© २०२३
समाचार सारांश
अर्घाखाँचीमा तीन दिनदेखि परेको अविरल वर्षाले मुख्य र ग्रामीण सडकहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
गोरुसिंगे–सन्धिखर्क, सालझण्डी–ढोरपाटन, गच्छे–भालुवाङ्ग लगायतका सडकमा पहिरो खसेको छ ।
घर–घरमा सडक पुर्याउने होडबाजी हुँदा आवश्यकता अनुसारको योजना नबनाइँदा टिकाउ सडक बन्न सकेनन् ।
अर्घाखाँची, २१ साउन ।
तीन दिनदेखि परेको निरन्तर वर्षाका कारण अर्घाखाँचीका मुख्य सडकसहित ग्रामीण भेगका सडक अवरुद्ध भएका छन् । गोरुसिङ्गे—सन्धिखर्क सडक नरपानी, सितापुर लगायतका ठाउँमा पहिरो खस्दा मंगलबार सडक अवरुद्ध भइरहेको हो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सरकार, सडक विभागको पहलमा सञ्चालन गर्ने कार्य भए पनि यात्रुहरू दिनभरजसो अलपत्र परेका हुन् । हिमाल, पहाड र तराई जोड्ने सालझण्डी—सन्धिखर्क—ढोरपाटन सडक पनि ठाउँ ठाउँमा पहिरो गएका कारण अवरुद्ध छ ।
गच्छे—भालुवाङ्ग सडक पनि धनचौर क्षेत्रमा पहिरो गएका कारण अवरुद्ध भएको स्थानीय हृदय भुसालले जानकारी दिए । लगातार परेको अविरल वर्षाका कारण ग्रामीण भेगका सडकहरू अवरुद्ध छन्, जनजीवन प्रभावित भएको छ, भुसालले भने ‘ग्रामीण सडकमा पहिरो खसेर, भासिएर तथा भत्किएर अवरुद्ध भएपछि स्थानीयहरू सास्ती भोग्न बाध्य भएका हुन् ।’
ढोरपाटन सडक अवरुद्ध हुँदा बुटवल पुगेका सवारी साधन गाउँमा फर्किन पाएका छैनन्, पानी परिरहँदा कति बेला कहाँ बाटो अवरुद्ध हुन्छ भन्ने डर छ, सवारी चालक ईश्वरी घिमिरे भन्छन्, सडकको निगाली क्षेत्र निकै जोखिम छ, ठुलो पहिरो छ, जोखिम मोलेर यात्रा गर्नु हुँदैन ।’
लगातार पानी परेपछि यातायात सेवा सञ्चालन हुन नसक्दा यात्रुलाई आवतजावतमा समस्या भएको छ । वर्षाको समयमा गाडी पाउन त गाहृो छ, पटौटीका स्थानीय कृष्ण गैरेले भने, “ठाउँ ठाउँमा पहिरो खसेर पैदल हिँड्न जोखिमपूर्ण छ ।”
जेठ र असारमा नपरेको पानी साउनको तेस्रो हप्ता परेको हो । मुख्य सडक बाहेक अवरुद्ध ग्रामीण टोल टोलका सडक खुलाउन स्थानीय सरकारको जिम्मेवारी हो, अवरुद्ध शितगंगाको सुवर्णखालबाट झोलुंगेपुल जाने सडक खुलाउन पानी बन्द भएपछि सुरु गरिएको छ, शितगंगा–१ का वडाध्यक्ष मानबहादुर सिंजापतीले भने, गाउँबाट मुख्य सडक छुने एउटा सडक तत्कालै खुलाउँछौँ ।
जिल्लामा भित्रिने विकास बजेटको सबैभन्दा ठुलो हिस्सा सडक निर्माणमा हरेक वर्ष खर्चने गरिएको छ । मिल्ने सम्मको बजेट रकमान्तर गरेर सडकमै लगानी गरिएको छ । अर्घाखाँचीमा ठाउँ विशेष र आवश्यकता पहिचान गर्नुभन्दा पनि घरघरमा सडक पुर्याउने होडबाजी नै चलेकाले पानी पर्नासाथ ग्रामीण भेगका सडकमा सवारी गुड्नै छोड्छन् ।
वार्षिक करोडौँ रकम खर्चेर खोलिएका नयाँ ट्याक र मर्मत गरिएका सडक सामान्य वर्षाका कारण पनि अवरुद्ध हुने नियति यस वर्ष पनि यथावत् छ । करोडौँको लगानी सडकमै गरिए पनि स्थानीयवासी भने पैदल यात्रा गर्न बाध्य छन् ।
शितगंगा भूगोलका कारण धेरै भूभाग भएका कारण पनि बर्खामा सवारी साधनको प्रयोग गर्न शितगंगाबासीलाई अवसर सहजै प्राप्त हुँदैन ।
जिल्लामा सयौँ बढी ग्रामीण सडकहरू छन् ।
जिल्लामा रहेका ६ स्थानीय सरकार, पूर्वाधार कार्यालय, ढोरपाटन सडक आयोजना, शिवपुर सडक आयोजना लगायतको क्षेत्र सडक नै हो । तर दीर्घकालीन रूपमा सडकमा नाली सहितको व्यवस्थापनमा ध्यान नदिँदा ग्रामीण भेगमा सधैँ बर्खामा समस्या पर्ने गरेको छ ।
सडक खुलाउन प्रहरी सक्रियता
अर्घाखाँची भित्रिने मुख्य सडक गोरुसिङ्गे–सन्धिखर्क सडक खुलाउन नेपाल प्रहरी, सशस्त्र प्रहरीको पहल निकै सराहनीय रहेको छ । रातको समयमा पनि प्रहरीले सडक खुलाउन पहल गरेको छ ।
सोमबार राति अवरुद्ध भएको बाटो खुलाउन प्रहरी चौकी नरपानीको टोली सहितले घुम्तीमा अवरुद्ध सडक राति नै खुलाएको हो । मंगलबार पनि दिनभर पानी परिरहेका कारण पहिरो झरी ठाउँ ठाउँमा सडक अवरुद्ध भएकाले घुम्तीदेखि शितगंगाको क्षेत्रमा प्रहरी परिचालन गरी सडक खुलाइएको हो, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले भने अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गर्दछु ।
मुख्य सडक बन्द हुँदा बिरामी लैजान समेत समस्या हुने भएपछि इलाका प्रहरी कार्यालय ठाडा, प्रहरी चौकी नरपानी, सडक विभाग, स्थानीय सरकारको टोलीले सडक अवरुद्ध हुँदा एकतर्फी सुचारु गरिरहेको छ । सन्धिखर्क गोरुसिङ्गे अर्घाखाँची जिल्लालाई जोड्ने प्रमुख सडक हो ।