© २०२३
बैंक तथा वित्तीय संस्थाहरू आ.व. २०८१÷८२ को अन्त्यतिर क्लोजिङमा व्यस्त छन् । नयाँ आर्थिक वर्ष २०८२÷८३ साउन १ गतेबाट सुरु हुँदैछ । बैंकहरु नयाँ नयाँ योजना बनाउदै छ्न । एनएमबि बैंकले दिगो बैंकिङ्ग र डिजिटल बैंकिङ्गलाई केन्द्रमा राख्दै समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने क्षेत्रमा बैंकका प्राथमिकताहरु निर्धारण गरेको छ । यसै सन्दर्भमा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुलीसँग गरिएको संवादः
अहिले आर्थिक वर्ष २०८१÷८२को अन्तिम चरणमा छौं, कत्तिको व्यस्त हुनुहुन्छ ?
हो, हामी अहिले आ.व. २०८१÷८२ को अन्त्यतिर छौं । बैंकिङ्ग र व्यस्तता एक आपसका परिपुरक नै हुन् । तर पनि असार, आव २०८१÷८२ को करिब करिब पुर्वसन्ध्यामा छौ । असारका केही दिन मात्रै बाँकी छन्, र बैंकहरू विशेषगरी कर्जा असुलीमा निकै व्यस्त छन् । यद्यपि, बैंकहरू हरेक तीन महिनामा क्लोजिङ गर्छन् –असोज, पुस, चैत र असार मसान्तमा । तर, आ.व.को अन्तिम क्लोजिङले सम्पूर्ण वित्तीय विवरणमा ठूलो प्रभाव पार्छ । कति कर्जा प्रवाह भयो, कति डिपोजिट संकलन भयो, नाफा र खराब कर्जाको अनुपात कति रह्यो – यी सबै कुरा बार्षिक नतिजासँग जोडिन्छन् । त्यसैले हामी अहिले थप मेहनतका साथ कार्यरत छौं। खासगरी यो बर्षको समग्र उपलब्धिहरुको समिक्षा र कर्जा असुलीमा पुर्ण रुपमा केन्द्रित छौ। बैंकको बटमलाइन खुद नाफा हुने र अहिलेको परिस्थितिमा कर्जा असुलीको असर बढी रहने हुदा आफ्ना सम्पुर्ण संयन्त्रहरु यसैमा परिचालन गरिएको अवस्था छ।
एनएमबि बैंकको कर्जा, निक्षेप र असुलीको अवस्था कस्तो छ अहिले ?
एनएमबि बैंकको समग्र सुचांकहरु उत्साहजनक छन् । केही वर्ष अघिसम्म बैंकहरुमा ‘डिपोजिट छैन’, ‘कर्जा पाइँदैन’, ‘ब्याजदर धेरै छ’ भन्ने गुनासो सुनिन्थ्यो । एनएमबि बैंकसँग पर्याप्त डिपोजिट छ, लगानीयोग्य पूँजी प्रशस्तै छ र ब्याजदर एकल अंक भन्दा पनि तल झरेको छ । कर्जा प्रवाह सन्तुलित रूपमा भइरहेको छ । केही शिथिलता हुँदा पनि यो वर्ष हामीले कर्जा विस्तारमा व्यापक फड्को मारेका छौ । विशेषगरी रिटेल्स सेग्मेन्टमा हाम्रो लगानी ज्यादा छ । सुचांकले पनि त्यही देखाउँछ । कर्जा असुली पनि सकारात्मक छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार असुली प्रक्रियामा पनि सहज भएको छ । हामी बैंकहरूले देशमा द्वन्द्व, भूकम्प, कोभिड जस्ता चुनौतीहरूमा पनि सेवा निरन्तर दिइरहेका थियौ र जनताको विश्वास जित्न सफल भएका छौ । अहिले पनि केही समस्याका बाबजुद क्रमिक रुपमा बैंकिङ्ग सेवा अनुकूलतातर्फ गएको छ ।
एनएमबि बैंकले कुन क्षेत्रलाई प्राथमिकता राखेको छ ?
