Butwal Today

गुल्मीका  आठ स्थानीय  सरकार : शिक्षक र प्रासकै भरमा  शिक्षा शाखा

१८ श्रावण २०८२, आइतबार
अ+
अ-

गुल्मी,१८ साउन ।  

गुल्मीका आठ स्थानीय सरकारका शिक्षा शाखा शिक्षक र प्राविधिक सहायककै भरमा चलेका छन् । शिक्षा शाखामा शिक्षा अधिकृतको दरबन्दी भए पनि लामो समयदेखि अधिकृत नहुँदा  अधिकृतले गर्ने कार्य सम्पादन प्रभावित बन्दै आएका छन् ।  अधिकृत नहुँदा शिक्षककहरुको विदा स्वीकृत र कार्यसम्पादनमा समस्या आउने गरेको छ । शिक्षा अधिकृत नहुँदा स्थानीय सरकारका प्रमुख तथा अध्यक्षहरुले आफू अनुकुलका शिक्षकलाई पालिकामा काजमा खटाउने त कतै प्राविधिक सहायकलाई  शिक्षा शाखा प्रमुखको जिम्मेवारी प्रदान गर्दै आएका छन् ।

मालिका,रुरुक्षेत्र,गुल्मीदरबार, छत्रकोट र कालीगण्डकी गाउँपालिकामा केही समय शिक्षा अधिकृत भएपनि विगत पाँच वर्षदेखि त्यी गाउँपालिका पनि शिक्षा अधिकृतविहीन नै रहेका छन् ।

शिक्षक र प्रासले नै चलाएका छन् : समन्वय इकाई

शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका प्राविधिक सहायक रामप्रसाद पन्थीका अनुसार जिल्लाको कालीगण्डकी, सत्यवती, रुरुक्षेत्र, छत्रकोट, गुल्मीदरबार, धुर्कोट,  मालिका र इस्मामा  शिक्षा अधिकृत नभएको बताए ।  कतै बिद्यालयका शिक्षक र कतै प्राविधिक सहायकको भरमा शिक्षा शाखा चल्दै आएको उनको भनाइ छ । स्थानीय तहमा शिक्षा अधिकृत नहुँदा  दैनिक कार्यसम्पादनका साथै विदा स्वीकृत र कार्यसम्पादनमा समस्या आउने गरेको पन्थीले बताए ।

माध्यमिक तहका शिक्षक शाखा प्रमुख

कालीगण्डकी गाउँपालिकाका शिक्षा शाखा प्रमुख अग्निधर पराजुली जिवनोद्धार माध्यमिक विद्यालयका माध्यमिक प्रथम श्रेणीको शिक्षक हुन् । उनलाई पालिकाले शिक्षा शाखा प्रमुखको जिम्मेवारी दिएर राखेको छ । उनलाई शिक्षा शाखा प्रमुखको जिम्मेवारी दिए पनि उनले शिक्षकहरुको विदा स्वीकृत र कार्यसम्पादन मुल्याङकन गर्ने अधिकार भने छैन् ।

 

प्रमुखको जिम्मेवारी, अधिकार शुन्य

गुल्मीदरबार गाउँपालिकाका सहायक शिक्षा अधिकृत तथा शिक्षा शाखा प्रमुख रोमनाथ कंडेलले आफू शिक्षा शाखा प्रमुखको जिम्मेवारीमा भएपनि अधिकृतको अधिकार भने नभएको गुनासो गरे । शिक्षकहरुको  विदा स्वीकृत गर्ने र कार्यसम्पादन मुल्याङकन गर्ने अधिकार आफूमा नभएको उनको भनाइ छ । सबै कार्य गर्ने अधिकार शिक्षा अधिकृतलाई रहेको उनले बताए । पालिकामा शिक्षकको विदा प्रमुख प्रशासकीय अधिकृतले गर्ने र कार्यसम्पादन मुल्याङकन शिक्षा विकास तथा समन्वय इकाइले खटाएको शिक्षा अधिकृतबाट हुँदै आएको उनको भनाइ छ ।

 

अधिकृत माग्यो पठाउँदैनन्

रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले लुम्बिनी प्रदेशको लोक सेवा आयोगमा शिक्षा अधिकृतको माग गरी पठाएको बताए । पालिकाले माग गरी पठाए पनि विगत दुई वर्षदेखि प्रदेश लोक सेवा आयोगले अधिकृत स्तरको पदपुर्ति नगरेका कारण समस्या हुँदै आएको उनको भनाइ छ ।

 

अव हुन्छ, प्रदेश लोकसेवा आयोग

यता लुम्बिनी प्रदेश, लोक सेवा आयोगका प्रवक्ता यमकान्त पाण्डेयले स्थानीय सरकारको जनशक्ति ब्यबस्थापनका लागि कानून अभावका कारण पहिले समस्या भएको बताए । अहिले स्थानीय निजामती सेवा ऐन २०८१ आएकाले कानूनी अड्चन हटेको उनको भनाइ छ । अहिले साउन १ गते नै कार्यालयले कार्यतालिका सार्वजनिक गरिसकेकाले कार्यतालिका अनुसार नै विज्ञापन गर्ने गरी आफूहरु अगाडि बढेको उनले बताए । स्थानीय तहबाट रिक्त दरबन्दीको विवरण माग गरेकाले  आठौँ,नवौँ र एघारौँ तहको भदौ महिनाको अन्तिम शुक्रबार विज्ञापन हुने कार्यतालिका छ ।  यसै गरी अधिकृत स्तरका लागि असोजको अन्तिम शुक्रबार विज्ञापन हुने उनको दाबी छ ।