© २०२३
भैरहवा, १४ साउन ।
जिल्लामा सिञ्चित क्षेत्रको तथ्याङ्क र वास्तविक अवस्थाबिच भिन्नता देखिएको छ । सरकारी तथ्याङ्कमा जिल्लाको ठुलो हिस्सा सिञ्चित भनिए पनि किसानहरूले खेतमा पानी नपाउँदा निराशा व्यक्त गरेका छन् ।
आकाशे पानीकै भर परेका रुपन्देहीका किसानहरूका लागि लामो समयदेखि वर्षा हुन नसक्दा चिन्ता थपिदिएको छ । रुपन्देहीमा भूमिगत जलको प्रयोग गरी जेनतेन रोपाइँ गरेका किसानहरूका लागि अहिले रोपाइँलाई जोगाउनै ठुलो चुनौती देखिएको छ ।
खेतमा चिरा पर्न थालेको छ भने रोपिएका धानका कलिला बीउहरू सुक्न थालेका छन् । अझै केही दिन वर्षा नभए कृषि उत्पादनमा नकारात्मक असर पर्ने भन्दै किसानहरूको चिन्ता झनै बढाएको छ ।
रुपन्देहीमा अहिले जलश्रोत तथा सिँचाई डिभिजन कार्यालय, भैरहवा लुम्बिनी भूमिगत जल सिँचाई व्यवस्थापन डिभिजन (हाल भूमिगत जल सिँचाई आयोजना), भूमिगत जलश्रोत तथा सिँचाई डिभिजन कार्यालय लगायतले सिँचाई सम्बन्धी काम गर्ने सरकारी कार्यालयहरू छन् ।
यस बाहेक प्रत्येक स्थानीय तहका कृषि शाखाले पनि सिँचाइको लागि काम गरिरहेको आ–आफ्नै दाबी छ । यी कार्यालयहरूको तथ्याङ्कअनुसार रुपन्देहीको करिब ९० प्रतिशत कृषियोग्य भूमि सिञ्चित क्षेत्र भित्र पर्छ । पर्याप्त सिँचाइ सुविधा पुगेको दाबी गरिए पनि यस वर्षको खडेरीले यो दाबीलाई झूटो साबित गरिदिएको छ ।
२ दशक बढी समय र २ अर्ब ३४ करोड ९५ लाख ३३ हजार रुपैयाँको लागतमा सम्पन्न भएको भैरहवा लुम्बिनी भूमिगत जल (भैलुभज) परियोजना अहिले अलपत्र अवस्थामा रहेको छ ।
रुपन्देहीको विकास निर्माणमा र सिँचाइमा समेत महत्त्वपूर्ण भूमिका खेलेको परियोजना पछिल्लो समय सम्बन्धित कार्यालय र स्थानीय तहहरू बिच समन्वय हुन नसक्दा अलपत्र परेको छ ।
समयमा मर्मत नगरिँदा भूमिगत सिँचाइ परियोजनाका धेरै नलकुप बन्द भएका छन् । ४० हजार हेक्टर जग्गा सिँचाई गर्ने लक्ष्य सहित विश्व बैकले निर्माण गरिदिएको भैरहवा लुम्बिनी भूमिगत जल परियोजनाले हाल १० हजार हेक्टर जमिनमा पनि सिँचाइ गर्न सकिन्न ।
परियोजनाका १ सय ६९ बोरिङमध्ये ५० भन्दा बढी पूर्ण रूपमा बन्द छन् । थप केहीको क्षमता पनि निकै खस्केको छ । अधिकांश उपभोक्ता समितिले विद्युत् महसुल नतिर्दा, उपकरण र नहर जीर्ण हुँदा बोरिङ बन्द भएका छन् ।
बढ्दो सहरी करण, सिँचाइका वैकल्पिक व्यवस्था र बिद्युत् शुल्कको कारण यी नलकुप बन्द भएको सरोकारवालाको भनाइ छ । भैरहवा लुम्बिनी भूमिगत जल सिँचाई व्यवस्थापन कार्यालय भैरहवाका सूचना अधिकारी मोहन कुमार नेपालका अनुसार १ सय ६९ वटा बोरिङ मध्ये ५० वटा बोरिङहरू बन्द रहेका छन् । बन्द हुने कारण यी मध्ये प्रायः सबैको बिद्युत् शुल्क बक्यौता रहनु नै हो ।