एउटा नियमित र परम्परागत बैंकिङ्ग सबै बैंकले गरिरहेका छ्न । यसका अतिरिक्त हामी एनएमबि बैंकले आफ्नो आन्तरिक सक्षमता र सबलीकरण बढाउँदै आफ्ना लगानीलाई समग्र अर्थतन्त्रलाई सकारात्मक योगदान दिने क्षेत्रहरु जस्तै जलविद्युत, हाइड्रो, कृषि, नवीकरणीय उर्जा जस्ता महत्वपुर्ण क्षेत्रहरुमा केन्द्रित गरेका छौ । अर्को महत्त्वपूर्ण प्राथमिकता हो –डिजिटाइजेसन । एनएमबि बैंकले डिजिटल फस्र्ट अभियान अगाडि बढाएको छ। बैंकले एटीएम, मोबाइल बैंकिङ, क्युआर पेमेन्ट, कर्पोरेट पे, बैंकिङ, भिडियो केवासीमार्फत अनलाइन खाता खोल्ने, डिजिटल कर्जा सेवा आदिका माध्यमबाट अत्याधुनिक डिजिटल सुविधाहरु प्रदान गरेका छौं । अन्तर्राष्ट्रियस्तरको सेवा नेपालको शहर देखि ग्रामीण भेगका कुना काप्चासम्म पुर्याइएको छ । यो बैंकले मात्र अथवा बैंकका कर्मचारीहरुले मात्रैको एकपक्षीय प्रयासबाट डिजिटाइजेसन अपुर्ण रहने हुदा सेवाग्राही, ग्राहक महानुभावलाई कसरी डिजिटाइजेसनको यात्रामा सँगै लिएर जाने भन्ने विषयमा स्पष्ट मार्गचित्र बनाएर अगाडि बढ्नुपर्छ । बदलिँदो विश्व परिवेशमा डिजिटल प्रविधि अनलाइन सेवाहरु अपरिहार्य भएका छ्न् । हुन त बैंकिङ्गमा सबै क्षेत्रहरु महत्वपूर्ण हुन्छन् । सर्वसुलभ निक्षेप संकलन, सरल खाता खोल्ने प्रक्रिया, कर्जा सेवाहरु पनि महत्त्वपूर्ण छन् । र विशेषगरी डिजिटल बैंकिङलाई प्राथमिकतामा राखेर कामगर्दै आएका छौं। अब बैंकिङ्ग क्षेत्रमा सफल त्यही हुन्छ,जसले आफ्ना सेवाहरुलाइ पुर्णतयाः डिजिटल बनाएर सेवाग्राहीहरुलाई पनि डिजिटल मैत्री बनाउन सक्छ। साथै, एनएमबि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पनि विभिन्न सामाजिक सहयोगका कार्यक्रमहरु गर्दै आएको छ ।
लुम्बिनी प्रदेशमा एनएमबि बैंकको कर्जा प्रवाह कस्तो छ?
एनएमबि बैंकका प्राथमिकतालाई टेकेर नै हामीले कर्जा लगानी गर्ने हो । लुम्बिनी प्रदेशमा अपार सम्भावनाहरु छन्। हामीले उद्योग, पर्यटन, ऊर्जा (हाइड्रोपावर), कृषिलगायत क्षेत्रमा कर्जा लगानी बढाएका छौं। बैंकिङ्ग आवश्यकता सरल र सहज प्रक्रियाबाट पूरा गरिरहेका छौं। लक्षित क्षेत्रको माग अनुसार सेवा प्रदान गर्दै आएका छौं। रिटेल, एमएसएमइ, एसएमइ, कर्पोरेट सबै क्षेत्रमा सन्तुलित हिसाबले कर्जा लगानी भइरहेको छ। आजको दिनमा लुम्बिनी प्रदेशमा एनएमबि बैंकको पोजिसन तुलनात्मक हिसाबले अब्बल छ । लुम्बिनी प्रदेशको एक उत्कृष्ट बैंकको रुपमा एनएमबि बैंक पर्दछ ।
तर बैंकहरुको एकातिर प्रयाप्त कर्जा प्रवाह नभएको र अर्कोतर्फ कर्जा असुलीमा समस्या रहेको भन्ने सुनिन्छ नि ?
कोराना महामारी पश्चात हाम्रा वित्तीय प्रयासहरु प्रयाप्त नहुदा अर्थतन्त्र चलायमान हुन नसकेर विशेषगरी निर्माण व्यावसाय र सोसँग जोडिएका एमएसएमई, एसएमई क्षेत्रमा सबैभन्दा पहिला दबाब पर्न गयो । तथापि बैंकहरुका प्रयासहरु समस्या निराकरण गर्नभन्दा समस्या पन्छाउने वा तन्काउने तिर लक्षित भएकी भन्ने पनि छ । सायद अन्य विकल्पतिर ध्यान दिन सकिएन की ? मुलतः बैंकिङ्ग कर्जा प्रवाह पुर्णतयाः धितोको आधार, माग र मुल्यमा निर्भर रहेको स्थिति छ । आजको परिस्थितिमा धितोको मूल्यमा ह्रास आएकोले कर्जा असुली चुनौतीपूर्ण बनेको छ । त्यस्तै जनसंख्या वृद्धि न्युन हुन् । खर्चगर्ने मुख्य उपभोक्ताहरु युवा जमात विदेश पलायन हुदा बजारमा किनमेल गर्ने, होटलमा खानेबस्ने न्यून देखिन्छ । यसले बजार चलायमान हुन सकेको छैन।
हो, कतिपय ऋणीहरु बस्तुगत परिस्थितिजन्य हिसाबले पनि बिग्रिएका छ्न । विभिन्न प्रयत्नका बाबजुद व्यवसाय बिग्रिएको छ र बैंकसँग पनि कर्जा असुलीको विकल्पमा कतिपय ऋणीलाइ कालोसूचीमा राख्ने र धितो लिलाममा जानुपर्ने बाध्यतात्मक परिस्थिति छ । यसले बैंक र ऋणी बिच असहज वाताबरण देखिएको छ । कतिपय ब्याज किस्ता हाल्ने क्षमता हुदाहुदै पनि नतिर्ने पनि देखिएको छ । कतिपय ठाउँमा कर्जा असुली प्रक्रियामा स्थानीय निकायहरुले अबरोध गरेका घटनाहरु पनि सुन्नमा आएका छन् । वास्तवमा स्थिति चुनौतीपुर्ण छ र सामान्य पुरातन शैलीका स्थापित प्रक्रियाहरुबाट ठोस समाधान हुन नसक्ने देखिन्छ । यसमा संबेदनसिल भएर सही दिशानिर्देश, रणनीति र कार्ययोजनाका साथ अगाडि बढ्नुपर्छ ।
पर्याप्त लगानी योग्यपूँजी र कम ब्याँजदर हुँदा पनि कर्जामा आम नागरिकको आकर्षण किन नबढेको होला?
