© 2026
बुटवल –
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा विविध सचेतनामूलक कार्यक्रमसहित विश्व स्तनपान सप्ताह–२०२५ मनाइएको छ। हरेक वर्ष अगस्त १ देखि ७ सम्म आयोजना हुने यो सप्ताह यस वर्ष मातृ तथा शिशु स्वास्थ्य प्रवर्द्धनमा केन्द्रित रह्यो।
अस्पतालका नर्सिङ विभाग प्रमुख नेहा थापाका अनुसार, सप्ताहभरि १ हजारभन्दा बढी आमाहरुलाई शिशु स्याहार, पोषण तथा स्वास्थ्यसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सहभागी गराइएको थियो। कार्यक्रममा स्तनपानसम्बन्धी डेमोस्ट्रेशन, सचेतनामूलक भिडियो प्रस्तुति र पम्प्लेट वितरणजस्ता गतिविधिहरू गरिएको थियो, जसमा अस्पतालका चिकित्सक तथा नर्सिङ स्टाफको सक्रिय सहभागिता रहेको थियो।
मेडिकल सुपेरिटेन्डेन्ट डा. इन्द्र ढकालले नवजात शिशुका लागि स्तनपानलाई “अमृत समान” भन्दै यस प्रकारका कार्यक्रमले आमा–बुबामाझ शिशु स्वास्थ्यबारे जागरुकता बढाउने बताए।
वरिष्ठ प्रशासकीय प्रमुख राजन केसीका अनुसार, पछिल्लो एक वर्षमा अस्पतालले १२ हजार ९५ महिलालाई प्रसूति सेवा प्रदान गरेको छ। जसमध्ये ४ हजार ५४७ केसमा शल्यक्रिया गरिएको छ भने ८ हजार ५४८ महिलाले सामान्य रूपमा शिशु जन्माएका छन्। अस्पतालले हाल प्रसूति सेवामा थप विशिष्टीकरण गर्दै छुट्टै भवन, शल्यक्रिया कक्ष विस्तार र ल्याप्रोस्कोपी सेवा जस्ता सुविधा सुरु गरेको छ, जसका कारण सेवाग्राहीको संख्या पनि बढ्दै गएको डा. ढकालले जानकारी दिए।