उपभोक्ताले पानी प्रयोग गरी पानीको शुल्क नतिर्ने, मंहगो विद्युत शुल्कको कारणले बन्द भएको प्रायः नलकुपहरूले शुल्क बुझाउन सकेका छैनन् । सिँचाई सम्बन्धी काम हेर्ने सङ्घीय सरकार अन्तर्गतकै अर्को कार्यालय जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय हो ।
कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/०८२ को पुस मसान्त सम्म जिल्लामा २२ हजार २४९ हेक्टर क्षेत्रफल यस कार्यालय मार्फत सिञ्चित छन् । यसमा कुलोबाट ६ हजार ६८, नहरबाट १५ हजार ७६९, पोखरीबाट ३१२ र अन्य श्रोतबाट १ सय हेक्टर सिञ्चित रहेको कार्यालयको तथ्याङ्क रहेको छ ।
सिँचाई सम्बन्धी नै हेर्ने भूमिगत जलश्रोत तथा सिँचाई डिभिजन कार्यालय पनि छ । यो प्रदेश मातहतको कार्यालय हो । कार्यालयका वरिष्ठ इन्जिनियर राजु अर्यालका अनुसार यस कार्यालयबाट रुपन्देहीमा १६ हजार ५५३ हेक्टर जग्गा सिञ्चित रहेको छ ।
जिल्लाका यी ठुला आयोजनाहरूको तथ्याङ्कलाई केलाउँदा स्थानीय तहहरूको समेत गरी जिल्लामा सत प्रतिशत सिञ्चित क्षेत्र हुनुपर्ने हो र यहाँ पानीको कुनै समस्या हुन नपर्ने हो । तर रुपन्देहीमा ४० प्रतिशत क्षेत्रफल मात्र पूर्ण रूपमा सिञ्चित रहेको पाइएको छ ।
कृषि ज्ञान केन्द्र रुपन्देहीका प्रमुख शिव प्रसाद अर्यालले रुपन्देहीमा ४० प्रतिशत क्षेत्रफल मात्र सिञ्चित रहेको जानकारी दिए । रुपन्देही जिल्लाको कुल क्षेत्रफल १ लाख २९ हजार ७४९ हेक्टर रहेकोमा कुल खेतीयोग्य जग्गा ८२ हजार ६२२ हेक्टर छ ।
यस मध्ये पनि ८० हजार १ सय २२ हेक्टरमा मात्र खेती हुने गरेको अर्याल बताउँछन् । यी मध्ये धान खेती ६० हजार हेक्टरमा मात्र हुने गरेको छ ।
वर्ष भरि पानी पाएर सिञ्चित हुने क्षेत्र भने २३ हजार १९५ हेक्टर अर्थात् ४० प्रतिशत मात्र रहेको अर्यालले बताए ।
६० प्रतिशत अर्थात् ३४ हजार ७९३ हेक्टरमा आंशिक रूपमा मात्र सिँचाई पुगेको छ ।“सिँचाइ विभागको नक्सामा हाम्रो खेतमा नहरको पानी पुगेको देखाइन्छ,” सिद्धार्थनगर नगरपालिकाका एक किसान नगेन्द्र कुर्मी भन्छन्, “तर वर्षा नहुँदा नहरमा पानी छैन, मोटर चलाएर पनि पर्याप्त पानी आउँदैन । सरकारी तथ्याङ्क केवल कागजमा मात्र सीमित छ ।”
विशेष गरी धान रोपाइँ पछिको यो महत्त्वपूर्ण समयमा पानीको अभावले किसानहरूले चरम सास्ती भोगिरहेका छन् । सरकारी तथ्याङ्कले सिञ्चित देखाएको क्षेत्रमा समेत पर्याप्त पानी छैन । सिँचाइ सुविधाको पहुँच नभएका किसानहरूको अवस्था झनै नाजुक छ ।