अहिले बैंकसँग लगानीयोग्य पूँजी प्रशस्तै छ, ब्याजदर पनि निकै कम छ । तर केही क्षेत्रमा कर्जाको माग अपेक्षाकृत कम देखिन्छ। राष्ट्र बैंक र सरोकारवाला संस्थाहरूले लगानीमैत्री वातावरण बनाउनुपर्ने आवश्यकता छ। गतवर्ष भन्दा यो बर्ष राम्रो साइज मै कर्जा लगानी भएको छ । आमजनता, उद्यमी तथा युवापुस्तामा आशा र विश्वास जगाउने माहोल बनाउनु जरुरी छ।
नयाँ आर्थिक वर्ष २०८२÷८३ मा बैंकहरू कसरी अघि बढ्नेछन् ?
नेपालका बैंकहरू सबल र सक्षम छन्। पारदर्शिता, नियमअनुसार काम गरिएका छन्। त्यसैले बैंकहरुको सबै क्षेत्रहरूमा आशातित काम हुन्छ र नतिजा पनि सकारात्मक आउनेछ भन्ने विश्वास गर्न सकिन्छ । यो वर्षको सुचांकहरुले पनि ढुक्क भन्न सकिन्छ । नयाँ आर्थिक बर्षमा कर्जामा आकर्षण बढ्ने विस्वास गर्न सकिन्छ । असुलीको विषयमा कुरा गर्दा दक्षिण एशिया मात्र होइन, विश्वव्यापी रूपमा अहिले कर्जा असुलीमा चुनौतीपुर्ण छ, तर नेपालको बैंकिङ क्षेत्र तुलनात्मक रूपमा राम्रो स्थितिमा छ । सरोकारवाला सबै मिलेर नयाँ आर्थिक वर्षमा स्पष्ट योजना र रणनीतिका साथ अझ मजबुत ढंगले अघि बढ्नुपर्छ । यसले बजारको वातावरण सकारात्मक बन्छ । उद्दमशिलता गर्ने, व्यावसाय गर्नेको नयाँनयाँ नविन सोचले नयाँनयाँ व्यवसाय पनि स्थापित भएका छन् । यो क्रम अझै तिब्र वृद्धि र विकास हुन्छ । सरोकारवालाहरु सबै मिलेर अगाडि बढ्नु जरुरी छ।
एनएमबि बैंक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट विभिन्न समय सम्मानित भएको छ। एनएमबि बैंक अब कसरी अगाडि बढ्छ ? के छन् योजना?
एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा बैंक अफ दि ईयर नेपाल तथा २०२१ मा बैंक अफ दि ईयर एसियाको उपाधि प्राप्त गरेको छ । एनएमबि एशियाको सर्वोत्कृष्ट बैंक पुरस्कार सम्मान पाउने नेपालकै पहिलो बैंक हो। यसको मूल कारण हो— नीति, अनुशासन, सेवा र ग्राहकको विश्वास । हामी “भ्यालु बेस्ड बैंकीङ्ग“ मा आधारित छौं । जसका तीन मुख्य पाटाहरू छन—जनता (पिपुल), ग्रह (प्लानेट) र समृद्धि (परस्पेरेटी)। एनएमबि बैंकले आफ्ना लगानीमार्फत दिगो आर्थिक विकास, उद्यमशीलता र लक्षित क्षेत्रहरूको प्रगति सुनिश्चित गर्दै आएको छ। अबका दिनहरूमा पनि हामी त्यसैमा नै काम गर्छौ । खासगरी दिगो बैंकिङ्ग र डिजिटल बैंकिङ्गलाई प्राथमिकतामा राखेर अगाडि बढ्छौ ।