© २०२३
गुल्मी, ७ साउन ।
कालीगण्डकी करिडोरको यात्रामा सधै पहिरोको त्रास मात्रै हुने गरेको छ । जसले गर्दा जोखिम मोलेरै यात्रा गर्न बाध्य भएको सवारीचालक र यात्रुहरुले गुनासो गर्दै आएका छन् ।
गुल्मीको हर्मिचौर अर्वेनी सडक खण्डको वडा नम्वर २ को गरगरे भीर र वडा नम्वर ६ को बरल्वामा पानी पर्दा वा चर्को घाम लाग्दा सडक माथिबाट ठुलो चट्टानसहित पहिरो खस्ने गरेका कारण सडक अवरुद्ध हुँदै आएकोे छ । यस स्थानमा अहिले मात्रै नभइ विगतका वर्षहरुदेखिनै पहिरोको समस्या झेल्न बाध्य भएका छन् करिडोरमा यात्रा गर्ने यात्रुहरु । बुटवल पुर्तिघाट सधै यात्रा गर्ने सवारी चालक रामु पाण्डेले उक्त स्थान पार नगरेसम्म कति बेला पहिरो खसेर सडक अवरुद्ध हुन्छ भन्ने चिन्ताले सताउने गरेको गुनासो गरे । कालीगण्डकी करिडोमा यात्रा गर्दा ज्यान नै जोखिममा राखेर यात्रा गर्न बाध्य भएको उनले बताएका छन् ।
यस्तै कालीगण्डकी गाउँपालिका वडा नम्वर एकका सवारी चालक गगन तरामुले पनि यस क्षेत्रको यात्रा निकै पीडादायी हुने गरेको बताए । मिर्मी देउराली गर्दा पटक पटक यस क्षेत्रको पहिरोबाट ज्यान बचाउन सफल भएको उनको भनाइ छ । यस क्षेत्रमा पानी पर्दा पनि र चर्को घाम लाग्दा पनि पहिरो खस्ने जोखिम रहेकाले यसको समाधान नखोज्दासम्म सधै समस्या रहिरहने उनको तर्क छ । उक्त स्थान सधैका लागि रोगी भएकाले समयमै यसको उपचार खोज्नुपर्नेमा अन्य सवारी चालकसँगै सवारी धनि र सरोकारवालाहरुले सुझाव दिएका छन् ।
कालीगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष वेदबहादुर थापाले गरगरे भीर रोगी भएकाले पहिरो रोकथामका लागि उपयुक्त विधि खोज्नुपर्नेमा जोड दिएका छन् । पानी परे लगत्तै उक्त स्थान सुरक्षित नभएकाले सम्बन्धित कार्यालयसँग आफूले समन्वय गर्दै आएको उनले दाबी गरे ।

यता कालीगण्डकी करिडोर गैंडाकोट,राम्दी, मालढुङगा सडक योजना कार्यालयका प्रमुख कल्पना अधिकारीका अनुसार उक्त स्थानको पहिरोका लागि अध्ययन गर्न सम्बन्धित निकायमा लेखी पठाएको बताइन् । गरगरेसहित कालीगण्डकी करिडोरमा करिव १० वटा पहिरोहरुको अध्ययन गर्नुपर्ने भएकाले विभागमा लेखी पठाएको र आगामी आर्थिक वर्षमा काम हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।
कालीगण्डकी करिडोरको गुल्मी रिडीदेखी वलेवासम्मको भीरमा नेपाली सेनाले पाँच वर्ष अघि बम बिस्फोट गराएर ट्याक खोलेको थियो ।