पानीको अभावले धानका बिरुवा सुक्न थालेका छन् भने अन्य बालीहरूमा पनि नकारात्मक असर परेको छ । यसले यस वर्ष रुपन्देहीको कृषि उत्पादनमा गिरावट आउने निश्चित प्रायः छ, जसको प्रत्यक्ष मार किसान र समग्र अर्थतन्त्रमा पर्नेछ ।
रुपन्देहीमा सिँचाइका लागि करोडौँ रुपैयाँ लगानीमा बनेका पूर्वाधारहरू छन् । तर, वर्षाको अभावमा नदीहरूमा पानीको बहाव घट्दा र भूमिगत जल स्तरमा कमी आउँदा ती पूर्वाधारहरूको पूर्ण उपयोग हुन सकेको छैन । नहरका कतिपय शाखा र उपशाखाहरू जीर्ण भएकाले मर्मत सम्भारको अभावमा पनि पानी खेतसम्म पुग्न नसकेको किसानहरू बताउँछन् ।
अधिकांश किसानले बोरिङ मार्फत भूमिगत पानी निकालेर आफै रोपाइँ गरेका छन् यसरी रोप्दा ३ किलोमिटर सम्म डेलिभरी पाइपमार्फत टाढा–टाढाबाट पानी ल्याउने गरेका छन् । सिँचाइ अभाव हुँदा धान खेतीमा लागत बढेको किसान बताउँछन् । मर्चवारी–६ पिपरहवाका प्रह्लाद चौधरीले यस वर्ष १ विगहामा धान खेती गरेका छ ।
उनको खेत आसपास सिँचाइका लागि पानीको स्रोत छैन । समस्या समाधानका लागि बोरिङ गाड्ने प्रयास गरे । तर पानीको सतह न भेटेपछि हार खाए । प्रत्येक वर्ष आकाशे पानीको भरमा खेती गर्दै आएका उनले विकल्प नभएपछि एक किलोमिटर टाढाको डन्डा खोलामा पम्पसेट चलाएर पाइपबाट पानी ल्याएको बताए ।
“महँगो लागत लगाएर धान त रोपियो, तर अहिले खेतमा धाँजा फाटेको छ । अब यसलाई जोगाउनै धौ धौ परेको छ ।” उनले भने “अबको केही दिन पानी नपरे सबै लगानी खेर जानेछ ।”सिँचाइको अभावमा बालीहरू सुक्न थालेकाले किसानहरूले ठुलो आर्थिक नोक्सानी व्यहोर्नुपर्ने अवस्था आएको छ ।
रुपन्देहीका किसानहरूले खडेरी प्रभावित किसानहरूलाई तत्काल राहत प्याकेज घोषणा गर्न, सिँचाइको वैकल्पिक व्यवस्था मिलाउन र कृषि ऋणमा सहुलियत दिन सरकारसँग आग्रह गरेका छन् ।
यदि तत्काल पहल नभए यस वर्ष रुपन्देहीको कृषि उत्पादनमा ठुलो गिरावट आउने र त्यसले समग्र जिल्लाको अर्थतन्त्रमा नकारात्मक असर पार्ने निश्चित प्रायः देखिन्छ ।
सिञ्चित क्षेत्रको वास्तविक अवस्थाको मूल्याङ्कन गरी तथ्याङ्कलाई यथार्थपरक बनाउनुपर्ने, सिँचाइ पूर्वाधारको नियमित मर्मत सम्भार गर्नुपर्ने र पानीको वैकल्पिक स्रोतको खोजी तथा उपयोगमा जोड दिनुपर्ने आवश्यकता रहेको किसानहरूको भनाई छ ।
अन्यथा, तथ्याङ्कमा सिञ्चित देखिए पनि रुपन्देहीका खेतहरू सधैं प्यासै रहने जोखिम बढ्नेछ ।