पाल्पा, ९ साउन ।
गत बैशाखमा रिब्दीकोट गाउँपालिका देउरालीको सामुदायिक वनमा भिषण आगो लाग्दा तानसेन नगरपालिकाबाट गएको दमकलले आगो नियन्त्रण ग¥यो । त्यही वैशाख महिनामै वगनासकाली गाउँपालिकाको दर्लाम डाँडा पनि मध्य दिनमा जंगलमा डढेलो लाग्यो । त्यही तानसेन नगरपालिकाको दमकलबाट आगो नियन्त्रण हँुदा आगो मानव बस्ती सम्म पुग्न सकेन । तानसेन नगरपालिकाबाट संचालित दमकलले रभ्मा गाउँपालिकाको हुमिन बजारमा समेत पुगेर आगो नियन्त्रणमा लिएको नगर सरकारका सुचना अधिकारी भरत आचार्य बताउँछन् ।
रामपुर नगरको दमकलले नगर क्षेत्र मात्र नभई रम्भा, निस्दी गाउँपालिका सम्म पुगेर आगो नियन्त्रण गरेको नगर सरकरका प्रवक्ता कपिल खाँण बताउँछन् ।
सुख्खा मौसममा वनजंगलमा लागेको आगो मानव बस्ती नजिक पुग्न लागेपछि टाढा टाढा बाट बोलाउने गर्दछन् । अर्कोतर्फ आगो नियन्त्रणका लागि दिगो व्यवस्थापनतर्फ स्थानीय सरकारले ध्यान नदिदा नगरपालिकाको दमकलले सेवा दिएको हो ।
सुख्खा मौसमको थालनीसंगै आगोलागीको घटना बढ्दो हुन्छ । प्रत्येक वर्ष डढेलोको समस्या पनि बढदो अवस्थामा छ । प्रमुख जिल्ला अधिकारीको कार्य कक्षमा बस्ने विपत् प्रतिकार्य बैठकमा गाउँपालिकाका प्रमुखहरुले दमकल खरिद गर्न भनेको पनि आठ वर्ष भयो । तर अहिले सम्म गाउँपालिकाहरु दमकलबिहीन भएको जिल्ला विपत् प्रतिकार समितिका एक सदस्यले बताए ।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी पनि स्थानीय तहमा अब दमकल अपरिहार्य भएको बताउँछन् । दमकल खरिदको प्रकृया अगाडि बढाए आफुले भन्सार छुटका लागि पत्राचार गर्ने उनी बताउछन् । स्थानीय सरकार दाताको भर पर्दा गाउपालिका दमकलविहीन हुन पुगेको उनले बताए ।
संघीय संरचनाको निर्माण भएसँगै स्थानीय सरकारको गठन भएको हो । स्थानीय तह तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय सरकार चलेका छन् । त्यही ऐनमा दमकल राख्नु पर्ने भन्ने छ ।
जनप्रतिनिधिहरुको इच्छा नहुदा गाउपालिका दमकलबिहीन हुन पुगेको निस्दी गाउपालिका मित्यालकी स्थानीय देवीमाया सोती बताउँछिन् ।
निस्दी गाउपालिकाका अध्यक्ष मुक्तबहादुर सारु भन्छन् – “दमकल त हाम्रो आवश्यकता हो दमकल भन्दा पहिले दमकल पुग्ने बाटो चाहियो नि, अनि दमकल चलाउने चालक आवश्यकता छ, आउने दिनहरुमा यसतर्फ ध्यान दिने छौं ।”
जिल्लामा १० स्थानीय तहमध्ये दुई वटा नगरपालिकामा मात्र दमकल छ । बाकी सबै गाउपालिका भने नगरको दमकलमा आश्रित भएका छन् ।