© २०२३
जिल्लाको १ लाख ७७ हजार जनसंख्यामध्ये १ लाख ४० हजार कृषि पेशामा आश्रित छन् ।
आ.व. २०७५/७६ मा ३१,८९८ मेट्रिक टन दूध उत्पादन भएको थियो । ६ वर्षमा १३.२२% वृद्धि हुँदै २०८१/८२ मा ३६,११५ मेट्रिक टन पुग्ने अनुमान ।
दूध गुल्मी, कपिलवस्तु, रुपन्देही, पाल्पा, प्युठानमा निर्यात ।
अर्घाखाँची, १४ साउन ।
अर्घाखाँची जिल्लामा मासु र दूध उत्पादनमा वृद्धि भएको छ । जिल्लाको कुल १ लाख ७७ हजार जनसङ्ख्या मध्ये १ लाख ४० हजार कृषिमा आश्रित जनसङ्ख्या छन् । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीका अनुसार ४५ हजार १९ कृषक परिवार सङ्ख्या रहेका छन् ।
आ.व. २०७५/०७६ मा ३१ हजार ८९८ लिटर मेट्रिक टन दूध उत्पादन भएकोमा ६ वर्षपछि अर्थात् आ.व. २०८१/०८ मा ३६११५ लिटर मेट्रिक टन दूध उत्पादन हुन लागेको छ ।
६ वर्षमा अर्घाखाँची जिल्लामा मात्रै दूध उत्पादन १३.२२ प्रतिशतले बढी उत्पादन भएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख विष्णु पौडेलले जानकारी दिए ।
जिल्लामा ६ वर्षको तुलनामा मासु उत्पादन पनि बढ्दै गएको छ । ६ वर्ष अगाडि २९२७ किलो मेट्रिक टन मासु उत्पादन भएकोमा गत वर्ष ३७७३.२५ किलो मेट्रिकटन मासु उत्पादन भएको विज्ञ केन्द्रको तथ्याङ्क रहेको छ ।
६ वर्ष अगाडि अण्डामा पनि आत्मनिर्भर बनेको अर्घाखाँचीमा अहिले अण्डा उत्पादन भने घटेको छ । ६.६२ प्रतिशतले अण्डा उत्पादनमा कमी आएको हो । गत वर्ष ७७३८.२६ हजार गोटा अण्डा उत्पादन भएको हो, ६ वर्ष अगाडि ८२८७ हजार गोटा अण्डा उत्पादन हुने गरेको थियो । मासु र दूधमा अर्घाखाँची आत्मनिर्भर बन्दा अण्डा भने निर्यात गर्नुपरेको छ ।
अर्घाखाँचीमा ३६११५ वटा दूध दिने गाईभैसी रहेका छन् । जिल्लामा २४ कृत्रिम पोखरीमा माछा पालन व्यवसाय पनि सञ्चालन हुँदै आएको छ । मासुमा आत्मनिर्भर भएको अर्घाखाँचीमा उत्पादनलाई वृद्धि गर्न मालारानी गाउँपालिकामा बाख्रा श्रोत केन्द्रको स्थापना गर्नका लागि जग्गा खरिद भइसकेको छ ।
प्रस्तावित बाख्रा श्रोत केन्द्र वरिपरिको सरकारी सामुदायिक तथा निजी जग्गा ५०० रोपनी क्षेत्रफल बराबरको विवरण तयार गरी मन्त्रालयमा पेस भइसकेको छ, प्रमुख पौडेलले भने ‘मन्त्रालयबाट गठन गरिएको सम्भाव्यता अध्ययन समितिले जिल्ला स्थित सरोकारवाला निकायहरूसँग समन्वय गरी प्रस्तावित क्षेत्रको अवलोकन-अनुगमन गरिसकेको छ, मन्त्रालयमा प्रतिवेदन पेस गरिएको छ, यसको प्रक्रिया अगाडि बढाउँदै छौँ ।’
स्रोत केन्द्र स्थापना सँगै उत्पादनमा वृद्धि, उन्नत जातका बाख्रा पाइने हुँदा जिल्लाका कृषकलाई थप सहज हुन्छ ।अर्घाखाँचीमा उत्पादन भएको दूध र मासु तराईका जिल्लामा समेत खपत हुन्छ ।
दूध गुल्मी, कपिलवस्तु, रुपन्देही, पाल्पा र प्युठानमा निर्यात हुन्छ । मासुमा खसी बोका लुम्बिनी प्रदेश सहित काठमाडौँ सम्म बिक्रीका लागि पठाउने गर्छन् ।
अण्डा केही मात्रामा बाहिरबाट आयात भएको छ । बजारमा कुखुराको मासु किलोको ३ सय २०, खसी बोकाको किलोको ९ सय रूपैँयामा बिक्री भइरहेको छ । मासुका लागि चल्ला अर्घाखाँचीको शितगंगामा उत्पादन हुने गर्छ । अन्य चितवन र बुटवलबाट ल्याइन्छ ।
‘मासुका लागि अर्घाखाँची आत्मनिर्भर छ,’ पौडेलले भने ‘उन्नत जातका खसी बोका, पाडा, कुखुरा पाल्नका लागि फर्म दर्ता गर्नेलाई अनुदान दिएपछि उत्पादन बढ्दै गएको छ ।
भूगोलका आधारमा सबैभन्दा बढी क्षेत्रफल रहेको शितगंगा तराईका जिल्लासँग सिमाना जोडिएका कारण पनि उत्पादन भएको सामाग्री विक्री वितरण गर्नमा सहजता भएको र बजारीकरणका लागी नगरपालिकाले पहल गर्दै आएको नगरप्रमुख छविलाल पौडेलले बताए ।
शितगंगामा जताततै जङ्गलको क्षेत्रफल भएका कारण शितगंगा नगरपालिका बाख्रा पालनका उपयुक्त छ । शितगंगा पशुपालनसँगै कुखुरा पालन र तरकारी खेतीका लागी पनि उपयुक्त छ, नगरका योजना शाखा प्रमुख नुमलाल खनालले भने, गत वर्ष १० हजार खसी बोका नगरबाहिर निर्यात भएको हो ।’
उपयुक्त चरन क्षेत्र, बाख्रा पालनका लागि उपयुक्त वातावरण र विक्रीका लागि बजारको सहजताका कारण पनि कृषकहरू बाख्रा पालनमा आकर्षित छन् ।