सिसिटिभी जडान देखि लिएर कम्प्युटर ल्यापटप तथा अन्य उपकरण समेत बनाउँदै आएका छन् । उनी भन्छन्–‘सुरुवातमै मैले सानो स्तरको आईएपी काम सेवा सुरु गरेँ वल्डलिंकको क्लाइन्ट बनेर सिस्टममार्फत आफ्नै वारलेस सफ्टवेयर समेत तयार पारेँ र गाउँघरमा इन्टरनेट सेवा विस्तार गर्न थालेँ यसबाट मैले न केवल आम्दानी गर्न सकेँ, बरु ग्रामीण क्षेत्रमा प्रविधिको पहुँच पु¥याउने काममा पनि भूमिका निभाएँ ।’
आज उनी हाल ईज्याज, हाईकोन, डोउना, डेल, लेनोभो, एचपी एसर, एसयुर्स लगायतका ब्रान्डका क्यामेरा, ल्यापटप तथा अन्य उपकरणहरूको जडान, सर्भिसिङ र मर्मत कार्यमा दक्ष छन् । कम्प्युटर एसेम्बलदेखि इन्टरनेट सेटअपसम्मका कामहरूमा समेत उनी गर्दै आएका छन् । शरीर कमजोर भयो भनेर आत्मबल गुमाउनु हुँदैन ।
सीप, परिश्रम र अठोटले असम्भव पनि सम्भव बनाउँछ भन्ने उनको भनाई रहेको छ । उनी थप्छन्, ‘आज म आफैँ मात्र सफल छैन, अन्य युवाहरूलाई पनि सीप सिकाउने, तालिम दिने र आत्मनिर्भर बनाउन प्रेरित गर्ने कार्यमा सक्रिय छु ।’
सैनामैना जस्तो ग्रामीण क्षेत्रमा पनि सूचना प्रविधि र सीपमार्फत आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश दिन चाहेको उनको भनाई छ । अपाङ्गता भएका व्यक्तिहरूले पनि यदि इच्छाशक्ति बलियो छ भने, जीवनमा फरक ल्याउन सक्छन् भन्ने योजना सहित अन्य व्यक्तिलाई समेत रोजगारीमा जोड्ने योजना उनले बनाएका छन् ।
मानिसले सीप सिकेमा कुनै पनि अवस्थामा कमी कमजोरी हुन नपर्ने उनको भनाई छ । अधिकारीले हाल मासिक १ लाख ५० हजार भन्दा बढि आम्दानी गर्दै आएका छन् ।