अबिरल वर्षाका कारण पहिरो खस्दा गुल्मीको कालीगण्डकी करिडोरसहितका मुख्य सडकहरु अवरुद्ध भएका छन् । कालीगण्डकी करिडोरको रिडी– पुर्तिघाट सडक खण्डमा वडा नम्वर दुईको गरगरे, मुल्क र वडा नम्वर तीनको कनौटामा पहिरो खसेको छ ।
यस्तै रिडी– वामी सडक खण्डको सत्यवती गाउँपालिका वडा नम्वर ६ स्थित डहरे खोलामा पानीको वहाव बढेका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । रिडी– तम्घास सडक खण्डको रुरुक्षेत्र गाउँपालिका वडा नम्वर तीन सल्लेरीमा पहरोका कारण सडक अवरुद्ध भएको छ ।
यस्तै सत्यवती गाउँपालिकाको वडा नम्वर ५ स्थित बाँदरे भिरमा सडक माथिबाट ठुलो ढुंगासहितको पहिरो खसेका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए । सडक अवरुद्ध हुँदा लामो तथा छोटो दुरीका सवारीहरु चल्न सकेका छैनन् ।